close

बीवाईडीको लक्जरी गाडीले देखायो यस्तो क्षमता, खाल्डाखुल्डी उफ्रेरै पार गर्न सक्ने

टेकपाना टेकपाना

पुस २७, २०८१ १३:३९

बीवाईडीको लक्जरी गाडीले देखायो यस्तो क्षमता, खाल्डाखुल्डी उफ्रेरै पार गर्न सक्ने

काठमाडौं । टेस्लाको प्रतिस्पर्धी चिनियाँ कम्पनी बीवाईडीले गत वर्ष दुई लाख ३३ हजार डलर (करिब तीन करोड २० लाख रुपैयाँ) पर्ने पहिलो सुपरकार सार्वजनिक गरेको थियो । याङवाङ यू नाइन नाम दिइएको यस मोडेलले त्यतिबेला विश्व बजारमा राम्रै चर्चा पायो । 

अहिले कम्पनीले यही लक्जरी विद्युतीय गाडीको ‘खाल्डाखुल्डी र सडकका काँटीहरूमाथि हाम फाल्ने’ क्षमता प्रदर्शन गरेको छ । गत सोमबार चिनियाँ सामाजिक सञ्चाल विबोमा बीवाईडीले पोस्ट गरेको भिडिओमा यस गाडीले तीब्र गतिमा आएर बाटोको खाल्डाखुल्डीमा नाघेको देख्न सकिन्छ । 

भिडियोमा देखाइए अनुसार स्वचालित रूपमा चलाइएको यू नाइन १२० किलोमिटर प्रतिघण्टाको गतिमा चल्छ । अनि खाल्डाखुल्डी, सडकका काँटी र चकले बनाइएको झण्डामाथि आफूलाई ६ मिटर माथिसम्म उफार्न सस्पेन्सन सिस्टम प्रयोग गरेर सहजै पार गर्छ । 

विश्व बजारमा बीवाईडी अत्यन्तै सस्तो विद्युतीय गाडीका लागि परिचित छ । यस कम्पनीले विश्व बजारमा १० हजार डलरमै उपलब्ध गराएको सिगुल मोडेल एक उदाहरण हो । पछिल्लो समय अन्य चिनियाँ सवारी निर्माता जस्तै यो कम्पनी पनि उच्चस्तरीय लक्जरी गाडीको क्षेत्रमा अगाडि बढिरहेको छ ।

कम्पनीले फेब्रुअरी २०२४ मा यू नाइन बेच्न सुरु गरेको थियो । उच्चतम् गति प्रतिघण्टा १९२ माइलका दरले कुद्न सक्ने यो गाडी शून्यदेखि ६२ किलोमिटर प्रति घण्टाको स्पिड पकड्न जम्मा २.३६ सेकेन्ड लगाउँछ । 

यस लक्जरी ईभीलाई १० मिनेटमै ३० प्रतिशत चार्जबाट ८० प्रतिशत चार्ज गर्न सकिने दाबी कम्पनीको छ । 

यसको डिडस-एक्स (DiSus-X) इन्टेलिजेन्स सस्पेन्सनले यू नाइनलाई साना खाल्डाहरूमाथि हाम फाल्न, सङ्गीतमा ‘नाच्न’ र केवल तीन पाङ्ग्रामा चल्न सक्षम बनाएको छ । यो क्षमता कम्पनीले गत वर्ष गाडीको लन्च कार्यक्रममा प्रदर्शन गरेको थियो ।​

बीवाईडीको याङवाङ ब्रान्ड अन्तर्गत सबैभन्दा उच्चस्तरीय मोडेल रहेका छन् । याङवाङ यू एट (Yangwang U8) हाइब्रिड एसयूभी हो । यस मोडेलको बिक्री कम्पनीले अप्रिल २०२३ मा सुरु गरेको थियो । यसमा एउटा अनबोर्ड ड्रोन दिइएको छ भने यो छोटो अवधिका लागि पानीमा तैरिन पनि सक्छ ।

टेस्लाका प्रतिस्पर्धीको रूपमा बीवाईडीका लक्जरी प्रडक्टले प्रायः सबैको ध्यान आकर्षित गरेको छ । तर, यसको मागमा रहेका सस्ता ईभी र हाइब्रिड गाडीले कम्पनीलाई सम्भवतः एलन मस्कका सबैभन्दा शक्तिशाली प्रतिस्पर्धीको रूपमा स्थापित गरेको छ ।

चिनियाँ सवारी निर्माता बीवाईडीले यही महिनाको सुरुवातमा वार्षिक बिक्रीमा नयाँ कीर्तिमान कायम गरेको घोषणा गरेको छ । र अब नयाँ बजारमा पनि कम्पनीले आफूलाई तीब्र गतिमा विस्तार गरिरहेको छ । बीवाईडीले मंगलबार एक विशेष कन्टेनर जहाजमार्फत युरोपतर्फ करिब पाँच हजार विद्युतीय गाडी पठाउन लागेको घोषणा गरेको थियो ।

पछिल्लो अध्यावधिक: पुस २७, २०८१ १५:४२