काठमाडौं । भारतको टेलिकम नियमनकारी संस्था (टीआरएआई) ले सिम कार्डको भ्यालिडिटी (मान्य अवधि) सम्बन्धी नयाँ नियम ल्याएको छ, जसले सिम रिचार्ज गर्न बिर्सने मोबाइल प्रयोगकर्ताहरूलाई ठुलो राहत प्रदान गर्नेछ । जियो, एयरटेल, भीआई र बीएसएनएलका सिम कार्डहरू बिना रिचार्ज लामो समयसम्म सक्रिय राख्न यस्तो नियम ल्याइएको हो ।
यससँगै प्रयोगकर्ताहरूलाई बारम्बार रिचार्ज गरी रहनु पर्ने बाध्यताबाट बचाउने र खर्च पनि कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । नियम अनुसार ९० दिनसम्म निष्क्रिय रहेका जियो, एयरटेल र भीआईका प्रिपेड सिम कार्डको ब्यालेन्सबाट २० रुपैयाँ काटिनेछ र थप ३० दिनको लागि भ्यालिडिटी थप हुनेछ । यदि उक्त रकम भुक्तानी गर्न ब्यालेन्स पर्याप्त नभएमा, सिम निष्क्रिय हुनेछ र फोन कल गर्न, प्राप्त गर्न वा इन्टरनेट चलाउन असम्भव बन्नेछ ।
९० दिनसम्म प्रयोग नभएको सेकेन्डरी सिमका लागि भने तत्काल चिन्ता लिई रहनु पर्दैन । किनभने यस्तो सिम पुनः एक्टिभेट गर्न १५ दिनको ग्रेस पिरियड हुन्छ । यो समयमा प्रयोगकर्ताहरूले ग्राहक सेवामा सम्पर्क गरेर अथवा कम्पनीको स्टोरमा पुगेर पुनः एक्टिभेसनका लागि लागि सहयोग लिन सक्छन् ।
यहाँ निर ध्यान दिनु पर्ने कुरा के छ भने एक पटक सिम निष्क्रिय भएपछि त्यससँग सम्बन्धित फोन नम्बर रिसाइकल गरिन्छ र नयाँ प्रयोगकर्ताहरूका लागि उपलब्ध हुन्छ । सरकारी स्वामित्वको बीएसएनएलले भने भारतमा सबैभन्दा लामो भ्यालिडिटी उपलब्ध गराइरहेको छ । बीएसएनएलको सिम कार्ड बिना रिचार्ज १६५ दिनसम्म सक्रिय रहन्छ, जुन बारम्बार रिचार्ज गर्न नचाहनेहरूका लागि सबैभन्दा उपयुक्त विकल्प हो ।
यो नयाँ नियमले सिम व्यवस्थापनलाई सरल बनाउनुका साथै रिचार्जलाई समेत प्रभावकारी बनाउनेछ । खासगरी साथमा कयौँ नम्बर बोक्ने र महँगा प्लान तथा प्याकेजले हैरान प्रयोगकर्तालाई यसले सहयोग पुर्याउनेछ ।
भारतको दूरसञ्चार विभागले एयरटेल, जियो, बीएसएनएल र भोडाफोन आइडिया जस्ता प्रमुख टेलिकम अपरेटरहरूलाई ढिलाई नगरी कलर नेम प्रिजेन्टेसन (सीएनएपी) सेवा तत्काल लागु गर्न निर्देशन दिएको छ । यो कदमले फेक कलहरू रोक्न र प्रापकको फोनमा कल गर्ने व्यक्तिको भेरिफाइड नाम देखाई प्रयोगकर्ताको सुरक्षा बढाउने विश्वास छ।