close

टिकटक कम्पनी किन्ने सोचमा मिस्टर बिस्ट, लगानीकर्तासँग थाले संवाद

टेकपाना टेकपाना

माघ ३, २०८१ १२:४०

टिकटक कम्पनी किन्ने सोचमा मिस्टर बिस्ट, लगानीकर्तासँग थाले संवाद

काठमाडौं । अमेरिकामा टिकटक प्रतिबन्ध हुनबाट जोगाउन चर्चित युट्युबर मिस्ट विस्ट ((जिम्मी डोनाल्डसन) ले खरिद प्रस्ताव गरेका छन् । हालै सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले टिकटक खरिदका लागि अर्बपति लगानीकर्ताहरूसँग सम्पर्कमा रहेको खुलासा गरेका छन् ।​

टिकटकको अमेरिकी भविष्य अनिश्चित देखिँदा मिस्ट विस्टले प्रतिबन्धबाट जोगाउन यस्तो प्रयास थालेका हुन् । ३० करोड बढी युट्युब सब्सक्राइबर रहेका उनले एक्समा लेखेका छन्, “ठीक छ, म टिकटक किन्छु ताकि यो प्रतिबन्धित नहोस् ।” केही  घण्टापछि उनले फेरि लेखे, “यो गम्भीर हो, मैले धेरै अर्बपतिहरूसँग यसबारे कुरा गरेको छु । हेरौं के गर्न सकिन्छ ।”

Okay fine, I’ll buy Tik Tok so it doesn’t get banned

— MrBeast (@MrBeast) January 14, 2025

यदि चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी कम्पनीलाई टिकटक बिक्री नगरे आगामी आइतबारदेखि अमेरिकामा टिकटक सेवा बन्द हुनेछ । ​चीनले टेस्लाका अर्बपति एलन मस्कलाई टिकटक बेच्ने गोप्य वार्ता गरिरहेको समाचार पनि सार्वजनिक भएको छ । ​ 

अमेरिकामा टिकटक प्रतिबन्धको मिति नजिकिँदै गर्दा चीनले वैकल्पिक उपाय खोजिरहेको छ । त्यसैले टेस्लाका प्रमुख एलन मस्कलाई टिकटक बेच्ने विषयमा चीनले गोप्य वार्ता गरिरहेको अफवाह फैलिएको छ । यदि मस्कले टिकटकको अमेरिकी अपरेसन किनेमा यसले उनको सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर) लाई ठूलो प्रयोगकर्ता आधार र डेटा प्रदान गर्नेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्ष अप्रिलमा टिकटकको चिनियाँ कम्पनी बाइटडान्सलाई १९ जनवरी २०२५ सम्ममा आफ्नो सम्पत्ति बेच्न निर्देशन दिएका थिए । अन्यथा देशव्यापी प्रतिबन्ध लगाउने निर्णय गरेका थिए ।

टिकटकले यो प्रतिबन्ध अमेरिकी नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको उल्लङ्घन भएको तर्क गरेको छ । तर राष्ट्रिय सुरक्षा चिन्ताका कारण सर्वोच्च अदालतले यो प्रतिबन्धलाई कायम राख्ने सम्भावना देखिएको छ ।

अगामी २० जनवरीमा पदभार ग्रहण गर्ने राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले टिकटक प्रतिबन्धको म्याद थप गर्नुपर्ने बताएका छन् । यसबाट देखिन्छ कि मस्कद्वारा टिकटकको सम्भावित अधिग्रहणले अमेरिका र चीनबीचको सम्बन्धलाई नयाँ मोड दिन सक्छ ।

यो पनि पढ्नुहोस्: के टिकटक किन्दैछन् एलन मस्क ?

पछिल्लो अध्यावधिक: माघ ३, २०८१ १३:५