काठमाडौं । सामसङले ग्यालेक्सी एस २५ र एस २५ प्लस स्मार्टफोन सार्वजनिक गरेको छ । बुधबार आयोजित ग्यालेक्सी अनप्याक्ड इभेन्ट २०२५ मा कम्पनीले आफ्नो एस २५ सिरिज अन्तर्गतका फ्ल्यागशिप फोन सार्वजनिक गरेको हो ।
यी फोनमा ग्यालेक्सी एआईको प्रयोग गरिएको छ । तर, डिजाइन र हार्डवेयरमा भने खासै परिवर्तन गरिएको छैन । ग्यालेक्सी एस २४ सिरिजको सफलतापछि एस २५ र एस २५ प्लसमा पनि त्यस्तै एआई फिचरहरू थपिएका छन् । यी फोनमा स्मार्ट एआई र केही सुधारिएको गति पाउन सकिनेछ । तर, नयाँ फोनमा एआई बाहेक अरू धेरै नयाँ फिचरहरू नभएको बताइएको छ ।
सामसङले ग्यालेक्सी एस २५ र एस २५ प्लसमा थोरै मात्र परिवर्तन गरेको छ । तर, एस २५ अल्ट्रामा केही नयाँ डिजाइन दिइएको छ । एस २५ सिरिजका फोनमा क्वालकमको स्न्यापड्रागन ८ जेन थ्री चिपसेट प्रयोग गरिएको छ । यो चिपसेटले फोनको वर्क इफिसियन्सीलाई झनै बढाउने कम्पनीले जनाएको छ । साथै सबै एस २५ फोनमा १२ जीबी र्याम स्ट्यान्डर्ड राखिएको छ ।
फोनको डिस्प्ले भने एस २४ सिरिजकै जस्तो छ । एस २५ मा ६.२ इन्च र एस२५ प्लसमा ६.७ इन्चको डिस्प्ले रहेको छ । दुवै फोनमा २६०० निट्सको अधिकतम ब्राइटनेस र १२० हर्ज रिफ्रेस रेट छ । क्यामेरा पनि एस २४ कै जस्तो छ । यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, अल्ट्रावाइड क्यामेरा र थ्रीएक्स टेलिफोटो क्यामेराको साथमा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा पाउन सकिन्छ ।
यदि तपाईंले ग्यालेक्सी एस २४ प्लसबाट एस २५ प्लसमा अपग्रेड गर्नुभयो भने चिपसेट बाहेक अरू कुनै परिवर्तन पाउनुहुने छैन । वायरलेस चार्जिङका सन्दर्भमा नयाँ फोनमा ‘क्यूआई टु रेडी’ समावेश गरिएको छ । यसमा क्यूआई२ चार्जरबाट १५ वाटसम्म चार्ज गर्न सकिन्छ । तर यसमा क्यूआई२ प्रमाणीकरणको लागि आवश्यक पर्ने चुम्बक भने छैन । सामसङको आधिकारिक क्यूआई२ रेडी चुम्बकीय केस प्रयोग गर्दा क्यूआई२ चार्जरमा १५ वाटसम्म चार्ज गर्न सकिने कम्पनीले बताएको छ ।
सामसङले फोनको मूल्य बढाएको छैन । एस २५ को सुरुवाती मूल्य ७९९.९९ अमेरिकी डलर र एस २५ प्लसको सुरुवाती मूल्य ९९९.९९ अमेरिकी डलर तोकिएको छ । यी फोनहरू ७ फेब्रुअरी देखि बजारमा उपलब्ध हुनेछन् । कम्पनीले यी फोनमा सात पुस्तासम्म एन्ड्रोइड अपडेट र सात वर्षसम्म सुरक्षा अपडेट दिने बताएको छ ।
