close

एन्ड्रोइडमा कुन एपलाई कस्तो पर्मिसन दिने ? थाहा पाइराख्नुहोस् आफ्नो गोपनीयता जोगाउने सूत्र

टेकपाना टेकपाना

माघ १४, २०८१ १८:३३

एन्ड्रोइडमा कुन एपलाई कस्तो पर्मिसन दिने ? थाहा पाइराख्नुहोस् आफ्नो गोपनीयता जोगाउने सूत्र

काठमाडौं । एन्ड्रोइड पर्मिसन अर्थात् अनुमति मूल रूपमा तपाईँ आफ्नो डिभाइससँग कसरी अन्तरक्रिया गर्नु हुन्छ, आफ्नो डेटा तथा व्यक्तिगत जानकारी सुरक्षित राख्ने भन्ने कुराको व्यवस्थापनसँग जोडिएको हुन्छ ।  यस्ता पर्मिसनको बारेमा बुझ्ने कुराले तपाईँको गोपनीयता सुनिश्चित गर्न तथा एपहरूलाई सीमित दायरामा राख्न सघाउँछ । 

के हो एन्ड्रोइड पर्मिसन ?

एन्ड्रोइड पर्मिसनले एपहरूलाई तपाईँको फोनमा रहेका निश्चित फिचर तथा डेटामा पहुँच दिने काम गर्छ । उदाहरणको लागि गुगल म्याप जस्ता नेभिगेसन एपले तपाईँसँग लोकेसन एक्सेस माग्न सक्छन् । फोटो एडिटिङ एपहरूले मिडिया स्टोरेजको पहुँच लिन खोज्छन् । कस्तो प्रकारको डेटामा एपहरूलाई पहुँच दिने भन्ने कुराको सुसूचित निर्णय लिन सकिने गरी पारदर्शिताका लागि यस्ता पर्मिसन तयार पारिएका हुन्छन् । 

एन्ड्रोइड पर्मिसन सामान्यतया प्रोम्टको रूपमा आइरहेका हुन्छन्, जुन तलको तस्विरमा देख्न सक्नु हुन्छ । 

camera permission on android

एन्ड्रोइड डिभाइसमा के कस्ता पर्मिसनहरू उपलब्ध छन् ?

एन्ड्रोइडमा रहेका पर्मिसनहरू तिनीहरूले गर्ने कामको आधारमा वर्गीकरण गरिएका छन् । तिनलाई अलग अलग रूपमा विभाजन गरेर बुझौँ । 

बडी सेन्सर

यस्ता सेन्सरहरूले तपाईँको शरीरबारे संवेदनशील स्वास्थ्य सम्बन्धी डेटामा पहुँच बनाउँछन्, जस्तैः मुटुको चाल, अक्सिजन र तपाईँले चालेका पाइला । गुगल फिट र सामसङ हेल्थ जस्ता फिटनेस तथा हेल्थ एपहरूले तपाईँको स्वास्थ्य मनिटर गर्न तथा स्वस्थ र तन्दुरुस्त रहने टिप्स दिन यस्तो पर्मिसन प्रयोग  गर्दछन् ।आफूले विश्वास गर्न सक्ने एपहरूलाई मात्र यस किसिमको पर्मिसन माग्ने दिनु होस् । 

क्यालेन्डर

क्यालेन्डर पर्मिसनले एपहरूलाई तपाईँको क्यालेन्डरमा इभेन्ट पढ्ने, तयार पार्ने र परिवर्तन गर्ने अनुमति दिन्छ । शेड्युल तथा समय तालिका बनाउन यस किसिमको पर्मिसन उपयोगी हुने भए पनि यसको आधारमा अपरिचित एपहरूले तपाईँको संवेदनशील व्यक्तिगत जानकारी लिक गराइदिन सक्छन् । 

कल लग

यस किसिमको पर्मिसन पाएका एपहरूले तपाईँको कल हिस्ट्री हेर्न र परिवर्तन गरिदिन सक्छन् । यस किसिमको पर्मिसन खासगरी डायलर एपका लागि आवश्यक हुने भए पनि आफ्नो गोपनीयताका लागि यो पर्मिसन दिँदा सावधानी अपनाउन नभुल्नुहोस् । 

