काठमाडौं । नेपालमा पछिल्ला केही दिनदेखि सार्वजनिक स्थानमा राखिएका डिजिटल बोर्ड ह्याक गर्ने घटना बढेका छन् । सरकारी कार्यालय र विभिन्न संस्थाले राखेका डिजिटल बोर्ड ह्याक भइरहेका छन् ।
सेवाग्राहीलाई सूचना दिन यस्ता बोर्ड कार्यालयमा राखिन्छन् । तर, केही व्यक्तिले चर्चा पाउन र सम्बन्धित संस्थालाई बदनाम गर्ने नियतले डिजिटल बोर्डको पहुँच नियन्त्रणमा लिने र इच्छा लागेका शब्द राखिदिने प्रवृत्ति देखिएको छ ।
सोमबार राति सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको मुल प्रवेशद्वारमै राखिएको डिजिटल बोर्ड ह्याक भयो । उक्त बोर्डमा ‘आई लभ यू चित्रा’ लेखिएको थियो । त्यस्तै केही दिनअघि महानगरीय प्रहरी वृत्त ललितपुरको डिजिटल बोर्ड ह्याक गरी त्यसमा पनि प्रेम प्रस्ताव दर्शाउने शब्दहरू राखिएको थियो ।
त्यसअघि २१ पुसमा कपिलवस्तु नगरपालिका नयाँटोलको मुख्य चोकमा राखिएको बोर्ड ह्याक गरी त्यसरी नै प्रेम प्रस्ताव राखिएको थियो । ७ कात्तिकमा बुटवल उपमहानगरपालिका योगीकुटी चोकमा राखिएको डिजिटल बोर्ड ह्याक गरी अश्लील शब्द राखिएको थियो ।
सामाजिक सञ्जाल भाइरल भएकामध्ये यी केही घटना मात्र हुन् । दैनिकजसो कुनै न कुनै ठाउँमा यस्ता डिजिटल बोर्ड ह्याक भइरहेका छन् ।
डिजिटल बोर्ड ह्याक गर्नुलाई ठूलै उपलब्धि गरेको जस्तो चर्चा गर्न थालिएको छ । तर, सम्बन्धित कार्यालयको सामान्य बेवास्ताले बोर्ड ह्याक हुने गरेको देखिएको छ ।
कसरी कन्ट्रोल भइरहेको हुन्छ डिजिटल बोर्ड ?
विभिन्न स्थानमा राखिएका स्मार्ट बोर्ड मोबाइल एपबाटै कन्ट्रोल गर्न सकिन्छ । त्यसमा चाहेका शब्द राख्न, पहिले भएका शब्द हटाउन सोही एपबाट मिल्छ ।
सबैभन्दा पहिले स्मार्टबोर्ड जडान गरेर त्यसमा पावर दिनुपर्ने हुन्छ । डिजिटल बोर्ड अन भइसकेपछि उक्त बोर्डको नाम वाई-फाईका रूपमा देखिन्छ ।
यता मोबाइलमा बोर्ड कन्ट्रोल गर्ने एप डाउनलोड गर्नुपर्ने हुन्छ । त्यसपछि वाई-फाईमा गएर उक्त डिजिटल बोर्डको नाममा कनेक्ट गर्नुपर्ने हुन्छ । डिफल्ट रूपमा यो सेटिङ उपलब्ध हुन्छ । अर्थात् पहिलो पटक डिजिटल बोर्ड कनेक्ट गर्नका लागि कुनै पासवर्ड राख्नु पर्दैन ।
यसरी डिजिटल बोर्ड मोबाइल एपमा कनेक्ट भइसकेपछि त्यसमा राख्न चाहेका शब्द मोबाइल एपमै लेख्न सकिन्छ । यसरी एपमा लेखिएको शब्द नै डिजिटल बोर्डमा देखिन्छ । मोबाइल एपमा लेखिएको शब्द डिजिटल बोर्डमा देखाइरहन उक्त मोबाइल सधैं सोही वाई-फाईमा कनेक्ट भइरहनु पर्छ भन्ने हुँदैन । एक पटक सेट गरिसकेपछि मोबाइल र डिजिटल बोर्ड कनेक्ट नभए पनि त्यहाँ राखिएको शब्द डिस्प्लेमा देखिरहेको हुन्छ ।
