close

६५० किलोमिटरको रेन्ज दिने बिजुली कार ‘आयन भी’ नेपाली बजारमा, मूल्य ७० लाख

टेकपाना टेकपाना

माघ ८, २०८१ २३:५

६५० किलोमिटरको रेन्ज दिने बिजुली कार ‘आयन भी’ नेपाली बजारमा, मूल्य ७० लाख

काठमाडौं । सीजी मोटर्सले नेपाली बजारमा जीएसी ब्रान्डको आयन भी (Aion V) मोडेल सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले यो बिजुली कार सार्वजनिक गरेको हो ।

कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाणकुमार चौधरीले आयन वाई भेरियन्टको सफलताबाट प्रेरित हुँदै अत्याधुनिक आयन भी सार्वजनिक गरेको बताए । उनले यो नयाँ गाडीले नेपालको ईभी बजारलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा आयनका एसियन क्षेत्रका कन्ट्री प्रबन्धक ड्यानियल चोउ, मार्केटिङ प्रबन्धक हान्न ताओ, उत्पादन प्रबन्धक प्याट्रिक यु र मार्केटिङ विशेषज्ञ भिक्टोरिया वाङको पनि उपस्थिति थियो ।

आयनले चीनमा गुणस्तरको हिसाबले नम्बर वन ईभी ब्रान्डको रूपमा आफ्नो पहिचान बनाएको छ । अत्याधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड र वातावरणमैत्री डिजाइनका कारण यो विश्वव्यापी रूपमा यस गाडीले बढी चर्चा पाएको छ ।

आयन भी दुई भेरियन्टमा उपलब्ध भएको छ । एलिट भेरियन्टले ६२.७ किलोवाट प्रतिघण्टाको ब्याट्री क्षमतासहित ५२० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । त्यस्तै लक्जरी भेरियन्टले ७५.३ किलोवाट प्रतिघण्टाको ब्याट्री क्षमतासहित ६५० किलोमिटरको रेन्ज दिने कम्पनीले उल्लेख गरेको छ ।

लक्जरी भेरियन्टमा चालक र सहचालकका लागि ८ पोइन्ट मसाज सिट र आर्मरेस्टमा इनबिल्ट फ्रिजको सुविधा छ । दुबै भेरियन्टमा १५ ओटा स्मार्ट ड्राइभिङ फङ्सन, ७ एयरब्याग र फाइभ-स्टार सुरक्षा मापदण्ड रहेको छ ।

कम्पनीले आयन भीको मूल्य एलिट भेरियन्टको ६४ लाख ९९ हजार र लक्जरी भेरियन्टको ६९ लाख ९९ हजार तोकेको छ । ग्राहकले थापाथलीस्थित शोरुममा गएर थप जानकारी लिन र टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

ग्राहक अनुभवलाई थप सहज बनाउन सीजी मोटर्सले सीजी केयर्स एप पनि सार्वजनिक गरेको छ । यस एपमार्फत २४ सै घण्टा रोड साइड असिस्टेन्स, सर्भिस सेन्टरको जानकारी, चार्जिङ स्टेसनको जानकारी लिन सकिने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले नेपालभर २१ भन्दा बढी अत्याधुनिक सेवा केन्द्र र २४० चार्जिङ स्टेसनमार्फत सेवा दिने जनाएको छ ।

पछिल्लो अध्यावधिक: माघ ९, २०८१ १६:४९