close

पसल-व्यवसायको भुक्तानी व्यक्तिगत बैंक वा वालेट अकाउन्टमा लिए हुनसक्छ ५००० भन्दा बढी जरिबाना

टेकपाना टेकपाना

माघ १४, २०८१ ११:२०

तस्बिर श्रेयः नेपाल क्लियरिङ हाउस लिमिटेड तस्बिर श्रेयः नेपाल क्लियरिङ हाउस लिमिटेड

काठमाडौं । कतै तपाईँले आफ्नो पसल वा व्यवसायको आम्दानी वा भुक्तानी अनलाइनबाट आफ्नो व्यक्तिगत बैंक तथा डिजिटल वालेट खातामा पठाउन लगाउने गर्नु भएको त छैन ? सामान वा सेवा बिक्री गरिसकेपछि अनलाइन माध्यमबाट भुक्तानी प्राप्त गर्दा तपाईँले पैसा राखेको खाता कस्तो किसिमको हो भनेर याद गर्नुभएको छ कि छैन ? 

यदि तपाईँले पसल वा व्यवसायको रकम आफ्नो व्यक्तिगत खातामा जम्मा गर्न लगाउने कार्य गरिरहनु भएको छ भने तपाईँमाथि जरिबाना लाग्न सक्छ । किन कि कुनै पनि पसल, होटेल, रेस्टुरेन्ट वा कम्पनी तथा व्यवसायको भुक्तानी व्यक्तिगत खातामा प्राप्त गर्न पाइँदैन । व्यवसाय वा कम्पनीको नाममा खोलिएका खातामा मात्र त्यस्तो रकमको भुक्तानी लिन पाइन्छ । 

गत असारमा ल्याइएको आर्थिक विधेयकले आयकर ऐन २०५८ लाई संशोधन गर्दै  व्यावसायिक कारोबार बापतको रकम व्यावसायिक खातामा नै जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । संशोधित आयकर ऐन अनुसार कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त रकम नगद, चेक, क्यूआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइँदैन । 

यदि उक्त कानुनी व्यवस्था अटेर गरेर व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न लगाएमा आन्तरिक राजस्व विभागले त्यस्ता व्यवसायीलाई कारबाही गर्न सक्छ । विभागको अनुगमनका क्रममा भुक्तानीका लागि व्यक्तिगत खाताको प्रयोग गरेको पाइएमा पाँच हजार रुपैयाँ वा कूल भुक्तानी भएको रकमको दुई प्रतिशत जरिबानामध्ये जुन बढी हुन्छ सो रकम जरिबाना लगाउनेछ । 

अर्थ मन्त्रालयका सूचना अधिकारी अम्बिकाप्रसाद खनालका अनुसार सरकारले असल कारोबारका लागि यस्तो कानुनी व्यवस्था गरेको हो । व्यवसायका क्रममा हुनसक्ने राजस्व छलीको नियन्त्रणका लागि पनि यस्तो कानुन ल्याइएको हो । 

त्यस्तै व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट गरेमा बैंकले पनि त्यस्तो रकमलाई शङ्कास्पद कारोबारको रूपमा वित्तीय जानकारी एकाइलाई पठाइन्छ । वित्तीय जानकारी एकाइ राष्ट्र बैङ्कमा सम्पत्ति शुद्धीकरण सम्बन्धी सूचना सङ्कलन तथा विश्लेषण गर्न गठन गरिएको एक एकाइ हो ।

पछिल्लो अध्यावधिक: माघ १४, २०८१ ११:२३