close

भारतको कुम्भ मेलामा हराएका मानिस खोज्न एआई प्रयोग हुँदै

टेकपाना टेकपाना

माघ २, २०८१ १८:३३

भारतको कुम्भ मेलामा हराएका मानिस खोज्न एआई प्रयोग हुँदै

काठमाडौं । यदि तपाईं हिन्दी फिल्मको पारखी हुनुहुन्छ भने यस्तो कथा कहीँ न कहीँ हेर्नुभएको होला, जहाँ महाकुम्भको मेलामा दाजुभाइ वा बच्चा परिवारबाट बिछोडिन्छन् । ठूलो भएपछि उनीहरूको जन्म चिन्ह वा कुनै चिनोका कारण एक अर्कालाई चिनेर पुनर्मिलन हुन्छ ।

हिन्दी फिल्महरूमा देखिने सोही महाकुम्भ मेला उत्तर भारतको प्रयागराजमा सोमबारदेखि सुरू भएको छ । उक्त मेलामा ४० करोडभन्दा धेरै भक्तजनहरू पुग्ने अनुमान गरिएको छ । 

६ हप्ता लामो समयसम्म चल्ने यो मेलामा दैनिक करोडौंको सङ्ख्यामा मानिसहरू सहभागी भइरहेका छन् । मेला चलिरहँदा त्यहाँ धेरै व्यक्ति मेलाको भीडमा परिवारबाट छुट्नसक्ने अनुमान गरिएको छ । तर प्रविधिको युगमा यस समस्याको समाधान पनि निकालिएको छ । 

भारतीय सञ्चारमाध्यमहरूले महाकुम्भ मेलामा हजारौँ सङ्ख्यामा वास्तविक समयमा भीडको निगरानी गर्नसक्ने  अत्याधुनिक क्यामरा जडान गरेको बताएका छन् । ठूलो जमातमा मानिसहरू जम्मा हुँदा हराउने समस्या समाधान गर्नका लागि फेसियल रिकग्निसन क्यामेरा, अन्डरवाटर ड्रोन, रोबोटिक बायसहरू राखिएका छन् । 

महाकुम्भ मेलाका पहिलोपटक फेसियल रिकग्निसन र एआईको प्रयोग गरेर हराएका मानिसहरू पत्ता लगाउन खोजिएको हो । यसअघि हराएका व्यक्ति खोज्न खडा गरिएको स्टेसनबाट मात्र मानिसहरू खोज्ने काम गरिन्थ्यो । तर भेट्टाउन सक्ने सम्भावना भने न्यून रहन्थ्यो । 

हराएका वृद्ध तथा बालबालिकाहरूलाई परिवारजनसँग पुनर्मिलन गराउनु महाकुम्भ मेलामा चुनौतीका रूपमा रहँदै आएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगले यो समस्या समाधानमा केही हदसम्म सहयोग गर्ने अपेक्षा गरिएको छ ।

मेला आसपासका क्षेत्रका कुनैपनि काउन्टरमा गएर आफन्तले हराएको व्यक्तिको रिपोर्ट गराएपछि मेलामा जडान भएका हजारौँ एआई क्यामेराले ती व्यक्तिको फोटो भीडमा स्कान गर्छ र उसको लोकेसन पत्ता लगाउँछ । 

यस्तै आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) जडित रिस्ट ब्यान्डको पनि व्यवस्था गरिएको छ, जुन हराएका व्यक्तिहरूको लोकेसन पत्ता लगाउन प्रयोग गरिनेछ । यसमा आपतकालीन सम्पर्क नम्बर, मेडिकल विवरण, लाइभ लोकेसन शेयर गर्न सकिने सुविधा उपलब्ध गराइएको हुन्छ । 

यस्तै मेलामा राखिएको एआईजडित क्यामेराले समय समयमा नोटिफिकेसन पठाएर सम्भावित भागदौडका बारेमा त्यहाँका सुरक्षाकर्मीहरूलाई सतर्क गराउने काम गर्नेछ । यस्तै यी क्यामेराको सहायतामा अपराधीहरूलाई ट्राक गर्न सकिने बताइएको छ । 

यसबाहेक महाकुम्भ मेलामा अन्य सेवाका लागि पनि एआईको प्रयोग गरिएको छ । महाकुम्भ मेलामा हरेक दिन पाँच लाख भन्दा बढी सवारीसाधन पार्किङ हुनेभएकाे एआईले नै ती सवारीसाधनको निगरानी गरिरहेको छ । 

यस्तै, मेलामा घुम्न आउने व्यक्तिहरूका प्रश्नको विभिन्न ११ भाषामा जवाफ दिने एआई च्याटबटको प्रयोग गरिएको छ। यस्तै मेलामा हुने ढलको शुद्धीकरणका लागि उच्च प्रविधिको प्लान्टसमेत राखिएको छ ।

पछिल्लो अध्यावधिक: माघ २, २०८१ १९:३९