close

दिल्लीमा प्रदर्शन गर्न रोक लगाइएको डकुमेन्ट्री ध्रुव राठीको युट्युब च्यानलमा

टेकपाना टेकपाना

माघ ७, २०८१ १७:६

दिल्लीमा प्रदर्शन गर्न रोक लगाइएको डकुमेन्ट्री ध्रुव राठीको युट्युब च्यानलमा

काठमाडौं । आफ्नो मुख्य युट्युब च्यानलमा डकुमेन्ट्री राखेका कारण भारतीय चर्चित युट्युबर ध्रुव राठी चर्चामा आएका छन् । ‘अनब्रेकेबल’ नाम दिइएको उक्त डकुमेन्ट्रीमा आम आदमी पार्टीका नेताहरूसँगको अन्तर्वार्ता राखिएको छ । 

राठीका अनुसार दिल्लीमा एक निजी कार्यक्रमबिच पत्रकारहरू माझ यो डकुमेन्ट्री स्क्रिनिङ गर्न लागिएको थियो । तर, यस डकुमेन्ट्रीलाई अनुमति बिना प्रदर्शन गर्न लागिएको भन्दै स्क्रिनिङ गर्न रोक लगाइएको थियो । 

त्यसपछि डकुमेन्ट्रीका डाइरेक्टरको अनुरोधमा आफूले डकुमेन्ट्री युट्युबमा राखेको राठीले बताएका छन् । यो भिडिओ राठीको दुई करोड ६० लाखभन्दा धेरै सब्सक्राइबर रहेको युट्युब च्यानलमा राखिएको छ । 

आफ्नो सुरक्षाको चिन्ता गर्दै डाइरेक्टरले भने आफ्नो परिचय खुलाएका छैनन् । यो भिडिओ रिलिज भएको १६ घण्टामा ५० लाखभन्दा बढी पटक हेरिएको छ । गत वर्ष आम आदमी पार्टीका शीर्ष नेताहरू एकै पटक पक्राउ परेका थिए । यो डकुमेन्ट्री पार्टीका नेताहरू किन पक्राउ परिरहेका छन् भन्ने विषयमा केन्द्रीत छ । 

३० मिनेट लामो डकुमेन्ट्रीमा पार्टीका सभापति अरविन्द केजरीवाल, दिल्लीका मुख्यमन्त्री अतिशी, नेताहरू सौरभ भारद्वाज, सञ्जय सिंह लगायतसँग कुराकानी गरिएको छ । सन् २०१२ मा स्थापित आम आदमी पार्टीले सन् २०२० को दिल्ली विधान सभा चुनावमा ७० मध्ये ६२ सिट जितेको थियो । त्यस्तै यस पटक फेब्रुअरी ५ मा दिल्ली विधान सभा चुनाव हुँदैछ । चुनाव नजिकिँदै गर्दा आम आदमी पार्टीले चुनाव हार्ने डरले  उक्त डकुमेन्ट्री ल्याएको भारतीय जनता पार्टीका नेताहरूले आरोप लगाएका छन् । 

 

पछिल्लो अध्यावधिक: माघ ७, २०८१ १७:४०