काठमाडाैं । आजकल मानिसहरू आफ्नो काम सजिलो बनाउन च्याटजीपीटी, जेमिनाई, कोपाइलट जस्ता अन्य एआई च्याटबटमा भर पर्दैछन् । यी टुलले जानकारी खोज्न, समस्या समाधान गर्न तथा विभिन्न सुझाव लिन सजिलो बनाएका छन् । तर, यस्ता च्याटबटसँग कुरा गर्दा केही सावधानी अपनाउन जरुरी छ ।
विशेषगरी, व्यक्तिगत वा संवेदनशील जानकारी उल्लेख गर्दा सतर्क रहनुपर्छ । किनभने एआई च्याटबटले ती जानकारी सुरक्षित राख्छन् भन्ने कुनै ग्यारेन्टी छैन । च्याटबटले कतिपय संवेदनशील र गम्भीर प्रश्नको पनि उत्तर दिइरहेका हुन्छन् । लाग्छ, ती टुलहरूले ‘म’सँग मात्र कुरा गरिरहेका छन् । तर, गोपनीयताको नजरबाट ती कुराकानी खुलेआम हुन्छन् ।
यसैबीच यस सामग्रीमा च्याटबटसँग कहिल्यै पनि बाँड्न नहुने कुराबारे चर्चा गरेका छौं:
व्यक्तिगत जानकारी नबाँड्नुहोस्
एआईले तपाईंको बारेमा बुझ्ने भए पनि सकेसम्म वैयक्तिक जानकारी शेयर नगर्नुहोस् । किनकि एआई टुलका कुरा कुनै सर्भरमा स्टोर भएर बस्छन् । अर्थात् अनलाइनमा हुन्छन् । तपाईंलाई थाहा नै छ इन्टरनेटमा भएका कुनै पनि कुरा सुरक्षित अथवा गोप्य हुँदैनन् । यसका साथै कतिपय एआई टुलको क्षमता सुधार गर्न तपाईंका कुराकानी वास्तविक मान्छेहरूले नै हेर्ने गर्छन् । त्यो आफैंमा अकल्पनीय हो ।
यसकारण आफ्नो नाम, ठेगाना, फोन नम्बर, ईमेल ठेगाना वा जन्ममितिजस्ता व्यक्तिगत जानकारी कहिल्यै पनि च्याटबटलाई नबताउनुहोस् । यस्ता जानकारी दुरुपयोग भई तपाईंलाई ट्र्याक गर्न वा तपाईंको निजी जीवनमा अनावश्यक हस्तक्षेप हुन सक्छ । ईमेल वा ठेगाना च्याटबटलाई बताउनुभयो भने अनावश्यक विज्ञापन, स्क्याम ईमेल वा अन्य समस्याहरूको सामना गर्नुपर्ने हुनसक्छ ।
आर्थिक विवरण तथा अनलाइन पासवर्ड सुरक्षित राख्नुहोस्
च्याटबटलाई आफ्नो बैंक खाता नम्बर, क्रेडिट कार्ड नम्बर वा अन्य वित्तीय विवरण कहिल्यै नबताउनुहोस् । च्याटबटसँग वित्तीय सुरक्षा व्यवस्था हुँदैन । यी जानकारी गलत व्यक्तिको हातमा परे तपाईंको धनसम्पत्तिमा ठूलो क्षति हुनसक्छ ।
त्यस्तै च्याटबटलाई कुनैपनि अनलाइन सेवा वा वेबसाइटका लागि प्रयोग गर्ने पासवर्ड कहिल्यै पनि नदिनुहोस् । पासवर्ड शेयर गरे तपाईंको अकाउन्टमा यस्ता प्लेटफर्मले पहुँच पाई सजिलै सबै डेटा चोर्न सक्छन् ।
गोप्य कुराहरू भन्नु उचित होइन
एआई टुलसँग जति धेरै सूचना हुन्छ, त्यसले तपाईंको बारेमा त्यति नै धेरै जानकारी दिन्छ । यसो हुँदा तपाईंले आफ्नो बारेमा अनकेन् जानकारी दिन सक्नुहुन्छ । तर यसो गर्नु गोपनीयताको नजरबाट आफैंमा खतरनाक हो । च्याटबटले तपाईँले भनेका कुराहरू सेभ गरेर राख्छ । त्यसैले, आफूले सार्वजनिक नहोस् भनेर चाहेको कुरा च्याटबटसँग कहिल्यै शेयर नगर्नुहोस् । आफ्नो व्यक्तिगत, आर्थिक र संवेदनशील जानकारी आफैँसँग सुरक्षित राख्नुहोस् ।
स्वास्थ्यसम्बन्धी सल्लाह नमाग्नुहोस्
स्वास्थ्य सम्बन्धी समस्याहरूको समाधान च्याटबटसँग माग्नु जोखिमपूर्ण हुन्छ । एआई डाक्टर होइन । यसले दिने सल्लाह सही नहुन सक्छ । साथै, आफ्नो बीमासम्बन्धी जानकारी, मेडिकल रेकर्ड जस्ता स्वास्थ्य विवरण यस्ता प्लेटफर्ममा खुलाउनु हुँदैन ।
अश्लील वा अनुचित सामग्री नराख्नुहोस्/नखोज्नुहोस्
एआई च्याटबटले प्रायः अश्लील वा अनुचित सामग्री स्वतः फिल्टर गर्छन् । जानी नजानी तपाईँले यस्ता कुरा उल्लेख गर्नुभयो भने प्रतिबन्धमा पर्न सक्नुहुन्छ । अर्कोतर्फ, लुकेर जतिसुकै कुरा खोजेपनि इन्टरनेटले कहिल्यै बिर्सँदैन । भोलि यही गलत सामग्रीका कारण तपाईँको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनमा नकारात्मक प्रभाव पर्न सक्छ ।
च्याटबटसँग कुरा गर्दा कसरी गोपनीयता सुरक्षित राख्ने ?
