close

युट्युबमा १० करोड भ्युज पाउने पहिलो लोक दोहोरी बन्ने दौडमा अरेली काँडै र सालको पातको टपरी

टेकपाना टेकपाना

माघ ७, २०८१ १५:२२

युट्युबमा १० करोड भ्युज पाउने पहिलो लोक दोहोरी बन्ने दौडमा अरेली काँडै र सालको पातको टपरी

काठमाडौं । नेपाली लोक दोहोरी सङ्गीत क्षेत्रमा अहिलेसम्म कुनै पनि भिडिओले युट्युबमा १० करोड भ्युज पाउन सकेका छैनन् । त्यसैको दोडमा छन्, दुई नेपाली लोक दोहोरी गीत ‘सालको पात टपरी’ र ‘अरेली काँडैले मलाई च्वास्सै’ ।

यी दुई म्युजिक भिडिओ कसले सबैभन्दा पहिले १० करोड भ्युजको आँकडा पार गर्ने भन्ने प्रतिस्पर्धा छन् । सालको पात टपरी वसन्त थापाको युट्युब च्यानलबाट २०१८ मा सार्वजनिक भएको थियो । कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वरमा रहेको यस गीतले समाचार तयार पार्दासम्म नौ करोड ९० लाख १८ हजार बढी भ्युज बटुलेको छ । 

त्यस्तै १० करोड भ्युज पाउने पहिलो लोक दोहोरी गीत बन्ने दौडमा रहेको अर्को दोहोरी गीत ‘अरेली काँडैले मलाई च्वास्सै’ २०२४ मा शान्तिश्री परियारको युट्युब च्यानलबाट अपलोड भएको थियो । नेत्र अर्यालले लेखेको यस गीतमा शान्तिश्री परियारको एकल आवाज छ । यो समाचार तयार पार्दासम्म यस गीतमा नौ करोड ९० लाख १९ हजार बढी भ्युज आएको छ । 

यी दुवै लोक गीतको प्राविधिक पक्ष राजेन्द्र अर्यालले हेरेका हुन् । “लोक सङ्गीत क्षेत्रमा यी दुवै १० करोड भ्युज पाउने गीत बन्दै छन्,” टेकपानासँगको कुराकानीमा अर्यालले भने, “१० करोड भ्युजको आँकडा जसले पार गरे पनि यो सफलता लोक सङ्गीत क्षेत्रको हो ।”

आफ्नो भिडिओलाई १० करोड क्लबमा पुर्‍याउन सम्बन्धित गीतका सर्जक लागि परेका छन् । “सालको पातको टपरी ९९ मिलियन प्लस पटक हेरिदिनु भएकोमा पुनः हार्दिक आभारी छौ,” फेसबुकमा सालको पात गीत शेयर गर्दै कुलेन्द्र विश्वकर्माले लेखेका छन्, “एक पटक शेयर पनि गरिदिनु होला ।”

विश्वकर्माका समर्थकले उक्त भिडिओ शेयर गरिरहेका छन् । कम्तीमा पनि अबको १० दिनमा यी दुई भिडिओ १० करोड क्लबमा पुग्न सक्ने अर्यालको अनुमान छ ।

त्यसो त नेपाली चलचित्रका म्युजिक भिडिओले भने २७ करोड बढी भ्युज पाएको रेकर्ड छ । दुई रुपैयाँ चलचित्रको कुटुमा कुटु गीतले सर्वाधिक २७ करोड बढी भ्युज पाएको छ । त्यस्तै माया लुकी लुकी, साली मन पर्‍यो, दुबो फुल्यो, पिरिम नलाउने, कसरी कसरी, फुल बुट्टे सारी, माया बिरानी १० करोड बढी भ्युज पाउने नेपाली म्युजिक भिडिओ हुन् ।

पछिल्लो अध्यावधिक: माघ ७, २०८१ १८:१४