काठमाडौं । अंग्रेजी, नेपाली र तामाङ भाषाका लागि मेसिन ट्रान्सलेसन सिस्टम विकास हुने भएको छ । गुगलको प्रतिष्ठित एकेडेमिक रिसर्च अवार्ड (एआरए) को वित्तीय सहयोगमा काठमाडौं विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभागले यो परियोजना सुरु गरेको हो ।
यस सन्दर्भमा हालै सरोकारवालासँग छलफल गरिएको छ । विभागको इन्फर्मेसन एन्ड ल्याङ्वेज प्रोसेसिङ रिसर्च ल्याबको संयोजनमा ललितपुरस्थित काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा आयोजना गरिएको बैठकमा परियोजनाबारे विविध जानकारी दिइनुका साथै सरोकारले सल्लाह सुझाव दिए ।
परियोजनाका प्रमुख अनुसन्धानकर्ता प्राडा. बलकृष्ण बलले ट्राइलिङ्गुअल मेसिन ट्रान्सलेसन सिस्टमको महत्त्वबारे जानकारी दिंदै भने, “यो सिस्टमले भाषागत अवरोध हटाई नेपाली र तामाङ भाषी समुदायलाई इन्टरनेटमा उपलब्ध अंग्रेजी भाषाका ज्ञानहरू सहज रूपमा पहुँचयोग्य बनाउनेछ ।”
त्यस्तै अनुसन्धानकर्ता प्राडा. बलराम प्रसाईँका अनुसार यो परियोजनाले समुदाय र सरोकारवालालाई प्रत्यक्ष सहभागी बनाउँदै प्रविधिको स्वामित्व र स्वीकार्यता बढाउनेछ ।
बैठकमा प्राविधिक, समुदाय र सरकारी क्षेत्रका विभिन्न प्रतिनिधिहरूको सहभागिता थियो । उनीहरूले परियोजनाका लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनजस्ता क्षेत्रका समानान्तर र एकभाषीय पाठ संकलनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
एक वर्षसम्म चल्ने यो परियोजनाले नेपालका अन्य भाषाहरूलाई समेत समेट्न सक्ने मेसिन ट्रान्सलेसन प्रणालीको आधार तयार गर्ने लक्ष्य लिएको छ ।