एआई टुलसँग गरिएको कुराकानीमा कुनै गोपनीयता नहुने कुरा त थाहा भयो । तर, गोपनीयता छैन भन्दैमा टुल नै प्रयोग नगर्ने भन्ने पनि होइन । यी कुरा ख्याल गरेर सुरक्षित रूपमा च्याटबट प्रयोग गर्न सकिन्छ:
अकाउन्ट नखोली कुरा गर्ने
यो निकै सामान्य र प्रभावकारी तरिका हो । किनकि यसो हुँदा तपाईंका व्यक्तिगत जानकारी टुलले पर्याप्त मात्रामा सङ्कलन गर्दैन । अहिले धेरैजसो एआई टुल अकाउन्ट नखोलिकनै पनि चलाउन सकिन्छ ।
तपाईंले एलएमएसवाईएस च्याटबट एरेना (LMSYS chatbot arena) बाट अन्य विभिन्न एआई टुल चलाउन सक्नुहुन्छ । तर, अकाउन्ट नखोली एआई च्याटबट चलाउँदाका केही बेफाइदा पनि छन् । जस्तो कि टुलसँग गरिएका कुराकानी रेकर्ड हुँदैन । यसका साथै कतिपय फिचरहरू तपाईंले चलाउन पाउनु हुन्न ।
अकाउन्ट खोले पनि सतर्कता अपनाउने
एआई टुलमा अकाउन्ट बनाउँदा तपाईंले गुगल, फेसबुक जस्ता थर्ड पार्टी माध्यमबाट एआई च्याटबटमा अकाउन्ट खोल्नु गोपनीयताको नजरबाट अलि राम्रो हुँदैन । किनकि यसो हुँदा तपाईंले टुल बनाउने कम्पनीसँग विभिन्न जानकारी एकै पटक शेयर गरिरहनु भएको हुन्छ । भन्नुको अर्थ 'साइन विथ' गुगल, फेसबुक विकल्प प्रयोग गरी सकेसम्म खाता नखोल्नुहोस् ।
यसको साटो धेरै विवरण नखुलाइएको जिमेलबाट अकाउन्ट खोल्न सक्नुहुन्छ । तर, तपाईंले बलियो पासवर्ड भने राख्नु पर्ने हन्छ । त्यस्तै यसरी अकाउन्ट खोलेपछि तपाईंले आफ्ना पहिलेका कुराकानी डिलिट गर्नुपर्ने हुन्छ ।
उदाहरणका लागि यो फिचर ओपनएआईको च्याटजीपीटीमा उपलब्ध छ । यसका साथै यस च्याटबटमा इन्कग्निटो मोड समेत छ । जुन अलि सुरक्षित उपाय पनि हो । त्यस्तै यदि यो च्याटबटको सशुल्क भर्सन चलाउनु हुन्छ भने ‘मेमोरी’ भन्ने फिचर रहिरहँदैन । जुन गोपनीयताको हिसाबले आफैंमा राम्रो फिचर हो ।
फोन अथवा ब्राउजरबाट स्वत: डेटा शेयरिङ हुने फिचर बन्द गर्नुभयो भने च्याटबट लगातार प्रयोग भइरहँदैन । तर, फोन एप छन् भने तिनले लोकेसन, फोटो, माइक्रोफोन, क्यामेराको लगातार एक्सेस लिइरहेका हुन्छन् । के त्यस्तो एक्सेस वास्तवमै आवश्यक परिरहेको हुन्छ ? खासमा हुँदैन । त्यही भएर तपाईंले एपले लिने अनावश्यक एक्सेस बन्द गर्न सक्नुहुन्छ ।
यसका लागि आईफोनमा सेटिङ>एप>एक्सेस>अफ गर्नुहोस् । एन्ड्रोइडमा भने सेटिङ>एप्स>पर्मिसन>अलाउड क्लिक गर्नुहोस् । ब्राउजरमा भने तपाईंले सेटिङमार्फत पर्मिसन चेक गर्न सक्नुहुन्छ ।