close

टिकटक प्रतिबन्धको निर्णयबाट पछि हटे बाइडेन, ट्रम्प के गर्लान् ?

टेकपाना टेकपाना

माघ ४, २०८१ १७:१६

टिकटक प्रतिबन्धको निर्णयबाट पछि हटे बाइडेन, ट्रम्प के गर्लान् ?

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन टिकटकमाथि प्रतिबन्ध लागू गर्ने कदमबाट पछि हटेका छन् । अमेरिकामा आगामी आइतबार टिकटक प्रतिबन्ध हुन लागेको चर्चाबीच बाइडेनले तत्काल कुनै कारबाही नबढाउने निर्णय गरेका हुन् ।

ह्वाइट हाउसका एक अधिकारीले एबीसी न्युजसँग भने, "हामीले यो प्रतिबन्ध कार्यान्वयन गर्ने जिम्मा आगामी (ट्रम्प) प्रशासन लाई छोडेका छौं ।" 

समाचार अनुसार, बाइडेनले सत्ता छाड्नुअघि कुनै कानुन लाद्ने चाहना राखेका छैनन् । यसो हुँदा टिकटक आइतबार नै ब्यान्ड नहुने भएको हो । तर त्यहाँको न्यायिक विभागलाई प्रति प्रयोगकर्ता पाँच हजार डलरसम्म जरिवाना तिराउन सक्ने अधिकार रहेको छ । 

अमेरिकामा टिकटकका १७ करोड बढी सक्रिय प्रयोगकर्ता छन् । त्यहाँको सरकारले टिकटक राष्ट्रिय सुरक्षाका लागि खतराको विषय भन्दै प्रतिबन्ध गर्न खोजेको छ । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक अमेरिकी कम्पनीलाई बिक्री गरे मात्र प्रतिबन्ध नगरिने जनाइएको छ । 

यता तत्काल बाइडेन सरकारले टिकटकलाई प्रतिबन्ध नगर्ने भएपछि यसको जिम्मेवारी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारलाई जानेछ । ट्रम्पले जनवरी २० अर्थात् आउँदो सोमबार पदभार ग्रहण गर्दैछन् । 

अमेरिकी राष्ट्रपतिले चाहेमा एक पटकका लागि टिकटक प्रतिबन्धको समय ९० दिनसम्म थप्न सक्छन् । तर त्यसका लागि चिनियाँ कम्पनीले आफ्नो स्वामित्व अमेरिकी कम्पनीलाई दिने प्रक्रियामा रहेको प्रमाण पेस गर्नुपर्नेछ ।

टिकटक प्रतिबन्ध हुने हल्लाबीच विश्वकै धनाढ्य एलन मस्कदेखि युट्युबर मिस्टर बिस्टसम्मले अमेरिकामा टिकटकको स्वामित्व खरिद गर्न चासो देखाएका छन् । 

पछिल्लो अध्यावधिक: माघ ४, २०८१ १७:३१