काठमाडौं । अर्थ मन्त्रालयले पूर्ण रूपमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) लागू गरेको छ । बुधबार राजस्व सचिव दिनेश कुमार घिमिरेले मन्त्रालयमा आयोजित एक कार्यक्रममा यो प्रणालीको आरम्भ गरे ।
यस प्रणालीले मन्त्रालयका सबै कामलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउने बताइएको छ । यसअघि कागजी प्रक्रिया र हस्ताक्षरका कारण कार्य सम्पादनमा समय लाग्ने गरेकामा अब चिठी पत्रहरू अनलाइन पोर्टलमार्फत आदानप्रदान हुनेछ । यो प्रणालीमा डिजिटल सिग्नेचर एकीकृत हुने भएकाले पुन: प्रिन्ट गर्नुपर्ने झन्झट हुँदैन ।
मन्त्रालयका अनुसार विद्युतीय माध्यमबाटै आदेश र टिप्पणी, चिठी दर्ता, चलानी, हाजिरी, काज स्वीकृति, अभिलेख व्यवस्थापन लगायतका कार्य हुनेछ । साथै दर्ता नम्बरको आधारमा फाइल ट्रयाक गर्न तथा क्यूआर कोड स्क्यान गरेर पत्रको प्रामाणिकता पुष्टि गर्न सकिनेछ जनाइएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत सूचना प्रविधि विभागको सहयोगमा यो प्रणाली विकास गरेको हो । अहिले सिंहदरबारभित्रका मन्त्रालयहरू र अन्य सरकारी निकायहरू पनि क्रमशः यो प्रणालीमा समावेश भइरहेका छन् ।
यसैबीच, अर्थ मन्त्रालयको नयाँ वेबसाइट समेत सार्वजनिक भएको छ । सबै सरकारी निकायका वेबसाइटहरूबीच एकरूपता कायम गर्न सूचना प्रविधि विभागले ल्याएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली अनुरूप नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।