दुवै फोन अघिल्लो मोडेलभन्दा हल्का र लगभग आधा मिलिमिटर पातलो छन् । सामसङले एस २५ एज सार्वजनिक नगरेकोमा निराश भएकाहरूलाई यो फोनले केही राहत दिन सक्छ । तर, यो वर्ष हार्डवेयरमा भन्दा सफ्टवेयरमा बढी ध्यान दिइएको छ । यी नयाँ ग्यालेक्सी फोन एआई फिचरले भरिएका छन् । सामसङले यी एआई फिचर यो वर्ष निःशुल्क प्रयोग गर्न सकिने बताएको छ, तर यसपछिको योजना भने स्पष्ट छैन ।
यसमा गुगलको सर्कल टु सर्च र फोटो एडिट गर्ने टुल पाउन सकिन्छ । एआई मोडेलमा सुधार र स्न्यापड्रागन ८ जेन थ्री चिपसेटको कारणले गर्दा यी फिचरहरूले अझै राम्रो नतिजा दिने जनाइएको छ । यसमा रहेको जेनेरेटिभ फोटो एडिटिङ टुलले फोटोमा भएका अनावश्यक मान्छे र वस्तुहरू हटाउन पनि मद्दत गर्छ ।
भिडिओमा भएको आवाजलाई हटाउन वा कम गर्नको लागि अडियो इरेजर टुल पनि थपिएको छ । यस टुलले आवाज, संगीत, हावा र भीडको आवाजलाई कम गर्न मद्दत गर्ने बताइएको छ । तर, यो फिचर गुगल पिक्सेल फोनमा पहिलेदेखि नै उपलब्ध छ ।
सामसङको एज प्यानलमा रहेको एआई सेलेक्टले स्क्रिनसटलाई क्रप र शेयर गर्ने, भिडिओबाट गिफ बनाउने, क्यालेन्डरमा इभेन्ट थप्ने जस्ता काम गर्न सघाउँछ । यसका साथै ‘नाउ बार’ले खेलकुदको स्कोर र गुगल म्यापको नेभिगेसन जस्ता जानकारी देखाउँछ । यो एप्पलको डाइनामिक आइल्यान्ड जस्तै लकस्क्रिन एलिमेन्ट हो, जुन गीत बजिरहेको बेला देखिन्छ ।
फोनको एआई असिस्टेन्ट गुगल जेमिनाईमा आधारित छ । यसले न्याचुरल ल्याङ्ग्वेज रिक्वेस्ट प्रयोग गरेर फोनलाई नियन्त्रण गर्न सक्छ । यसका साथै जेमिनाईले धेरै एपमा एकैसाथ काम गर्न सक्छ । यसले रेस्टुरेन्ट खोज्न र साथीसँग शेयर गर्न वा खेलकुदको तालिका क्यालेन्डरमा थप्न मद्दत गर्ने जनाएको छ ।
समीक्षकहरूले यी नयाँ एआई फिचरलाई राम्ररी परीक्षण गर्न पाएका छैनन् । त्यसैले कम्पनीले ल्याएका यी एआई फिचर कति प्रभावकारी हुनेछन् भन्ने विषयमा स्पष्ट जानकारी आइसकेको छैन । तर, अहिलेको लागि भने यी फोनहरूमा धेरै नयाँ कुरा नभएको र सफ्टवेयर अपडेट मात्र भएको जस्तो देखिन्छ ।
यस पटक सामसङले नयाँ फोन किन्नको लागि कुनै बलियो कारण दिन सकेको छैन । धेरै एआई र सफ्टवेयर फिचरहरू वन यूआई ७ मा समावेश गरिएका छन् र यो एस २४ र पुराना मोडेलहरूमा पनि उपलब्ध हुनेछ । यदि हार्डवेयरमा धेरै परिवर्तन छैन र सफ्टवेयर पहिले नै तपाईंको फोनमा आउँदैछ भने, नयाँ फोन किन्नुको अर्थ के छ भन्ने विषयमा बहस हुन थालेको छ ।
हालै मात्रै सार्वजनिक एक लेखमा सामसङले प्रत्येक वर्ष नयाँ फोनहरूमा केही नयाँ दिनुपर्ने कुरा उल्लेख गरेको थियो । तर एस २५ र एस २५ प्लस हेर्दा सामसङले यो कुरामा ध्यान नदिएको जस्तो देखिन्छ । यद्यपि यी फोन सार्वजनिक रूपमा उपलब्ध भइसकेपछि थप फिचर र आवश्यकताका विषयमा चर्चा हुनेछ ।