काठमाडौं । ब्रेकअपपछि पूर्वप्रेमिकाको अश्लील फोटो तथा भिडिओ बहिनीलाई पठाएर चरित्रहत्या गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको षडानन्द गाउँपालिका-५ घर भई काठमाडौंको बौद्ध बस्दै आएका ३१ वर्षीय सरोज कटुवाल रहेका छन् ।
साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार कटुवाललाई पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
कटुवालले प्रेम सम्बन्धमा रहँदा पीडित युवतीको सहमति तथा जानकारीबिना अश्लील फोटो र भिडिओ खिची, पछि ती सामग्री युवतीको बहिनीलाई पठाएको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो । त्यसैका आधारमा उनी सोमबार पक्राउ परेका हुन् ।
यसैगरी, फेसबुकबाट चिनजान भई प्रेम सम्बन्धमा रहेका र सम्बन्ध बिग्रिएपछि पुराना फोटो र भिडिओ युवतीको परिवारलाई पठाएर चरित्रहत्या गरेको आरोपमा अर्का युवक पनि पक्राउ परेका छन् । रामेछापको खाँडादेवी गाउँपालिका-८ घर भई हाल काठमाडौं महानगरपालिका-१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्कीलाई आइतबार पक्राउ गरिएको हो ।
दुवै विरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ ।