काठमाडौं । झन्डै दुई वर्षअघि पाल्पाका कुशल सेन्चुरी वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब थिए । त्यही बेला उनले टिकटकमा एक महिलाको अकाउन्ट फेला पारे । त्यसैमा कनेक्ट भए । महिलाले पनि फलो ब्याक गरिन् । त्यसपछि उनीहरूबीच टिकटकमै कुराकानी हुन थाल्यो ।
केही समय टिकटकमा कुरा गरेपछि उनीहरू नजिकका साथी भए । ती महिला टिकटकमा लाइभ बसिरहेकी हुन्थिन् । कुशलसँग चिनजान भएपछि महिलाले उनलाई पनि उक्त लाइभमा सहभागी बनाइन् । कुशल पनि लाइभमा जोडिए र त्यहाँ आउनेहरूसँग गफमा रमाउन थाले । यसरी उनीहरूबीच केही महिनासम्म लाइभमा जोडिने, कुरा गर्ने क्रम चलिरह्यो ।
ती महिलाको लाइभ हेर्ने व्यक्तिहरू नक्कली आईडीबाट त्यहाँ सधैंजसो अश्लील कमेन्ट गरिरहन्थे । त्यसबाहेक उनको इनबक्समा पनि नक्कली आईडीबाट अश्लील मेसेज पठाउन थालेका थिए । यो थाहा पाएपछि कुशलले ती महिलालाई लाइभ नबस्न र अश्लील मेसेज पठाउनेलाई ब्लक गर्न अनुरोध गरे ।
तर, महिलाले कुशलको कुरा मानिन । र, उनीहरूको सम्बन्ध बिग्रिंदै गयो । “लाइभमा सेन्चुरी र ती महिला फरक फरक ग्रुपबाट जोडिएर कुरा गर्न थालेका रहेछन्,” घटनाबारे जानकारी दिंदै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेलबासेले भने, “पहिले ग्रुपमा आएर झगडा गर्ने क्रम चल्यो । पछि व्यक्तिगत रूपमै झगडा गर्न थाले ।”
त्यसपछि आवेगमा आएर कुशलले महिलाको नामको नक्कली टिकटक आईडी बनाए । अनि फेसबुकबाट ती महिलाकी छोरी र उनको फोटो नक्कली आईडीको प्रोफाइलमा राख्न थाले ।
“जाहेरवाली तथा निजको छोरीको फोटो तानी टिकटक आईडीमा पोस्ट गर्ने र निजको अन्य पुरुष व्यक्तिसँग खिचेको फोटो सामाजिक सञ्जालमा फेला पारी उक्त फोटो समेत टिकटक लाइभमा देखाई ती महिलालाई तथानामले अश्लील शब्द प्रयोग गरी गाली गरेको हुँ,” अनुसन्धानमा खटिएका प्रहरीलाई बयान दिंदै कुशलले भनेका छन् ।
यसरी फोटो दुरुपयोग गरेपछि महिलाले उजुरी दिइन् । र, उनी नेपाल फर्किएको केही महिनापछि पुस पहिलो साता जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लियो । र, अनुसन्धान थाल्यो ।
त्यसैका आधारमा २३ पुसमा पाल्पा जिल्ला अदालतमा कुशलविरुद्ध अभियोगपत्र दर्ता भएको थियो । सो अभियोगपत्रका अनुसार कुशलले महिलाको चरित्रहत्या आफैले गरेको स्वीकारेका छन् । उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा कारबाही गर्न र पीडित महिलालाई मनासिव क्षतिपूर्ति भराइदिन मागदाबी गरिएको थियो ।
उक्त मुद्दालाई २३ गते नै पाल्पा जिल्ला अदालत न्यायाधीश दलबहादुर केसीको इजालसले ७५ हजार रुपैयाँ धरौटी माग गरी छोड्ने आदेश दिएको थियो । अहिले यो मुद्दा चालु अवस्थामा छ रहेकाले अन्तिम फैसला आइसकेको छैन ।