काठमाडौं । नेपाली कांग्रेसको पुरानो प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा भाइरल बनेको छ । वैशाख २१, २०७८ मा पार्टी सभापति शेरबहादुर देउवाले जारी गरेको विज्ञप्ति हाल फेसबुक, एक्स लगायतका सञ्जालमा भाइरल भइरहेको छ ।
पुरानो विज्ञप्तिमा संसद्को बजेट अधिवेशन ढिलाइ, अध्यादेशमार्फत शासन चलाउने सरकारको शैली, र संवैधानिक परिषद्सम्बन्धी सात अध्यादेशप्रति आपत्ति जनाइएको थियो । विज्ञप्तिमा लेखिएको छ, "संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश लगायत सात वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ ।"
यो विज्ञप्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारविरुद्ध कांग्रेसले सत्ता बाहिर रहँदा जारी गरेको थियो । अहिले कांग्रेससहितकै गठबन्धन सरकारले विभिन्न अध्यादेश ल्याएपछि कांग्रेस आलोचकहरूले पुरानो विज्ञप्ति भाइरल बनाउँदै कांग्रेसको वर्तमान भूमिका प्रश्न गर्न खोजेका छन् ।
यस घटनाले कांग्रेसलाई स्पष्टीकरण दिन बाध्य बनाएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरिएको वक्तव्यमा सामाजिक सञ्जालमा फैलाइएको पुरानो विज्ञप्तिलाई नै नक्कली भनेर खण्डन गरिएको छ । जबकि पुरानो विज्ञप्ति अहिले पनि कांग्रेसको आधिकारिक फेसबुक पेजमै उपलब्ध छ ।
वक्तव्यमा भनिएको छ, "नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धन सरकारप्रति अन्यौल सृजना गरी नेपाली जनतालाई भ्रमित गर्ने कुत्सित मनसायले कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस विज्ञप्ति विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषित गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।"
वक्तव्यमा यस्ता गैरकानुनी र घृणित कार्यको निन्दा गर्दै दोषीलाई कानूनी कारबाहीमा ल्याउन माग गरिएको छ । कांग्रेसले आफ्नो आधिकारिक धारणा पार्टीका आधिकारिक माध्यमबाट मात्रै लिन अपिल गर्दै सामाजिक सञ्जालमा फैलाइएको झुटो सूचना र नक्कली विज्ञप्तिप्रति सचेत रहन आग्रह गरेको छ ।