close

जब डाक्टरले पत्ता लगाउन नसकेको हातको भाँचिएको कुरा एलन मस्कको एआईले पत्ता लगायो !

टेकपाना टेकपाना

पुस २९, २०८१ १२:२२

जब डाक्टरले पत्ता लगाउन नसकेको हातको भाँचिएको कुरा एलन मस्कको एआईले पत्ता लगायो !

काठमाडौं । एलन मस्कको एआई प्लेटफर्म ग्रोकले एक किशोरीको हात भाँचिएको पहिचान गरिदिएको घटना बाहिर आएको छ । चिकित्सकले पत्ता लगाउन नसकेको किशोरीको हात भाँचिएको समस्या एआईले पत्ता लगाएको भन्दै चर्चा भइरहेको हो । 

सामाजिक सञ्जाल एक्समा एजे के नाम राखेकी एक अमेरिकी महिलाले लामो ब्लग लेख्दै यस घटनाको बेलीविस्तार लगाएकी छिन् । उनका अनुसार गत साता उनीहरू कार दुर्घटनामा परेका थिए । त्यतिबेला उनीहरूलाई गम्भीर चोट लागेको थिएन । तर, यता किशोरी भने हातमा चोट लागेको भएर त्यसैको दुखाइ सहिरहेकी थिइन् । 

किशोरीले हात धेरै दुखेको गुनासो गरेपछि उनीहरू उपचारका लागि अस्पताल गए । एक्स-रे गरेपछि चिकित्सक र रेडियोलोजिस्टले किशोरीको कुनै हड्डी नभाँचिएको बताए । त्यसपछि दुखाइ कम गर्ने औषधी र पट्टी बाँधेर किशोरीलाई घर पठाइयो । तर, छोरीको दुखाइ झन् बढ्दै गएपछि आमालाई थप चिन्ता लाग्यो । 

 

किशोरीकी आमाका अनुसार उनको नाडी असामान्य देखिन्थ्यो । हात चिसो र झमझम भएको थियो भने किशोरीले आफ्नो बुढी औंला चलाउन सकिरहेकी थिइनन् ।

ती महिलालाई शङ्का लाग्यो र आफैँ थप अनुसन्धान गर्न थालिन् । त्यसका लागि उनले एलन मस्कको एआई च्याटबट ग्रोकसँग कुरा गर्न थालिन् । कुरा गर्दै जाँदा उनले एक्स-रे र अन्य कागजात उक्त च्याटबटलाई उपलब्ध गराइन् । त्यसपछि उनले एआईलाई केही असामान्य भएको पत्ता लगाउन आग्रह गरिन् । 

ग्रोकले तुरुन्तै डिस्टल रेडियस (नाडी) को हड्डी भाँचिएको भेटायो । त्यसपछि एआईले ग्रोथ प्लेट (हाडको जोर्निमा हुने मोटो भाग) लाई भाँचिएको ठानेको हो कि भनेर उनले थप प्रश्न गरिन् । ग्रोकले पहिलेकै भनाइ दोहोर्‍याउँदै हात भाँचिएको स्पष्ट देखिन्छ भन्ने बतायो ।

“यो सामान्य फ्र्याक्चर होइन । यो हड्डीको संरचनामा देखिने र गम्भीर किसिमको चिरा हो । तर, यसको सही मूल्याङ्कन र उपचार योजना बनाउनका लागि स्वास्थ्य विशेषज्ञसँग परामर्श गर्नु नै उचित हुन्छ,” ग्रोकले च्याटको क्रममा लेख्यो ।

त्यसपछि आमाले नाडी विशेषज्ञसँग परामर्श गरिन् । ग्रोकले पहिचान गरेको कुरा सत्य भएको भएको डाक्टरले पनि पुष्टि गरे । महिलालाई डाक्टरले भने अनुसार यदि ढिलाइ गरेको भए किशोरीको हातको शल्यक्रिया नै गर्नुपर्ने अवस्था आउने थियो । ग्रोकको सहयोगले गर्दा किशोरीको नाडी तुरुन्तै प्लास्टर गरियो ।

महिलाले एआईको क्षमतामा पहिले शङ्का गरेको भए पनि ग्रोकले दिएको सुझावप्रति धन्यवाद व्यक्त गरेकी छिन् । एआईले सम्भवतः उनकी छोरीलाई लामो समयसम्मको दुखाइ र सम्भावित शल्यक्रियाबाट बचाएको उनको दाबी छ ।

पछिल्लो अध्यावधिक: पुस २९, २०८१ १२:२२