close

आज राति आकाशमा ६ ग्रहले परेड खेल्दै, आउँदो महिना सातै ग्रह देखिने

टेकपाना टेकपाना

माघ ८, २०८१ १९:१८

आज राति आकाशमा ६ ग्रहले परेड खेल्दै, आउँदो महिना सातै ग्रह देखिने

काठमाडौं । आज अर्थात् जनवरी २१ मा आकाशमा ६ वटा ग्रहहरू एकैसाथ स्पष्ट रूपमा देखिने दुर्लभ अवसर मिलेको छ । यो खगोलीय घटनाले पृथ्वीबाट अद्भुत दृश्य प्रदान गर्नुका साथै सबै राशि चिन्हहरूमा ऊर्जावान प्रभाव पार्ने खगोलशास्त्रीहरूले बताएका छन् । उनीहरूका अनुसार मौसम सफा भए यो दृश्य पृथ्वीका लगभग सबै ठाउँबाट देख्न सकिनेछ ।

यसअन्तर्गत शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र बरुण ग्रह गरी सौर्यमण्डलका ६ ग्रहहरू रातको समयमा देखिने छ । जनवरी १८ देखि नै आकाशमा ग्रहहरूको परेड सुरु भएको थियो । 

यसैगरी फेब्रुअरी २८ को रातमा बुध, शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र बरुण गरी सौर्यमण्डलका सातै ग्रह एकैपटक देखिने भएको छ । यी ग्रहहरू सिधा पङ्क्तिबद्ध नभइ केही घुमाउरो रूपमा लामबद्ध रूपमा देखा पर्नेछन् ।  

उज्याला ग्रहहरू बुध, शुक्र, मंगल, बृहस्पति र शनि ग्रहलाई नाङ्गो आँखाले नै हेर्न सकिनेछ । तर अरुण र बरुण ग्रह भने केही धमिलो देखिने भएकाले तिनीहरूलाई हेर्न टेलिस्कोप प्रयोग गर्नुपर्नेछ । पृथ्वीबाट ग्रहहरू फेब्रुअरीको अन्त्यसम्म देखिनेछन् । 

सौर्यमण्डलमा ग्रहहरूले समतल रूपमा सूर्यको परिक्रमा गरिरहेका हुन्छन् । तर सूर्यसँगको दुरीका कारण यसलाई एक पटक परिक्रमा गरिसक्न लाग्ने समय भने ग्रहअनुसार नै फरक पर्न जान्छ । बुध ग्रहले सूर्यको परिक्रमा पृथ्वीको ८८ दिनमा नै पूरा गर्छ भने बरुणलाई सूर्यको एक परिक्रमा पूरा गर्न पृथ्वीको १६५ वर्ष लाग्छ । कक्षमा आ-आफ्नै गतिमा घुमिरहने सबै ग्रहलाई पृथ्वीबाट एकैपटक देखिनु दुर्लभ मानिन्छ ।  





 

पछिल्लो अध्यावधिक: माघ ८, २०८१ १९:१८