काठमाडौं । भीएलसी मिडिया प्लेयर लोकप्रिय मल्टिप्लेटफर्म मिडिया प्लेयर हो । यसको डेभलपर कम्पनी भिडिओल्यानले चाँडै नै एउटा ठूलो अपडेट ल्याउने तयारी गरेको छ ।
उक्त अपडेटसँगै प्रयोगकर्ताले यस मिडिया प्लेयरमा एआईले तयार पारिदिएको सबटाइटल देख्न पाउनेछन् । इन्टरनेट कनेक्ट नभएको समयमा पनि यस प्लेटफर्मले भिडिओको सबटाइटल प्रयोगकर्ताले खोजेको भाषामा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।
भिडिओल्यानले २०२५ मा के कस्ता प्रविधि अपनाउँछ भन्ने झलक देखाएको छ । यस अन्तर्गत कम्पनीले भीएलसी प्लेयरमा यस्तो प्रविधि इन्टिग्रेट गर्न लागेको छ, जसले स्वचालित रूपमा प्रयोगकर्ताले खोजेका भिडिओको सबटाइटल तयार पारिदिनेछ ।
एआईले ती सबटाइटललाई तत्कालै अन्य विभिन्न भाषामा अनुवाद गर्न पनि सक्ने कम्पनीले जनाएको छ । यसका लागि प्रयोगकर्ता इन्टरनेटको पहुँचमा हुनैपर्छ भन्ने हुँदैन । अफलाइनमा पनि यो फिचर प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
“हामीसँग स्वचालित अनुवादको सुविधा पनि छ, जसले सबटाइटललाई तपाईंको भाषामा अनुवाद गर्छ,” भिडिओल्यानका अध्यक्ष जीन-बैप्टिस्ट केम्फले भने, “यसले १०० भन्दा बढी भाषा सपोर्ट गर्नेछ । सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने यो फिचर चलाउनका लागि इन्टरनेट प्रयोग गर्नुपर्दैन । यो अफलाइनमै चल्छ र यसको लागि कुनै क्लाउड सेवा आवश्यक पर्दैन ।”
भिडिओल्यानले एक्समा केही भिडिओ सार्वजनिक गरेको छ । ती भिडिओमा ओपन-सोर्स एआई मोडेलले रियल टाइममा विभिन्न भाषामा सबटाइटल तयार पारेको देख्न सकिन्छ । कम्पनीका अनुसार यो सुविधा पहिले नै रेकर्ड गरिएका भिडिओमा मात्र नभई लाइभ भिडिओका लागि पनि उपलब्ध हुनेछ ।
द भर्जका अनुसार भिडिओल्यानले यसअघि नै ओपनएआईको व्हिस्परमा आधारित एउटा प्लगइन विकास गरिरहेको थियो । यसले मुख्य रूपमा सबटाइटल तयार पार्ने काम गर्थ्यो । तर, नयाँ फीचर अन्तर्गत कम्पनीले भीएलसी एपभित्रै एआईको सुविधा ल्याउन लागेको छ । यो फीचर कहिलेदेखि सार्वजनिक रूपमा उपलब्ध हुनेछ भन्ने बारेमा भने केही जानकारी दिइएको छैन ।
मार्च २०२४ मा भिडिओल्यानले भीएलसीको ४.० भर्सनमा काम गरिरहेको घोषणा गरेको थियो । यस अपडेटले एपको पुरा कोरलाई पुनः तयार पार्ने चर्चा गरिएको छ । यस अपडेटमा नयाँ इन्टरफेस र अन्य नयाँ फीचर उपलब्ध हुनेछन् । भिडिओल्यानले एप्पल भिजन प्रोका लागि पनि एउटा भर्सनमा काम गरिरहेको बताएको छ ।
डाउनलोड गरिएका भिडिओ हेर्नका लागि भीएलसी सबैभन्दा बढी प्रयोग हुने मल्टिप्लेयर प्लेटफर्म हो । यो निःशुल्क प्रयोग गर्न सकिन्छ भने यो प्रयोग गरिरहँदा त्यस वाफत विज्ञापन हेरिरहन पर्दैन ।