यस्तोमा डिजिटल बोर्ड र पहिले सेट गरेको मोबाइल कनेक्ट भएको छैन भने अर्को डिभाइस त्यसरी नै कनेक्ट गर्न सकिन्छ । र, मोबाइल एपबाट चाहेको शब्द लेखि स्मार्ट बोर्डमा उक्त शब्द डिस्प्ले गर्न सकिन्छ ।
जोकोहीले डिजिटल बोर्डमा पहुँच नपाओस् भन्नका लागि उक्त डिजिटल बोर्डका लागि पासवर्ड सेट गर्ने अप्सन हुन्छ । पासवर्ड सेट गरियो भने डिफल्ट रूपमा त्यसको पासवर्ड आठ ओटा आठ हुन्छ । अर्को कुनै डिभाइसबाट उक्त स्मार्ट बोर्डको नाम वाई-फाईमा हेरी सो पासवर्ड राखेर कनेक्ट गर्न सकिन्छ ।
जुन बोर्ड ह्याक भइरहेका छन्, त्यसलाई व्यवस्थापन गर्ने कार्यालयको कमजोरीका कारण अरूले पहुँच पाएको देखिन्छ । कि उक्त डिजिटल बोर्डको पासवर्ड नै राखिएको छैन, कि डिफल्ट पासवर्ड नै राखिएको छ । यही कमजोरीबाट जोकोहीले डिजिटल बोर्डमा एक्सेस पाएर अनावश्यक शब्द राखिरहेको देखिन्छ ।
डिजिटल बोर्डमा जोकोहीले पहुँच नपाओस् भन्नका लागि सम्बन्धित कार्यालयले उक्त मोबाइल एपबाट स्मार्ट बोर्डका लागि बलियो पासवर्ड राख्नुपर्ने हुन्छ । यति मात्रै गरियो भने पनि डिजिटल बोर्डलाई अनधिकृत व्यक्तिको पहुँचबाट रोक्न सकिन्छ ।
“डिजिटल बोर्डको एक्सेस लिने र त्यसमा अवश्यक शब्द राख्ने घटना बढ्नुमा सम्बन्धित कार्यालयकै कमजोरी जस्तो लाग्छ,” टेकपानासँग कुरा गर्दै साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले भने, “जोकोहीले एक्सेस नपाओस् भन्नका लागि त्यसमा कडा पासवर्ड राख्नुपर्ने हुन्छ ।”
चर्चा पाउन वा सम्बन्धित कार्यालयलाई बदनाम गर्ने नियत राखेर अरूको लहलहैमा लागी स्मार्ट बोर्डमा अनधिकृत पहुँच लिँदा त्यसले कानुनी कारबाहीको भागेदार बनाउन सक्छ । प्रहरी उपरीक्षक अवस्थीका अनुसार यसरी अनधिकृत पहुँच लिंदा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४५ आकर्षित हुन्छ ।
उक्त दफामा कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच लिंदा कस्तो सजाय हुन्छ भन्ने उल्लेख छ । जहाँ लेखिएको छ, “कुनै व्यक्तिले कुनै कम्प्युटरमा रहेको कुनै कार्यक्रम, सूचना वा तथ्याङ्कमा पहुँच प्राप्त गर्ने मनसायबाट सो कम्प्युटरको धनी वा जिम्मेवार व्यक्तिबाट कुनै अख्तियारी नलिई सो कम्प्युटरको प्रयोग गरेमा वा अख्तियारी लिएको अवस्थामा पनि अख्तियारी दिइएको भन्दा भिन्न कुनै कार्यक्रम, सूचना वा तथ्याङ्कमा पहुँच प्राप्त गर्ने उद्देश्यले कुनै कार्य गरेमा निजलाई कसुरको गम्भीरता हेरी दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।”