close

टिकटक र क्यापकटसँगै बाइटडान्सका ११ एपमाथि अमेरिकामा प्रतिबन्ध

टेकपाना टेकपाना

माघ ६, २०८१ १५:३४

टिकटक र क्यापकटसँगै बाइटडान्सका ११ एपमाथि अमेरिकामा प्रतिबन्ध

काठमाडौं । अमेरिकामा हालै लागू भएको नयाँ कानुन अनुसार टिकटक, क्यापकट, मार्वल स्न्याप लगायतका ११ ओटा एपहरू बन्द भएका छन् । एप्पलले एक विज्ञप्ति जारी गर्दै बाइटडान्स कम्पनीले विकास गरेका एप एपस्टोरबाट हटाएको जानकारी दिएको हो । 

एप्पलका अनुसार अबदेखि अमेरिकी एपस्टोरमा बाइटडान्सका एपहरू डाउनलोड गर्न वा अपडेट गर्न सकिने छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले यो कानुन कार्यान्वयन गर्ने जिम्मा ट्रम्प प्रशासनलाई दिएको थियो । तर, टिकटकले सर्वोच्च अदालतमा गरेको अपील असफल भएपछि यो कानुन यसै सातादेखि लागू भएको छ ।

एप्पलले आफ्नो आधिकारिक सपोर्ट पेजमा लेखेको छ, “हामी जहाँ काम गर्छौं, त्यहाँको कानुन मान्न बाध्य छौं । 'प्रोटेक्टिङ अमेरिकन्स फ्रम फरेन एडभर्सरी कन्ट्रोल्ड एप्लिकेसन एक्ट' अनुसार बाइटडान्स लिमिटेड र यसका सहायक कम्पनीहरूद्वारा विकास गरिएका टिकटक, क्यापकट, लेमन८ लगायतका एपहरू अब अमेरिकामा १९ जनवरी २०२५ देखि एप स्टोरमा डाउनलोड वा अपडेट गर्न पाइने छैन ।”

यसअघि नै डाउनलोड गरिसकेका प्रयोगकर्ताले यी एपहरू चलाउन पाउनेछन् । तर, नयाँ एप डाउनलोड गर्न वा पुन: इन्स्टल गर्न पाइने छैन । साथै, एपभित्र गरिने कुनै पनि खरिद वा मेम्बरशिप पनि उपलब्ध हुने छैन । तर, प्रयोगकर्ताले आफ्नो मेम्बरशिप भने रद्द गर्न सक्नेछन् । 

डिभाइसमा पहिले नै इन्स्टल भएका बाइटडान्सका एपमा केही असर नपर्ने बताइएको छ । तर, यता कम्पनीले भने अमेरिकी कानुन पालना गर्दै औपचारिक घोषणा हुनु अगावै आफ्ना प्लेटफर्मलाई डाउन गरिसकेको छ । अर्थात् इन्स्टल भइसकेका बाइटडान्सका एप पनि चलेका छैनन् । 

यसैगरी अन्य देशबाट अमेरिका भ्रमणमा आएका मानिसले पनि अमेरिकामा रहँदा यी एपहरू डाउनलोड वा अपडेट गर्न सक्ने छैनन् । एप्पलले बाइटडान्ससँग सम्बन्धित एपहरूको सूची पनि सार्वजनिक गरेको छ । यसमा टिकटक, टिकटक स्टुडियो, टिकटक शप सेलर सेन्टर, क्यापकट, लेमन एट, हाइपिक, लार्क-टिम कोलाबोरेसन, लार्क-रुम्स डिस्प्ले, लार्क रुम्स कन्ट्रोलर, गाउथ: एआई स्टडी कम्प्यानियन र मार्वल स्न्याप रहेका छन् ।

यस कानुनको विरोधमा टिकटकले एप्पल र गुगल जस्ता कम्पनीलाई कानुनी चुनौती दिन सक्ने बताएको थियो । तर, ह्वाइट हाउसले टिकटकको प्रतिक्रियालाई ‘स्टन्ट’ भनेको छ ।

कानुनमा परिवर्तन नभएसम्म यसको पालना गरिने एप्पलले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । गुगलले पनि यस्तै कदम चाल्ने देखिएको छ । तर, गुगल, एप्पल र टिकटकले यस विषयमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई थप प्रतिक्रिया दिएका छैनन् ।

पछिल्लो अध्यावधिक: माघ ६, २०८१ १६:११