काठमाडौं । कल सेन्टरको नाममा अवैध अनलाइन ठगी धन्दा गरेको आरोपमा दुई भारतीय नागरिक सहित ५१ जना नेपाली पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको प्रहरी टोलीले सोमबार राति उनीहरूलाई ललितपुरबाट नियन्त्रणमा लिएको हो ।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होवीन्द्र बोगटीका अनुसार कल सेन्टरको नाममा अवैध अनलाइन धन्दा गरेको सूचना कार्यालयलाई प्राप्त भएको थियो । त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले उनीहरूलाई सातदोबाटोस्थित एक घरबाट नियन्त्रणमा लिइएको हो ।
बोगटीका अनुसार सीआईबीले सातदोबाटोमा रहेको चार तले घरमा छापा मारेको थियो । उक्त घर भाडामा लिएर प्रोलिङ्क सोलुसन नामक कम्पनी दर्ता गरी सञ्चालन गरिएको थियो । “कम्पनी नेपालीको नाममा भए पनि त्यसलाई भारतीयले नै सञ्चालन गरेको देखिएको छ,” प्रहरी उपरीक्षक बोगटीले भने, “त्यहाँ कल सेन्टर भन्दै अनलाइन ठगी, अनलाइन जुवा लगायतका अवैध गतिविधि सञ्चालन गर्ने गरेको देखिएको छ ।”
पक्राउ पर्नेमध्ये दुई भारतीय र बाँकी नेपाली रहेको खुलेको छ । त्यसमा कर्मचारीका रूपमा रहेका व्यक्ति छुट्नेछन् भने सञ्चालकका रूपमा काम गर्नेहरूलाई मुद्दा चलाइने बोगटीले सुनाए । यस घटनाको विस्तृत विवरण केही समयपछि आउनेछ ।