काठमाडौं । नर्वेको अटोमोबाइल बजारमा विद्युतीय गाडीको दबदबा देखिएको छ । हालै सार्वजनिक सरकारी तथ्याङ्क अनुसार त्यहाँ सन् २०२४ मा कुल बिक्री भएका गाडीमध्ये लगभग ९० प्रतिशत ईभी रहेका छन् । यसबाट सन् २०२५ को अन्त्यसम्म त्यहाँ करिब शतप्रतिशत विद्युतीय कार मात्र बिक्री हुने प्रक्षेपण देखाएको छ ।
नर्वेका सबै ठूला राजनीतिक दलहरूले समान नीति अपनाउँदा यो देश विद्युतीय सवारी प्रयोग गर्नमा सफल भएको छ । त्यहाँ पेट्रोल र डिजेल गाडीहरूमा धेरै कर लगाइको छ भने विद्युतीय गाडीलाई प्रोत्साहित गरिएको छ ।
“अरु देशमा विद्युतीय गाडीमा पहिले केही छुट दिने र पछि तिनलाई फिर्ता लिने प्रवृत्ति छ,” नर्वेजियन ईभी एसोसियसनकी महासचिव क्रिस्टिना बूले डीडब्लु न्युजलाई भनिन्, “तर यसलाई सफल बनाउनका लागि विद्युतीय गाडीमा कर छुट दिने नीति लामो समयसम्म निरन्तर चल्न जरूरी छ ।”
उनले अगाडि भनिन्, “र, नर्वेले यसैलाई निरन्तरता दिइरहेको छ । मलाई लाग्छ नर्वेले अपनाएको तरिका अरू देशमा पनि प्रयास गर्न सकिन्छ ।”
सरकारले विद्युतीय गाडीलाई बढी प्रोत्साहन दिंदा उपभोक्तालाई पनि ईभीमा आउन सहज भएको छ । साथै, नर्वेमा पहिलेदेखि नै चार्जिङ स्टेसनको अभाव नभएको बताइएको छ ।
“अझै पनि हामीसँग चार्जिङ पोइन्टहरू भन्दा पेट्रोल डिजेल पम्प बढी छन्,” नर्वेको चार्जिङ स्टेसन कम्पनी सर्किल केका सिनियर मेनेजर एन्डर्स क्वेल सिवेलाले भने, “तर हामी नर्वेमा विद्युतीय गाडीहरू तीव्र गतिमा बढेको देखिरहेका छौं ।”
उनले अगाडि भने, “आजकलका सबै साना गाडीहरूमध्य लगभग ३० प्रतिशत विद्युतीय छन् । केही वर्षहरूमा नर्वेको बजारमा ५० प्रतिशतभन्दा बढी गाडीहरू विद्युतीय हुनेछन् र त्यसको लागि हामीले चार्जिङ स्टेसन थप्नुपर्ने हुन्छ ।”
विशेषगरी युवा वर्ग यस परिवर्तनका लागि बढी उत्साहित छन् । “मैले विद्युतीय गाडी किनेँ । किनभने यो वातावरणका लागि राम्रो छ र डिजेल र पेट्रोल गाडिहरूको गन्धबाट पनि मुक्ति पाउन सकिन्छ,” ईभी चालक डिजायर एन्ड्रेसनले भनिन् ।
नर्वेमा अधिकांश मानिसले पूर्ण रूपमा इलेक्ट्रिक गाडीलाई समर्थन गरेका छन् । अहिले त्यहाँको सडकमा देखिने पेट्रोल र डिजेल गाडीहरू प्रायः बाहिरी मुलुकका मानिसहरूका हुन् । “केही ठूला कम्पनीहरू जसले पर्यटकीय गाडी भाडामा दिन्छन् सम्भवत: ती नै सबैभन्दा बढी गाडी किनिरहेका छन्,” कार बिक्रेता कम्पनी हेराल्डका प्रतिनिधि उल्फ टोरे हेक्नेबीले भने, “पर्यटकलाई विद्युतीय गाडीका बारेमा धेरै जानकारी हुँदैन । त्यसैले उनीहरूलाई सामान्य गाडी दिनु पर्छ ।”
तर पर्यटकलाई छोड्ने हो भने कार बेच्ने व्यापारीहरू पूर्ण रूपमा विद्युतीय गाडी अपनाउन तयार छन् ।