काठमाडौं । धरहरा चढ्न अब अनलाइनबाटै टिकट काट्न सकिने भएको छ । सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजनाले शुक्रबारदेखि यो प्रणाली सञ्चालनमा ल्याएको हो ।
संविधान दिवसको अवसर पारेर ३ असोज २०८१ देखि धरहरा सर्वसाधारणका लागि सञ्चालनमा ल्याइएको थियो । सुरुवाती चरणमा धरहरा परिसर प्रवेश गर्न र चढ्नका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको थियो । त्यही समयमा बुकिङका लागि अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको थियो ।
पछि ९ मंसिरदेखि धरहरा परिसर घुम्न र चढ्न शुल्क लाग्ने व्यवस्था गरियो । शुल्क लाग्ने व्यवस्था गरिएपछि पहिलेको अनलाइन प्रणाली बेवारिसे जस्तै बनेको थियो । अहिले सबै सिस्टममा भुक्तानीको माध्यम इन्टिग्रेट गरेपछि अनलाइनबाटै बुकिङ गर्ने व्यवस्था पुनः सञ्चालनमा आएको हो । आयोजनाका प्रमुख प्रकाश अर्यालका अनुसार डिजिटल वालेट खल्ती र आईएमई पे वालेटले भुक्तानीको माध्यम इन्टिग्रेट गरेपछि यो सेवा सञ्चालनमा आएको छ । “हाम्रो सिस्टम परीक्षणकै चरणमा छ,” टेकपानासँग कुरा गर्दै अर्यालले भने, “अहिले दुई ओटा वालेट कम्पनी जोडिन आउनु भयो । सकेसम्म सबै वालेटलाई यसमा जोड्न खोजेका छौं ।”
परीक्षणकै चरणमा भएकाले अत्यधिक बुकिङ आए सिस्टम डाउन हुने जोखिम छ । त्यसैले औपचारिक रूपमा सिस्टमको प्रचार नगरिएको अर्यालले सुनाए ।
यससँगै अब dharahara.gov.np मा गई टिकटका लागि सबै विवरण भरिसकेपछि भुक्तानीको विकल्प देखिन्छ । त्यसबाट खल्ती वा आईएमई पेमध्ये उपयुक्त माध्यम छनोट गरेर भुक्तानी गर्नुपर्ने हुन्छ । यति गरिसकेपछि भुक्तानीको रसिद र क्यूआर कोड देखिन्छ । त्यही क्यूआर कोड देखाएपछि धरहरा परिसरभित्र प्रवेश गर्न पाइन्छ ।
अबको २० देखि ३० दिनभित्र धरहराका लागि भौतिक रूपमा टिकट काट्ने व्यवस्था अन्त्य गर्ने लक्ष्य रहेको अर्यालले सुनाए । “अबको २० देखि ३० दिनमा हामी क्यासलेसमा जान्छौं,” अर्यालले भने, “त्यसपछि अवलोकनकर्तालाई अहिले जस्तो टिकटका लागि लाइन लागिरहनु पर्ने झन्झट हुँदैन ।”
अहिले टिकट काट्नका लागि खल्ती वा आईएमई पेलाई कुनै कमिसन तिर्नु पर्दैन । सधैं यही व्यवस्था लागू गर्नका लागि वालेट कम्पनीसँग पहल भइरहेको अर्यालले जानकारी दिए ।