close

स्टार्टअप कर्जामा १३ सय १४ परियोजना छनोट, पुस २८ देखि प्रस्तुतीकरण

टेकपाना टेकपाना

पुस २१, २०८१ २२:५१

स्टार्टअप कर्जामा १३ सय १४ परियोजना छनोट, पुस २८ देखि प्रस्तुतीकरण

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारले घोषणा गरेको ‘स्टार्टअप उद्यम कर्जा’ कार्यक्रम अन्तर्गत एक हजार ३१४ परियोजना शर्टलिस्ट (प्रारम्भिक सूची)मा परेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले पाँच हजार १५८ परियोजनाबाट छनोट गरी शर्टलिस्ट सार्वजनिक गरेको हो ।

यस अन्तर्गत कृषि, उद्योग, व्यापार, प्रविधि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । ​शर्टलिस्टमा परेका परियोजनाहरूका लागि पुस २८ देखि प्रस्तुतीकरण कार्यक्रम राखिएको छ । 

स्टार्टअप उद्यम कर्जा कार्यक्रमका लागि सरकारले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । जसअन्तर्गत न्यूनतम पाँच लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा तीन प्रतिशत ब्याजदरमा उपलब्ध गराउने योजना छ ।

कर्जाका लागि उद्योग व्यवसाय दर्ता भएको १० वर्ष ननाघेको र वार्षिक कारोबार १५ करोडभन्दा कम भएको हुनुपर्नेछ । प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्थाका उद्यमहरूले मात्र यो कर्जा पाउनेछन् ।​

कर्जा लिएको एक वर्षपछि ब्याज वा साँवा रकम फिर्ता गर्न सुरु गर्नुपर्ने, कर्जाको अवधि अधिकतम पाँच वर्ष हुने र बीमा उद्यमीले स्वयम् गर्नुपर्ने व्यवस्था गरिएको छ । बैंकले कर्जा प्रवाह गर्दा प्रशासनिक वा सेवा शुल्कबापत कर्जा रकमको अधिकतम ०.१ प्रतिशत सेवा शुल्क लिनसक्ने प्रावधान राखिएको छ ।

पछिल्लो अध्यावधिक: पुस २१, २०८१ २२:५९