close

टिकटक प्रतिबन्धको खतरा बढेसँगै अर्को चिनियाँ एप ‘रेडनोट’ मा अमेरिकी प्रयोगकर्ताको ओइरो

टेकपाना टेकपाना

माघ २, २०८१ ११:५४

टिकटक प्रतिबन्धको खतरा बढेसँगै अर्को चिनियाँ एप ‘रेडनोट’ मा अमेरिकी प्रयोगकर्ताको ओइरो

काठमाडौं । अमेरिकामा टिकटक प्रतिबन्धको सम्भावना बढेसँगै ‘रेडनोट’ नामक एप अमेरिकी एपस्टोरमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । सोमबार यो एप अमेरिकी एपस्टोरमा सबैभन्दा धेरै डाउनलोड गरिएको निःशुल्क एपको रूपमा शीर्ष स्थानमा पुगेको हो ।

टिकटक प्रतिबन्धको खतरा बढ्दै जाँदा अमेरिकी सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ठूलो सङ्ख्यामा रेडनोटतर्फ आकर्षित भएका छन् । यो एप चीनमा 'सियाओहोङ्सु' नामले चिनिन्छ । एप्पल एपस्टोरमा रेडनोटपछि सबैभन्दा बढी डाउनलोड हुनेमा टिकटकको सिस्टर एप लेमन एट रहेको छ । 

अमेरिकी प्रयोगकर्ताले आगामी आइतबार अर्थात् ‍१९ जनवरीमा टिकटकमाथि प्रतिबन्ध लागे रेडनोटमा स्विच गर्ने बताएका छन् । अमेरिकी कानुनले यस प्लेटफर्मलाई चीनमा रहेको यसको अभिभावक कम्पनी बाइटडान्ससँगको सम्बन्ध तोड्न वा अमेरिकी कार्य सञ्चालन बन्द गर्न बाध्य पारेको छ । यद्यपि यो शर्ट भिडिओ एपलाई अमेरिकी सर्वोच्च अदालतले अन्तिम समयमा राहत दिन सक्ने अनुमान गरिएको छ ।

रेडनोट एउटा यस्तो एप हो, जसले छोटो भिडिओलाई ई-कमर्ससँग जोड्छ । यो चीनमा सन् २०१३ मा स्थापना भएको थियो । यो एप चीनसहित मलेसिया र ताइवान जस्ता चिनियाँ डायस्पोरा भएका अन्य क्षेत्रहरूमा लोकप्रिय छ । ती देशमा यस प्लेटफर्मका ३० करोड मासिक सक्रिय प्रयोगकर्ता छन् ।

समाचार एजेन्सी एपीका अनुसार यसका धेरैजसो प्रयोगकर्ता युवा महिलाहरू छन्, जसले यसलाई उत्पादन, यात्रा र रेस्टुरेन्ट रिकमेन्डेसनका साथै मेकअप र स्किनकेयर ट्युटोरियलका लागि प्रयोग गर्ने गर्छन् ।

केहीले टिकटकमा प्रतिबन्ध लागेमा मेटाको स्वामित्वमा रहेका इन्स्टाग्राम र फेसबुक जस्ता एपहरू पनि विरोध स्वरूप प्रयोग गर्न बन्द गर्ने चेतावनी दिएका छन् । एनबीसीका अनुसार मेटाले सन् २०२२ मा टिकटकलाई बदनाम गर्न रिपब्लिकन लबिङ फर्मलाई पैसा तिरेको थियो र टिकटक प्रतिबन्ध लागू भएमा नयाँ प्रयोगकर्ताहरू प्राप्त गर्ने सम्भावना छ ।

पछिल्लो अध्यावधिक: माघ २, २०८१ १२:४०