close

अमेरिकामा टिकटक नचलेपछि प्रयोगकर्तालाई शर्ट्स अपलोड गर्न सिकाउँदै युट्युब

टेकपाना टेकपाना

माघ ६, २०८१ २३:९

अमेरिकामा टिकटक नचलेपछि प्रयोगकर्तालाई शर्ट्स अपलोड गर्न सिकाउँदै युट्युब

काठमाडौं । गुगलको स्वामित्वमा रहेको युट्युबले प्रयोगकर्तलाई आफ्नो प्लटेफर्ममा मोबाइलबाट शर्ट्स भिडिओ अपलोड गर्ने तरिका सिकाउन थालेको छ । सामाजिक सञ्जालका विभिन्न माध्यममा पोस्ट राख्दै युट्युबलेले भिडिओ अपलोड गर्न सिकाइरहेको हो । 

तीन करोड ११ लाख बढी फलोअर भएको युट्युबको आधिकारिक इन्स्टाग्राम अकाउन्टको स्टोरीमा शर्ट्स अपलोड गर्न सिकाइएको छ । 

युट्युबमा शर्ट्स अपलोड गर्नका लागि सबैभन्दा पहिले युट्युब एप खोल्नुपर्ने हुन्छ । त्यसपछि तलपट्टि बीचमा भएको प्लस आइकन ट्याप गर्नुपर्छ । अनि क्रियट अ शर्ट्स अप्सन छानेर त्यहीँबाट भिडिओ रेकर्ड गर्न वा पहिले भएको भिडिओ अपलोड गर्न सकिन्छ । त्यसमा बढीमा तीन मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिन्छ ।

अपलोडपछि आवश्यकता अनुसार इफेक्ट वा फिल्टर प्रयोग गर्न सकिन्छ । त्यसपछि दायाँपट्टि रहेको टिक आइकन ट्याप गर्नुपर्छ । यति गरेपछि टाइटल राख्नुपर्छ । र, माथि दायाँपट्टि रहेको ‘अपलोड’ बटनमा ट्याप गरी भिडिओ अपलोड गर्न सकिन्छ । 

शनिबार रातिदेखि नै अमेरिकामा टिकटक डाउन भइसकेको छ । टिकटकले आफ्नो अमेरिकी स्वामित्व स्थानीय व्यक्ति वा कम्पनीलाई बिक्री गर्नुपर्ने वा प्रतिबन्धको सामना गर्नुपर्ने कानुन आइतबारदेखि कार्यान्वयनमा आएको छ । तर, त्यसअघि नै कम्पनीले आफ्नो प्लेटफर्म डाउन गरी प्रयोगकर्तालाई एप उपलब्ध नहुने जानकारी दिन थालेको थियो । 

यसैलाई लक्षित गर्दै अमेरिकी कम्पनी गुगल र मेटाले टिकटकका प्रयोगकर्ता आफ्नो प्लेटफर्ममा ल्याउन लागिपरेका छन् । छोटा भिडिओ अपलोड गर्ने प्लेटफर्मका रूपमा टिकटकले चर्चा पाएपछि गुगल र मेटाले त्यसैको सिको गर्दै आफ्ना प्लेटफर्ममा उक्त फिचर उपलब्ध गराएका थिए । तर, जसरी प्रयोगकर्ता टिकटकमा आकर्षित भइरहेका थिए, त्यसरी मेटा र गुगलका प्लेटफर्ममा आकर्षित भइरहेका थिएनन् । यद्यपि टिकटक प्रतिबन्ध लागेका भारत लगायतका देशमा भने टिकटककै सिको गरेको युट्युब शर्ट्स र इन्स्टा तथा फेसबुक रिल्स बढी लोकप्रिय छन् । 

अहिले अमेरिकामा टिकटकका १७ करोड बढी सक्रिय प्रयोगकर्ता छन् । तिनै प्रयोगकर्तालाई आफ्नो प्लेटफर्ममा आकर्षित गर्न मेटा र गुगल विभिन्न रणनीति अपनाइरहेका छन् । 

टिकटक प्रतिबन्ध लगाउने जिम्मा ट्रम्प प्रशासनमा आइपुगेको छ । सोमबार ट्रम्प नयाँ राष्ट्रपतिको रूपमा आफ्नो कार्यकाल औपचारिक रूपमा लिँदैछन् । भोलि नै अमेरिकामा टिकटक लगायत बाइटडान्सको स्वामित्वमा रहेका अन्य प्रतिबन्धित एप खुल्न सक्ने सम्भावना रहेको छ ।

पछिल्लो अध्यावधिक: माघ ७, २०८१ १०:५०