काठमाडौं । ल्यापटपमा काम गरिरहँदा प्रायःको मनमा कुनै न कुनै समय एउटा समान विचार आउँछ । त्यो हो स्क्रिनको आकार । स्क्रिनको आकार ठूलो वा सानो जस्तो भए पनि त्यसले प्रयोगकर्तालाई अर्को डिस्प्लेको विकल्प सोच्न बाध्य पारिरहेको हुन्छ ।
यदि ल्यापटपको स्क्रिन साइज ठूलो भयो भने काम गर्न सहज हुन्छ । तर, ठूलो स्क्रिन भएको ल्यापटपको किबोर्डको साइज पनि त्यस्तै हुन्छ । जसले गर्दा टाउको ल्यापटप पोर्टेबल भनिए पनि व्यवहारिक रूपमा पोर्टेबल हुँदैन ।
त्यस्तै स्क्रिन सानो छ भने ल्यापटप पोर्टेबल हुन्छ । तर, जतिको राम्रोसँग काम ठूलो स्क्रिनमा गर्न सकिन्छ त्यति सानो स्क्रिनमा गर्न सकस नै पर्छ । यस्तोमा प्रयोगकर्तालाई तत्कालका लागि भए पनि ठूलो डिस्प्ले भइदिए हुन्थ्यो भन्ने लाग्छ । हुन त यसको विकल्पमा थप मनिटर जोड्न पनि सकिन्छ । तर, सधैं सबै मनिटर साथमै लिएर हिँड्न सम्भव नहुन सक्छ ।
यही समस्यालाई मध्यनजर गर्दै लेनोभोले नयाँ अवधारणाको ल्यापटप सार्वजनिक गरेको छ । विद्युतीय उपकरणको सबैभन्दा ठूलो प्रदर्शनी सीईएस २०२५ मा लेनोभोले विश्वकै पहिलो रोलेबल ल्यापटप प्रदर्शन गरेको हो । यस नयाँ अवधारणाको ल्यापटपलाई लेनोभोले थिङ्कबुक प्लस जेन सिक्स नाम दिएको छ ।
Here’s the ThinkBook Plus Gen 6 Rollable from @Lenovo at #CES2025. One of the wildest laptops I’ve ever seen.
यसको आकार १४ इन्चको हो । झट्ट हेर्दा सानो र चिटिक्कको किबोर्ड र डिस्प्ले देखिन्छ । तर, तपाईंले किबोर्डको एउटा विशेष बटन थिच्नुभयो वा हातले माथि सार्ने इसारा दिनुभयो भने स्क्रिनको आकार बढ्दै जान्छ र १६.७ इन्च पुग्छ । अर्थात् मध्यम आकारका ल्यापटपको जत्तिको स्क्रिन देखिन्छ ।
२.७ इन्च स्क्रिन त्यति ठूलो होइन । तर, १४ इन्चको तुलाना जोडिएर १६.७ इन्च पुग्ने स्क्रिनले प्रयोगकर्तालाई केही फरक अनुभव भने पक्कै दिन्छ । यसलाई कम्पनीले विश्वकै पहिलो रोलएबल पीसीका रूपमा दाबी गरेको छ । यो इन्टेल कोर अल्ट्रा आई सेभेन सिरिज टु प्रोसेसरबाट सञ्चालित छ ।
माइक्रोसफ्टको एआई टुल कोबाइलट टुलमा एक्सेस दिन किबोर्डमै डेडिकेटेड की समावेश गरिएको छ । यसमा दुई ओटा थन्डरबोल्ट पोर्ट दिइएको छ । यसको मूल्य ३४९९ डलर (करिब चार लाख ८३ हजार रुपैयाँ) हुने अपेक्षा गरिएको छ ।
विश्व बजारमा यो ल्यापटप जुन २०२५ मा सार्वजनिक हुनेछ । यस ल्यापटपका अरू फिचरहरू त्यही समयमा बाहिर आउने अपेक्षा गरिएको छ ।
लेनोभोले थिङ्कबुक प्लस जेन सिक्स रोलएबललाई एउटा महत्त्वाकाङ्क्षी अवधारणाबाट वास्तविक प्रयोग गर्न मिल्ने उत्पादनमा परिणत गरेको छ । यो यस्तो डिभाइस हो जसले ल्यापटपको अनुभवलाई नयाँ रूपमा परिभाषित गर्दै, सहज बोकेर लैजान मिल्ने र उच्च कार्यक्षमताको मिश्रण प्रस्तुत गरेको छ । यसले भविष्यमुखी र व्यावहारिक दुवै प्रकारको अनुभव प्रदान गर्ने विश्लेषकहरू बताउँछन् ।
यसको मूल्य उच्च भएकाले प्रयोगकर्ता सीमित हुने बताइएको छ ।