काठमाडौं । इन्स्टाग्रामले आफ्नो प्लेटफर्ममा एउटा नयाँ फिचर थप्ने भएको छ । प्रयोगकर्तालाई उनीहरूका साथीले मन पराएका र कमेन्ट गरेका रिल्स भिडिओ देखाउन कम्पनीले नयाँ फिचर ल्याउने भएको हो ।
इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले एक भिडिओ सन्देशमार्फत यस फिचरको जानकारी दिएका छन् । उनका अनुसार इन्स्टाग्राममा चाँडै नै नयाँ ट्याब थपिनेछ । उक्त ट्याबमा गएपछि प्रयोगकर्ताले आफ्ना साथीहरूले लाइक र कमेन्ट गरेका रिल्स देख्न सक्छन् ।
यो फिचर सन् २०१९ मा हटाइएको पुरानो ‘एक्टिभिटी’ फिड जस्तै हुने बताइएको छ । मोसेरीका अनुसार इन्स्टाग्रामलाई मनोरञ्जनात्मक सामग्री उपभोग गर्ने मात्र नभई साथीहरूसँग जोड्ने ठाउँ बनाउन यो फिचर ल्याइएको हो । नयाँ फिडमा प्रयोगकर्ताले कुन साथीले पोस्ट मन पराए र कसले रिलमा अस्थायी ‘नोट’ छोडेका छन् भन्ने पनि देख्न सक्नेछन् ।
यद्यपि यो फिचरले केही प्रयोगकर्ताहरूलाई असहज महसुस गराउन सक्छ । धेरै प्रयोगकर्ताले आफ्ना साथीले आफूले मन पराएका सबै रिल्स भिडिओ नदेखुन् भन्ने नचाहन सक्छन् । यसले गर्दा प्रयोगकर्ताले सार्वजनिक रूपमा सामग्रीसँग संलग्न हुन हिच्किचाउन सक्छन् ।
यसबाहेक साथी भएका कारण सबैको रुचि र शोख मिल्छ भन्ने हुँदैन । धेरै प्रयोगकर्ताका लागि टिकटकको हाइपर-पर्सनलाइज्ड अनुभव नै यसको मुख्य आकर्षण हो ।
यसअघि एलन मस्कको सामाजिक सञ्जाल एक्स जस्ता प्लेटफर्महरूले प्रयोगकर्ताहरूको मन पराइएका पोस्टहरू लुकाउने निर्णय गरेका थिए । विशेषगरी प्रयोगकर्ताले लाजमर्दो किसिमका पोस्ट लाइक गर्दा अर्को व्यक्तिलाई थाहा हुने अवस्था थियो । तर, एलन मस्कले पछि उक्त फिचर जसले चाहन्छन् उसले मात्र अन गर्न सकिने बनाए ।
मेटाले भने यो नयाँ रिल्स फिडमा प्रयोगकर्तालाई आफ्नो गतिविधि देखाउने वा नदेखाउने विकल्प दिने वा नदिने भन्ने बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।
यदि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाइयो भने इन्स्टाग्रामलाई फाइदा हुने देखिन्छ । रिल्स इन्स्टाग्रामले टिकटकसँग प्रतिस्पर्धा गर्न ल्याएको फिचर हो । तर धेरै प्रयोगकर्ता र कन्टेन्ट क्रियटरले रिल्सको वातावरण टिकटकको जस्तो नभएको बताउँछन् । यो नयाँ फिचरले केही प्रयोगकर्तालाई रिल्स फिडमा आकर्षित गर्न सक्ने भए तापनि यसले धेरै प्रयोगकर्ताहरूलाई आफ्नो रुचि सार्वजनिक गर्नबाट निरुत्साहित गर्न सक्ने देखिन्छ ।