काठमाडौं । बिवाईडीले सन् २०२५ मा आउने सम्पूर्ण गाडीहरूमा स्मार्ट ड्राइभिङका लागि एनओए (नेभिगेट अन अटोपाइलट) फिचर उपलब्ध गराउने भएको छ । कम्पनीको सबैभन्दा सस्तोदेखि महँगा गाडीहरूमा पनि एलटु प्लसका फिचर उपलब्ध गराउन लागेको हो ।
चिनियाँ बजारमा ईभी गाडी बेचेर एक छत्र राज गरेको बीवाईडी एड्भान्स ड्राइभिङ-असिस्टेन्स सिस्टम (एडीएएस) तथा स्मार्ट ड्राइभिङका फिचरहरू राख्न भने पछाडि रहेको बताइन्छ । तर गाडीमा सफ्टवेयर राख्न कम्पनीले विगत दुई वर्षयता लगानी गर्दै आएकाले यस वर्ष भने स्मार्ट ड्राइभिङ फिचर आउने कार न्युज चाइनाले जनाएको छ ।
चीनमा ६८ हजार ९०० युआन (१३ लाख रुपैयाँ बढी) पर्ने बीवाईडी सिगुल जस्ता सस्ता गाडीदेखि एक लाख २० हजार युरो पर्ने बीवाईडी याङवाङ यू ८ सम्ममा यो फिचर उपलब्ध हुनेछ । यसका लागि सफ्टवेयर तयार पार्न कम्पनीले १३ सय भन्दा बढी व्यक्तिको टिम बनाएको छ । गत वर्ष कम्पनीले यस फिचरका लागि करिब १९ खर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो ।
कम्पनीको एडीएएस टोली सहरी स्मार्ट ड्राइभिङ (CNOA - City Navigate on Autopilot) र राजमार्ग स्मार्ट ड्राइभिङ (HNOA - Highway Navigate on Autopilot) को विकासमा केन्द्रित छ। बीवाईडीले २० लाख रुपैयाँ आसपासका कारमा ७ ओटा लङ रेन्ज क्यामेरासहित ११ ओटा क्यामरा राख्ने जनाइएको छ ।
यस्तै बाँकी चार ओटा भने वाडड-एङ्गलका पार्किङ क्यामेरा हुने छन् । कम्पनीले सन् २०२५ मा ५५ लाख गाडी बेच्ने अनुमान गरिएको छ ।