close

टेलिकमको डेटा सेन्टर बनाउने जिम्मा ह्वावेलाई, पायो ४८ करोडको ठेक्का

टेकपाना टेकपाना

माघ १०, २०८१ १३:२६

टेलिकमको डेटा सेन्टर बनाउने जिम्मा ह्वावेलाई, पायो ४८ करोडको ठेक्का

काठमाडौं । काठमाडौं र भैरहवामा निर्माण हुने नेपाल टेलिकमका दुई डेटा सेन्टरको पूर्वाधार आपूर्ति, स्थापना, परीक्षण र सञ्चालनको ठेक्का चिनियाँ कम्पनी ह्वावेले पाएको छ । हालै एक सूचना प्रकाशित गर्दै टेलिकमले यसबारे जानकारी दिएको हो ।

न्यूनतम मूल्यांकन गरिएको आर्थिक प्रस्तावका आधारमा ह्वावेसँग ठेक्का सम्झौता गर्न लागिएको टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । उनका अनुसार ह्वावेले ४८ करोड रुपैयाँ बढीको लागतमा दुवै ठाउँमा समान डिजाइनका डेटा सेन्टरका भौतिक पूर्वाधार निर्माण गर्नेछ ।

टेलिकमले डेटा सेन्टर निर्माणका लागि आवश्यक पर्ने सामग्री किन्न भ्याटसहित १७ करोड तीन लाख ५९ हजार रुपैयाँ, नेपालभित्र सेवा प्रदान गर्न २० करोड ११ लाख ९५ हजार रुपैयाँ र ढुवानी खर्च ६५ लाख ४८ हजार रुपैयाँ, विदेशी वस्तु खरिद गर्न सात लाख ३१ हजार अमेरिकी डलर र नेपाल बाहिरको सेवाका लागि साढे ३५ हजार अमेरिकी डलर खर्च गर्नेछ । 

प्रवक्ता ढकालका अनुसार ह्वावेले अबको ९ महिनाभित्रै पावर, सुरक्षा, कनेक्टिभिटी लगायतका सम्पूर्ण भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने छ । यसका लागि आगामी एक हप्ताभित्रै कम्पनीलाई सम्झौताको लागि बोलाउने उनले बताए ।

 

पछिल्लो अध्यावधिक: माघ १०, २०८१ १३:४५