close

वेबसाइटमार्फत् रिजल्ट सार्वजनिक नगर्दा आलोचना खेप्दै त्रिवि

टेकपाना टेकपाना

पुस २९, २०८१ १६:८

साङ्केतिक तस्विर साङ्केतिक तस्विर

काठमाडौं । २५ पुस २०८१ मा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुले बीबीएस दोस्रो वर्षको नतिजा सार्वजनिक गर्‍यो । नियमित प्रक्रियाझै नतिजा सार्वजनिक गरेकाे भएपनि यस पटक पनिकाले फरक विषमा चर्को आलोचना खेप्नु परेको छ । 

अरु बेला नतिजा सार्वजनिक हुने बित्तिकै वेबसाइट डाउन भयो भन्दै विद्यार्थीहरू आलोचना गरिरहेका हुन्थे । तर, यस पटक पनिकाले यस्तो आलोचना सुन्न परेन । किनभने नतिजा वेबसाइटमा नराखी भित्तामा मात्रै टाँसियो । 

नतिजा सार्वजनिक भएको चार दिन बितिसक्दा पनि वेबसाइटमा अपलोड भइसकेको छैन । त्रिविको विषयमा अनौपचारिक रूपमा जानकारी दिने सामाजिक सञ्जाल पेजहरूबाट पनि पनिकाको कमजोरीबारे आलोचना भइरहेको छ ।

“बीबीएस दोस्रो वर्षको नतिजा बल्खुको गेट अगाडि टासिएको छ, गएर हेर्नुहोला,” एक फेसबुक पेजले लेखेको छ, “काठमाडौं बाहिर बस्नेहरू नाइट बस चढेर आउनुहोला ।”

त्यस लगतै अन्य पेजहरू त्रिविले वेबसाइटमा नतिजा नराखेको भन्दै व्यङ्गात्मक शैलीले लेखेका थिए, “जमाना आर्टिफिसियल इन्टेलिजेन्सको छ । पढाउनु पर्ने विद्यार्थी जेन अल्फा र जेन बिटाका छन् । त्रिविको काम चाहिं नतिजा गेटमा टाँस्ने छ ।”

कतिपयले त्रिविको नतिजा प्रकाशन गर्ने शैली आलोचना गर्दै लेखेका छन्, “प्रविधिको यो जमानामा धन्न प्रिन्टर थियो र सिधै प्रिन्ट गरेर रिजल्ट भित्तामा टास्न सम्भव भयो ।” 

“पान पराग खाएर भित्तामा थुक्ने काम नगर्नुहोला । भित्तामा त्रिविको रिजल्ट टासेको हुन सक्छ,” ट्रोल बनाउँदै अर्को एक पोस्टमा लेखिएको छ ।

यस विषयमा त्रिविका एक प्रतिनिधिसँग अनौपचारिक रूपमा कुरा गर्दा वेबसाइट व्यवस्थापन गर्ने कर्मचारी सरुवा हुँदा नतिजा राख्न समय लागेको भन्ने बुझिएको छ । 

“अहिले त कर्मचारीको सरुवा भएकैले रिजल्ट वेबसाइटमा राख्न ढिलो भएको हो,” एक प्रतिनिधिले नाम नखुलाउने सर्तमा भने, “कर्मचारी व्यवस्थापन गर्न ढिलो भएकैले वेबसाइटमा रिजल्ट आउन सकेको छैन ।”

त्रिविको स्वतन्त्र विद्यार्थी युनियन सभापति श्याम ओझाले आइतबार मात्र नतिजा चाँडो वेबसाइटमा आउनुपर्ने माग राखेर वैठक बसालेको बताए । 

“विश्वविद्यालयका पदाधिकारीसँग हिजो म गएर विश्वविद्यालयको रजिस्टारको नेतृत्वमा बैठक नै सम्पन्न गराएर निस्केको हो,” ओझाले भने, “हिजो नै सार्वजनिक गर्ने भन्ने कुरा थियो । तर, आजसम्म पनि आएको छैन ।”

पहिले आईटीका कर्मचारीलाई सरुवा नगर्न अनुरोध गर्दा पनि पनिकाका पदाधिकारीले सरुवा गरेको उनले बताए । “अहिले कर्मचारीको समस्या भयो भनेर हुँदैन । हामीलाई चाँडो नतिजा चाहियो भन्ने हाम्रो माग हो,” उनले थपे ।

नतिजा वेबसाइटमा उपलब्ध नहुँदा उपत्यका बाहिरका विद्यार्थीलाई नतिजा हेर्न सकस भएको छ । भित्तामै टासिएको सिम्बोल नम्बर हेरेर पास भए नभएको थाहा पाउने भए पनि कुन विषयमा कति अङ्क आयो भन्ने सूचना पाउनबाट विद्यार्थी वञ्चित छन् ।

पछिल्लो अध्यावधिक: पुस २९, २०८१ १६:२०