काठमाडौं । तपाईं बाटोमा भेटिएका कुनै व्यक्तिसँग सामान्य कुराकानी गरिरहनु भएको छ र पछि त्यो कुराकानी कसैले सुटुक्कै लाइभ गरेर सामाजिक सञ्जालमा भाइरल गराइदिएको थाहा पाउनुभयो भने के गर्नुहुन्छ ? आफूलाई सामाजिक अभियन्ताका रूपमा प्रस्तुत गर्दै आएकी आशिका तामाङले चस्माबाट भिडिओ खिच्ने र लाइभ गर्ने गरेको खुलासा भएपछि व्यक्तिगत गोपनीयताका कुराका विषयमा बहस सिर्जना भएको छ ।
गत पुस १६ गते तामाङको १५ लाखभन्दा बढी फलोअर्स भएको फेसबुक पेजमा तीन मिनेट ३४ सेकेन्ड लामो भिडिओ सार्वजनिक भएको छ । जहाँ उनले चिया बेच्ने महिलासँग कुराकानी गरेको देखिन्छ । यो भिडिओ आशिकाले चस्माबाट खिचेको प्रष्ट हुन्छ । ती महिलालाई आशिकाले भिडिओ खिचिरहेको विषयमा जानकारी हुँदैन । उनीसँग चिया किनेर पिउँदै आशिकाले उनको व्यक्तिगत जीवनको बारेमा सोध्छिन्, जुन उनको चस्मामा कैद भइरहेका छन् ।
पछि उनी सोही भिडिओ महिलाको पहिचान खुलाउँदै सार्वजनिक गर्छिन् । सो भिडिओ हालसम्म करिब ६ लाख पटक हेरिएको छ । यस्तै यो फोटोमा २४ हजार लाइक र पाँच सय ४५ कमेन्ट गरिएका छन् ।
यति मात्र होइन, पशुपति विकास कोषका कर्मचारीसँगको वादविवादको भिडिओ पनि उनले आफ्नो चस्मामा जडित क्यामेराबाटै खिचेर सार्वजनिक गरेकी हुन् । कोषका तिनै कर्मचारीलाई अभद्र व्यवहार गरेको कसुरमा बुधबार आशिका पक्राउ परिन् । स्वयम्भू प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि पनि आशिकाले फेसबुक पेजमा लाइभ गरेकी थिइन् । त्यहाँ लाइभ गरेको विषयमा पनि भिडिओमा उपस्थित भएका व्यक्तिलाई जानकारी भएको देखिँदैन ।
पक्राउ परेको समयमा तामाङले लाइभ गरेको विषय प्रहरीलाई थाहा नभएको प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरिक्षक (डीएसपी) शुकदेव खनालले बताए । “चस्माबाट भिडिओ खिच्ने गरेको रहेछ । गाडीमा चढेपछि थाहा पाएर निकालेर राखियो । अचेल त चस्मा, घडी, फूलीबाट पनि भिडिओ खिच्ने, लाइभ गर्न मिल्ने रहेछ” उनले टेकपानासँग भने ।
व्यक्तिको अनुमतिबिना फोटो खिच्नु नागरिक स्वतन्त्रताको दुरूपयोग भएको उनले बताए । “अनुमतिबिना कानुनले नै फोटो खिच्न नमिल्ने भनेको छ । त्यस्तो गर्न पाइँदैन,” उनले भने ।
अधिवक्ता सन्तोष सिग्देल पनि व्यक्तिको अनुमति र सहमतिबिना फोटो र भिडिओ खिच्नु र सार्वजनिक गर्ने विषय कानुनसम्मत नभएको बताउँछन् । उनले भने, “आशिका तामाङको विषयमा मलाई विस्तृतमा जानकारी छैन तर फोटो, भिडिओ खिच्नुअघि अनुमति लिनुपर्छ ।”
अधिवक्ता सिग्देलका अनुसार कुनै व्यक्तिलाई थाहा नदिई फोटो, भिडिओ खिच्नु वा लाइभ गर्नु कानुन विपरीत हो । यस विषयमा वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ आकर्षित हुने उनले बताए । ऐनमा बिना अनुमति फोटो खिच्न नपाइने व्यवस्था उल्लेख छ। यस्तै, मुलुकी अपराध संहिता, २०७४ मा पनि अनुमतिबिना तस्बिर खिच्न नपाइने व्यवस्था भएको उनले बताए ।
तर कतिपयले आशिकाले सामाजिक सरोकारका विषय उठाएको भन्दै बचाउ गरेका छन् ।