काठमाडौं । कुनै एउटा यस्तो समय थियो, इन्टरनेटमा भिडिओ कल गर्नुपरे स्काइपलाई नै सम्झिइन्थ्यो । इन्टरनेटबाट च्याटमा मात्र कुराकानी गर्न सकिने सीमिततालाई तोड्दै सन् २००३ मा सुरु भएको स्काइपले छोटो समयमा लोकप्रियता हासिल गरेको थियो ।
अहिले भिडिओ कल गर्नु हाम्रो लागि सामान्य लाग्छ, तर त्यस समयमा यस्तो सम्भव हुनु आश्चर्यभन्दा कम थिएन । त्यस्तो समयमा स्काइपले कम्प्युटरमा इन्टरनेटको प्रयोग गरेर एक अर्काको अनुहार हेरेर भिडिओ कल तथा भ्वाइस कल निःशुल्क गर्न सकिने सुविधा ल्याएर इन्टरनेटको दुनियाँमा राज गरेको थियो । एउटा एपको प्रयोगले नै देशको सिमाना काटेर अन्य देशमा अनुहार हेरेर कुराकानी गर्न सर्वसाधारणलाई सहज बनाइदिएको थियो ।
हाल स्थापना भएको २१ वर्ष पूरा भइसक्दा भने स्काइप गुमनाम भएको छ । भिडिओ कल, कन्फरेन्स वा भर्चुअल मिटिङका लागि कैयौं विकल्प आएका छन् । यस्तो अवस्थामा पुरानो लोकप्रिय एप स्काइपलाई भने लगभग बिर्सिइएको छ ।
स्काइपको उदय
बाल्यकालदेखिका ६ जना साथीहरू मिलेर नौ महिनाको मेहनतपछि सन् २००३ मा स्काइपको स्थापना भएको थियो । उद्यमी निकलस जेनस्ट्रोम र जानुस फ्रिसले बाल्यकालका साथीहरू टालिन, प्रित कासेसालु, टोइभो अन्नस र आहतीसँग मिलेर स्काइप सुरु गरेका थिए ।
स्काइपमा भ्वाइस ओभर आईपी प्रविधिको सफ्टवेयरको प्रयोग गरिएको छ । जसकारण प्रयोगकर्ताले इन्टरनेटबाट फोन गर्न र उठाउन सहज भएको थियो । यस प्रविधि आम मानिसहरूमाझ छिट्टै नै लोकप्रिय बन्यो र एप सञ्चालनमा आएको एक वर्षमा नै एक करोड १० लाख प्रयोगकर्ता जोडिए ।
एप सञ्चालनमा आएको पहिलो दिन नै १० हजार जनाले डाउनलोड गरेका थिए । सन् २००३ मा इन्टरनेट प्रयोगकर्ता अहिलेजस्तो धेरै थिएनन् । एकै दिनमा यति सङ्ख्यामा डाउनलोड गर्नु भनेको चानचुने कुरा थिएन ।
स्काइप स्थापना भएको दुई वर्षपछि अर्थात् सन् २००५ मा आइपुग्दा स्काइपमा रजिष्टर गर्ने प्रयोगकर्ता पाँच करोड ९० लाख पुगिसकेका थिए । त्यस समयमा संसारभर यो एप १८ करोड २० लाखभन्दा बढीपटक डाउनलोड भइसकेको थियो ।
स्काइपको छोटो समयको यो सफलतापछि सन् २००५ मा ईबेले स्काइपलाई २.६ बिलियन डलरमा खरिद गर्यो ।
महँगोमा स्काइप खरिद गरेको भन्दै त्यसबेलामा ईबेको आलोचनासमेत भएको थियो । तर ईबे कम्पनीले खरिद गरेपछि स्काइप अझै धेरै फस्टायो । सन् २००७ को अन्त्यसम्म आइपुग्दा स्काइपका २० करोडभन्दा धेरै प्रयोगकर्ताले रजिष्टर गरेका थिए भने पाँच करोडभन्दा बढी प्रयोगकर्ता मासिक रूपमा सक्रिय थिए ।
सन् २००९ को अन्त्यमा आइपुग्दा स्काइपका ५० करोडभन्दा बढी प्रयोगकर्ताले रजिष्टर गरेका थिए भने १० करोड पाँच लाख प्रयोगकर्ता मासिक रूपमा सक्रिय थिए ।
सन् २०१० मा स्काइपको माध्यमबाट २० खर्ब सात अर्ब मिनेट अडिओ तथा भिडिओ कल गरिएको रेकर्ड बन्यो ।
सन् २००९ मा ईबेले सिल्भर लेकलाई स्काइपको अधिकांश आईपीओ बेच्यो । सो बेला स्काइपको भ्यालु २.७५ बिलियन डलर राखेर ७० प्रतिशत शेयर १.९ बिलियन डलरमा बेचेको थियो ।
पछि सन् २०११ मा माइक्रोसफ्ट कम्पनीले स्काइपलाई सिल्भर लेकसँग खरिद गर्यो । ८.५ बिलियन डलरमा खरिद गरिएकोमा सिल्भर लेकले तीन गुणा र ईबेले आफ्नो लगानीमा १.४ बिलियन डलर नाफा गरेर माइक्रोसफ्टलाई बिक्री गर्यो ।
स्काइपलाई माइक्रोसफ्टले खरिद गरेपछि कम्पनीका एक्सबक्स, आउटलुक र स्मार्टफोनसँग समावेश गर्ने योजना बनायो । सोसँगै माइक्रोसफ्टका सीईओ टोनी बेट्सले स्काइपको दैनिक प्रयोगकर्ता एक अर्ब बनाउने घोषणा गरे ।
तर माइक्रोसफ्टले चाहेजस्तो उनीहरूको योजना सफल हुन सकेन । माइक्रोसफ्टले स्काइपको सही सदुपयोग गर्न नसक्दा सन् २०२३ मा तीन करोड ६० लाख दैनिक प्रयोगकर्तामा नै स्काइप सीमित भएको छ ।
टिम्सको उदयसँगै स्काइपको खस्कँदो लोकप्रियता
स्काइपमा नयाँ प्रोडक्टहरू आविष्कार नहुँदा स्काइपको लोकप्रियता खस्कन थाल्यो । यता स्काइपलाई टक्कर दिने अरू एपहरू पनि निर्माण भइसकेका थिए ।
सन् २०१७ मा आइपुग्दा अनलाइन भिडिओ कलका लागि ह्वाट्सएप निकै लोकप्रिय बनिसकेको थियो । त्यो समयमा एक अर्ब पुगेको प्रयोगकर्ता सन् २०२० मा आइपुग्दा दुई गुणाले बढेर दुई अर्ब पुगेको थियो । भिडिओ कलका लागि सहज भएकाले ह्वाट्सएप छिट्टै नै पपुलर हुन सफल भएको थियो । यता स्काइप भने तुलनात्मक रूपमा ढिलो चल्ने र जटिल बनेको थियो ।
यता माइक्रोसफ्ट कम्पनीले सन् २०१६ मा टिम्स एपको घोषणा गर्यो । सन् २०१७ मा टिम्स एप सार्वजनिक भएपछि यो स्काइपको प्रतिस्पर्धीको रूपमा स्थापित भयो । टिम्स र स्काइपका प्रयोगकरताले एक-अर्को एपसँग अन्तरक्रिया गर्ने फिचर पनि माइक्रोसफ्टले ल्यायो । सो यता टिम्सले स्काइपका प्रयोगकर्ताहरूलाई आकर्षित गर्दै आएको छ । स्काइपभन्दा टिम्समा बढी फिचर भएकाले प्रयोगकर्ताले टिम्सलाई बढी रुचाउनेसमेत गरेका छन् ।
माइक्रोसफ्ट कम्पनी पनि सञ्चारका लागि टिम्स एपलाई दरिलो विकल्प बनाउन पूर्वाधारमा खर्च गरिरहेको छ । जुन काम स्काइपको विकासका लागि भने त्यस्तो मेहनत गरेको छैन ।
