काठमाडौं । नेपाली युवा टिमले स्थापना गरेको एक्सेसरिज ब्रान्ड ‘भाइब्स’ बजारमा प्रवेश गरेको छ । स्टाइल, गुणस्तर र किफायती मूल्यको संगम बनाउने उद्देश्य सहित भाइब्सले बजारमा विभिन्न एक्सेसरिज उपलब्ध गराउने तयारी गरेको छ ।
कम्पनीले पहिलो चरणमा बजारमा दुई नयाँ वायरलेस इयरबड्समार्फत आफ्नो यात्रा सुरु गर्नेछ । यसअन्तर्गत भाइब्स बेस बड्स ३११ र भाइब्स बेस बड्स ५११ मोडेलका इयरबड्स सार्वजनिक हुनेछन् ।
बड्स ३११ लामो समयसम्म प्रयोग गर्न मिल्ने उत्कृष्ट साउन्ड र आकर्षक डिजाइनमा उपलब्ध हुने बताइएको छ । त्यस्तै बड्स ५११ इन्भाइरोन्मेन्टल नोइज क्यान्सिलेसन (ईएनसी) र अन्य उन्नत सुविधासहित आउने छ ।
यी उत्पादनहरू मिडनाइट ब्ल्याक, आइरिस ह्वाइट, फ्रस्ट ब्लु र जेट ब्ल्याक रंगमा ६ महिनाको वारेन्टीसहित उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा महँगा र अविश्वसनीय उत्पादनहरूका कारण देखिएका समस्या समाधान गर्न पारदर्शी, भरपर्दो र किफायती उत्पादन प्रस्तुत गर्न लागेको कम्पनीको दाबी छ ।
भाइब्सको औपचारिक लन्च जनवरी १५ मा हुँदैछ । त्यसपछि अनलाइन शपिङ प्लेटफर्म दराजमार्फत बिक्री वितरण सुरु हुनेछ । यो ब्रान्डसँग सम्बन्धित थप जानकारी र रोमाञ्चक अफरहरू चाँडै सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।