close

चिफ बिजनेस अफिसरको रूपमा एनसेलमा जागिरको मौका, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

माघ ७, २०८१ १२:६

चिफ बिजनेस अफिसरको रूपमा एनसेलमा जागिरको मौका, यसरी दिनुहोस् आवेदन

काठमाडौं । दूरसञ्चार क्षेत्रको निजी कम्पनी एनसेलले प्रमुख व्यावसायिक अधिकृत-सीबीओ (Chief Business Officer) पदका लागि आवेदन माग गरेको छ । हालै एक सूचना राख्दै कम्पनीले सीबीओका लागि आवेदन मागेको हो ।

प्रमुख व्यावसायिक अधिकृतले संस्थाको समग्र व्यावसायिक कार्यको नेतृत्व गर्नेछन् । यस पदमा रहेर व्यावसायिक वृद्धि, ग्राहक सम्बन्ध सुधार र ठुला कर्पोरेट ग्राहक, सरकारी निकाय र अन्य व्यावसायिक ग्राहकका लागि रणनीतिक योजना विकास गर्ने काम गर्नुपर्ने हुन्छ । 

यसका साथै फिनटेक उत्पादनको विकास र व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने हुन्छ । उक्त पदका लागि नाफा-नोक्सान व्यवस्थापन, समाधान विकास र उत्पादन रणनीति, साझेदारी व्यवस्थापन, सेल्स लिडरशिप र व्यवसाय विकास, ग्राहक सम्बन्ध व्यवस्थापन, बजार विश्लेषण र प्रतिस्पर्धी जानकारी, अन्य विभागसँग सहकार्य र नवीन तथा डिजिटल परिवर्तन जस्ता जिम्मेवारी तोकिएका छन् ।

उम्मेदवारले व्यावसायिक इकाईको समग्र नाफा र वित्तीय प्रदर्शनको जिम्मेवारी लिँदै बजेट व्यवस्थापन, वित्तीय लक्ष्य निर्धारण र राजस्व लक्ष्य हासिल गर्नुपर्नेछ । साथै साना तथा मझौला उद्यम र ठुला ग्राहकका लागि नयाँ समाधान र प्रस्तावको विकास गर्नु पर्नेछ । आईटी इन्टिग्रेट सोलुसन, डेटा सेन्टर सेवा, इन्टरनेट सेवा र अन्य व्यावसायिक उत्पादन सिर्जना गर्न उत्पादन टोलीसँग सहकार्य गर्नुपर्नेछ ।

योग्यताको हकमा इन्जिनियरिङमा स्नातक र व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । यसका लागि आईसीटी र दूरसञ्चार उद्योगमा कम्तीमा २० वर्षको अनुभव हुनुपर्नेछ, जसमा १० वर्ष नेतृत्व तहमा नाफा-नोक्सान व्यवस्थापनको अनुभव भएको हुनुपर्ने कम्पनीले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय अनुभवलाई थप योग्यताको रूपमा लिइने कम्पनीले जनाएको छ । 

इच्छुक उम्मेदवारमा नेतृत्व क्षमता, बिक्री रणनीति, वार्तालाप र सम्झौता बन्द गर्ने क्षमता, रणनीतिक सोच, नेटवर्क निर्माण, वित्तीय व्यवस्थापनको ज्ञान, दूरसञ्चार, आईटी सोलुसन, डेटा सेन्टर सेवा र इन्टरनेट प्रविधिको राम्रो ज्ञान हुनु आवश्यक छ ।

उक्त पदका लागि छनौट भएका उम्मेदवारले काठमाडौंमा रहेर काम गर्नुपर्नेछ । संस्थाले अन्तर्राष्ट्रिय कार्य वातावरण, बलियो कार्यसम्पादन व्यवस्थापन प्रक्रिया, आन्तरिक अवसरहरू, तालिम, सञ्चार सुविधा लगायतका सेवा दिने जनाएको छ । योग्यता पुगेका व्यक्तिले शुक्रबारसम्म यहाँ क्लिक गरेर आवेदन दिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: माघ ७, २०८१ १२:७