सन् २०२१ मा स्काइपले एउटा कलमा एक सय जनाभन्दा बढी सहभागी हुनसक्ने सुविधा ल्याएको घोषणा गरेको थियो । यता टिम्सले सोभन्दा पहिले नै तीन सयभन्दा बढी व्यक्तिलाई एउटै कलमा सपोर्ट गर्नसक्ने घोषणा गरिसकेको थियो ।
सन् २०२० मा संसारभरि कोभिड-१९ को महामारी फैलिँदा भर्चुअल कुराकानी प्राथमिकतामा आए । सो बेलामा मानिसहरूले जुम र टिम्सलाई भर्चुअल अन्तरक्रियाको लागि प्रयोग गरे । यो समयमा पनि स्काइप भने पुरानो स्थितिमा फर्कन सकेन ।
कोरोना महामारीको समयमा जुम र टिम्स एपबीच तीव्र प्रतिस्पर्धा चल्यो । त्यस समयमा जुम बढी लोकप्रिय हुँदा टिम्सले आफूमा थप सुधार गर्ने काम गर्यो । टिम्सले मिटिङमा हजारभन्दा बढी प्रयोगकर्ता सहभागी हुनसक्ने सुविधा ल्यायो । सोही क्रममा स्काइपमा पनि भर्चुअल ब्याकग्राउन्डमा परिवर्तन ल्याउने जस्ता काम भए ।
यस समयमा टिम्सको तीव्र विकास भएको थियो । सन् २०१९ मा एक लाख ३० हजार दैनिक प्रयोगकर्ता रहेको माइक्रोसफ्टले घोषणा गरेको थियो । २०२० मा कोरोना महामारीको समयमा सो सङ्ख्या बढेर ४ करोड ४० लाख पुगेको थियो ।
सोही समयमा स्काइपको पनि दैनिक प्रयोगकर्ता ४ करोड थिए । त्यसपछि भने टिम्सको दैनिक प्रयोगकर्ताको सङ्ख्या बढिरहँदा स्काइपको भने बढ्न सकेन । २०२० को अप्रिलमा टिम्सको दैनिक प्रयोगकर्ता ७ करोड ५० लाख पुगेको भन्दै माइक्रोसफ्टले घोषणा गर्दा स्काइपको कति छन् भनेर चाहिँ खुलाएन ।
हालसम्म पनि स्काइप सञ्चालनमा भने आइरहेको छ । तर २००० को दशकको जस्तो चर्चामा भने आउन सकेको छैन । स्काइपको भविष्य कस्तो रहला भन्ने पनि अन्योलताको विषय बनेको छ । यता स्काइप बन्द गरेमा स्काइपमा सक्रिय रहेका प्रयोगकर्ता भड्किन सक्ने भएकाले त्यतातिर सोच्न सकेको छैन ।
स्काइपले कमब्याक गर्न सक्ला त ?
स्काइप सञ्चारको दुनियाँमा लामो समयदेखि चलिरहेको एप हो । माइक्रोसफ्टले जेनेरेटिभ एआई बिङ ल्याएको छ । स्काइपमा पनि बिङसँग कुरा गर्न सकिन्छ ।
पछिल्लो समय स्काइपले माइक्रोसफ्टलाई मोटो आम्दानी दिन नसकेपनि आफैँ चलिरहेको बताइन्छ ।
यता स्काइपमा प्रयोगकर्ता दिन प्रतिदिन घटिरहेका छन् । स्काइपलाई कमब्याक गराउन माइक्रोसफ्टले नयाँ केही धमाकेदार सुविधाहरू पनि लिएर आउन सक्छ । स्काइप म्यासेज, अडिओ तथा भिडिओ कल र बिङ च्याटबाट जोडिएर कुराकानी गर्न मन पराउनेका लागि स्काइप सधैँ उत्तम विकल्प रहने माइक्रोसफ्टले जनाएको छ ।