काठमाडौं । कन्टेन्ट क्रियसन र लेखनको क्षेत्रमा एआईको आगमनसँगै इन्टरनेट प्रयोग गर्ने लगभग सबैले यसको प्रभावकारिता कुनै न कुनै तरिकाले अनुभव गरेका छन् । एआई फिचर भएका डिभाइस अहिले सामान्य जस्तै बनिसकेका छन् । बायोडेटा (रेजुमे), कभर लेटर, स्टेटमेन्ट अफ पर्पस, समझदारी पत्र र विभिन्न प्रकारका कागजात तयार गर्न एआई टुल उपयोगी भइरहेका छन् ।
जागिरका लागि आवेदन दिने प्रक्रियामा पनि एआईको प्रयोग बढेको छ । तर एआईको प्रयोगलाई एक व्यक्तिले भिन्नै तरिकाले गर्न सकिन्छ भन्ने देखाएका छन् । रेडिटमा बेनामी अकाउन्टबाट ती व्यक्तिले एआईबारे उनको अनुभव बाँडेका छन् । उनले एआई टुलको क्षमता उपयोग गरेर एक हजार जागिरका लागि आवेदन दिएका छन्, त्यो पनि सुतिरहेकै अवस्थामा ।
सबै काम एआईले गर्दा पनि उनले निकै प्रभावशाली नतिजा पाएको दाबी गरेका छन् । रेडिट पोस्टमा ती व्यक्तिले कसरी आफैंले तयार पारेको एआई बटको प्रयोगले उनको जागिर खोज्ने प्रक्रियालाई अत्यन्तै सहज बनायो भन्ने उल्लेख गरेका छन् । सबैभन्दा रोचक कुरा त के भने एआई बटले उनी आरामपूर्वक सुतिरहेका बेला सबै कठिन कामहरू सम्पन्न गरेको छ ।
रेडिटको ‘गेट इम्प्लोइड’ फोरममा ती व्यक्तिले आफ्नो अनुभव राखेका छन् । उनका अनुसार सबैभन्दा पहिले उनले एआई बट निर्माण गरे । उक्त एआई बटले ती व्यक्तिको जानकारी विश्लेषण गर्यो । त्यसपछि कस्तो कस्तो जागिरका लागि आवेदन खुलेको छ भन्ने पत्ता लगायो । यति भएपछि जागिरका लागि के-कस्ता विषय माग गरिएको छ भन्ने विश्लेषण गर्यो । र, त्यसैका आधारमा रेजुमे र कभर लेटर बनायो । अनि जागिरका लागि स्वतः आवेदन दियो । “एक महिनामा यस प्रक्रियाले मलाई ५० ठाउँमा अन्तर्वार्ताको राउन्डसम्म सुरक्षित राख्यो,” उनले लेखेका छन् ।
उनले बनाएको एआई बटले रातभर काम गर्दै प्रत्येक जागिर विवरणका आधारमा ‘अनुकूल रेजुमे र कभर लेटर’ तयार पारेको उनले उल्लेख गरेका छन् ।
उनले यो विधि स्वचालित स्क्रिनिङ प्रणाली पार गर्न अत्यन्तै प्रभावकारी हुने जनाएका छन् । प्रत्येक जागिरको विवरणका लागि उपयुक्त रेजुमे र कभर लेटर तयार गरेर आफ्नो स्क्रिप्टले एआई र कर्मचारी नियुक्त गर्ने भूमिकामा रहेका व्यक्तिलाई फाइदा पुर्याउने उनको भनाइ छ ।
उनका अनुसार जागिर आवेदन प्रक्रियालाई स्वचालित बनाउन यो टुल निकै उपयोगी हुन सक्छ । आवेदन माग गर्ने र दिने दुवैलाई छिटो र सहज सेवा दिन यो टुल उपयुक्त हुने उनको दाबी छ । सँगसँगै उनले यसको नकारात्मक प्रभावबारे चर्चा गरेका छन् । विशेषगरी मानिसहरूबीचको व्यक्तिगत सम्बन्ध, सहानुभूति र विश्वास निर्माणजस्ता मानवीय पक्षहरू जोखिममा पर्न सक्ने उनले औंल्याएका छन् । यी पक्षहरू वर्कस्पेसमा दीर्घकालीन रूपमा महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
उनले आफ्नो एआई च्याटबटको सोर्सकोडको लिङ्क उपलब्ध गराएका छन् । यहाँ क्लिक गरी उक्त कोडमा पहुँच पाउन सकिन्छ ।