काठमाडौं । एप्पलले भ्वाइस असिस्टेन्ट सिरीको डेटा विज्ञापनका लागि प्रयोग गरिएको भन्ने आरोपको खण्डन गरेको छ । एक विज्ञप्ति जारी गर्दै कम्पनीले गोपनीयतालाई सर्वोपरि मान्ने र सिरीको डेटा विज्ञापनदातालाई उपलब्ध नगराएको स्पष्ट पारेको हो ।
सिरीको कुनै पनि डेटा प्रयोगकर्ताको मार्केटिङ प्रोफाइल बनाउन, विज्ञापनका लागि उपलब्ध गराउन वा कसैलाई बेच्न प्रयोग नभएको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ । "सिरीलाई अझ सुरक्षित र निजी बनाउन निरन्तर काम गरिरहेका छौं र भविष्यमा पनि यसलाई निरन्तरता दिनेछौं," कम्पनीले विज्ञप्तिमा भनेको छ ।
एक मुद्दा सल्ट्याउन एप्पल साढे नौ करोड डलर तिर्न सहमत भएको विषय बाहिरिएपछि सिरी प्रयोगकर्ताको डेटा असुरक्षित रहेको आरोप लागेको थियो । सिरीको माध्यमबाट प्रयोगकर्ताको कुराकानी संकलन गरिएको र सम्भवतः एप्पलका कर्मचारीहरूले ती कुराकानी सुनेको दाबी गरिए पनि एप्पलले आरोपको खण्डन गरेको छ ।
सिरीले कसरी काम गर्छ ?
एप्पलका अनुसार सिरीलाई प्रयोगकर्ताको गोपनीयतालाई ध्यानमा राखेर डिजाइन गरिएको छ । यसले अधिकांश अनुरोधहरू सिधै प्रयोगकर्ताको डिभाइसमा प्रोसेस गर्छ । यसको अर्थ सिरीले प्रयोगकर्ताको व्यक्तिगत जानकारी एप्पल सर्भरमा नपठाइकन व्यक्तिगत अनुभव प्रदान गर्न सक्छ ।
जब प्रयोगकर्ता सिरीसँग बोल्छन् वा टाइप गर्छन्, तब तिनीहरूको अनुरोध डिभाइसमा ह्यान्डल हुन्छ । उदाहरणका लागि, सिरीलाई नपढेका म्यासेज पढ्न वा विजेट र सिरी सर्चमार्फत सुझाव दिन अनुरोध गर्दा प्रोसेसिङको काम डिभाइसमा हुन्छ । एप्पलका अनुसार म्यासेजको कन्टेन्ट एप्पल सर्भरमा पठाइँदैन, किनकि अनुरोध पूरा गर्नका लागि सर्भरमा पठाउनु आवश्यक हुँदैन ।
जबसम्म प्रयोगकर्ताले एप्पलसँग डेटा शेयर गर्ने अप्सन छान्दैनन्, तबसम्म प्रयोगकर्ताको अडिओ रिक्वेस्ट न्यूरल इन्जिन प्रयोग गरेर डिभाइसमा प्रोसेस गरिने एप्पलले जनाएको छ।
केही फिचरका लागि एप्पल सर्भरबाट रियल टाइम इनपुट आवश्यक पर्ने एप्पलको भनाइ छ । यस्तो अवस्थामा सिरीले सही नतिजा दिन सकेसम्म कम डेटा प्रयोग गर्छ ।
सिरी प्रयोग गरिएका सर्च र रिक्वेस्टहरू प्रयोगकर्ताको एप्पल अकाउन्टमा लिङ्क नगर्ने एप्पलले स्पष्ट पारेको छ। एप्पलका अनुसार उसले सिरीसँग प्रयोगकर्ताले गरेको अन्तरक्रियाको अडिओ रेकर्डिङ तबसम्म राख्दैन जबसम्म प्रयोगकर्ताले सिरीलाई सुधार गर्न मद्दत गर्न डेटा शेयर गर्ने सहमति गर्दैनन् ।
प्रयोगकर्ताले सहमति दिएको खण्डमा पनि रेकर्डिङ केवल त्यही उद्देश्यका लागि मात्र प्रयोग गरिने दाबी एप्पलले गरेको छ । प्रयोगकर्ताहरूले जुनसुकै बेला पनि यो सुविधा बन्द गर्न सक्नेछन्। कम्पनीले एप्पल इन्टेलिजेन्सका लागि पनि बाहिरको सर्भरमा निर्भर नभई डिभाइसले नै सञ्चालन गर्न सक्ने बताएको छ। एप्पल इन्टेलिजेन्स रिक्वेस्टका लागि ठूला मोडेलमा पहुँच आवश्यक भएमा, निजी क्लाउड कम्प्युटले आईफोनको गोपनीयता र सुरक्षालाई क्लाउडसम्म विस्तार गर्ने एप्पलले जनाएको छ ।