क्यामेरा

यो पर्मिसनले तपाईँको फोनको क्यामेरामा पहुँच दिन्छ । फोटोग्राफी एप, क्यूआर कोड स्क्यानर र भिडिओ कल फिचर भएका सामाजिक सञ्जाल एपहरूका लागि समेत यस्तो पर्मिसन आवश्यक पर्छ । यद्यपि अनधिकृत एपहरूले भने यस्तो पर्मिसनलाई दुरुपयोग गरी थाहै नदिई भिडिओ रेकर्डिङ गर्न सक्छन् । 

कन्ट्याक्ट्स

तपाईँको कन्ट्याक्ट्समा पहुँच पाउने एपहरूले तपाईँको फोन बुक पढ्न, एडिट गर्न र सिंक गर्न सक्छन् । जुन एपहरूलाई यसको जरुरत छैन, त्यस्ता एपलाई कन्ट्याक्ट पर्मिसन नदिनुहोस् । किन कि तपाईँको यस किसिमको जानकारी स्पाम तथा फिशिङका लागि दुरुपयोग हुन सक्छ । 

फाइल्स

यस किसिमको पर्मिसनले एपहरूलाई तपाईँको फोनको फाइल स्टोरेजमा पहुँच पाउने र परिवर्तन गर्ने अनुमति दिन्छ । फाइल म्यानेजर तथा क्लाउड सर्भिसलाई यस्तो पर्मिसन चाहिने भए पनि अरू खाले एपहरूलाई फाइलको पर्मिसन सकेसम्म नदिनु होस् । अन्यथा तपाईँका व्यक्तिगत कागजात तथा विवरण बाहिरिन सक्छन् । 

हेल्थ कनेक्ट

यो पर्मिसनले एपहरूलाई गुगलको हेल्थ कनेक्टसँग जोड्ने काम गर्छ र फिटनेस एपहरूको बीचमा डेटा शेयरिङलाई सम्भव तुल्याउँछ । आफूले विश्वास गरेको एपलाई मात्र यस किसिमको संवेदनशील स्वास्थ्य सम्बन्धी जानकारीको एक्सेस दिनु होस् । 

लोकेसन

एपहरूले तपाईँको यकिन तथा अनुमानित लोकेसन एक्सेस माग्न सक्छन् । गुगल म्याप्स जस्ता नेभिगेसन (म्याप) एप, पठाओ-इनड्राइभ जस्ता राइड शेयरिङ, र वेदर एपहरू यही पर्मिसनमा निर्भर हुने गर्छन् । तर अनावश्यक रूपमा यस खाले पर्मिसन दिँदा तपाईँको गोपनीयता खतरामा पर्न सक्छ । 

माइक्रोफोन

भ्वाइस असिस्टेन्ट तथा रेकर्डिङ जस्ता भ्वाइस इनपुट तथा अन्तरक्रिया आवश्यक पर्ने एपहरूलाई काम गर्न माइक्रोफोनको पर्मिसन चाहिन्छ । यद्यपि मालवेयरहरूले यसको दुरुपयोग गरी तपाईँका सम्पूर्ण कुराकानी सुन्न तथा रेकर्ड गर्न सक्ने जोखिम पनि उत्तिकै हुन सक्छ । 

नियरबाई डिभाइस

ब्लुटुथ तथा नजिकै रहेका अन्य डिभाइसहरू कनेक्ट गर्न यसको प्रयोग हुन्छ । अनावश्यक पेयरिङ तथा डेटा शेयरिङबाट बच्न यसको आवश्यकता नपर्ने एपहरूलाई नियरबाई डिभाइसको पर्मिसन नदिनुहोस् । 

नोटिफिकेसन

यो पर्मिसनले एपहरूलाई पुश नोटिफिकेसन पठाउने अनुमति दिन्छ । रिमाइन्डर तथा अलर्टहरूका लागि यस किसिमको पर्मिसन सहयोगी हुने भए पनि केही एपहरूले स्पाम पठाउने कार्यमा यसको दुरुपयोग गरिदिन सक्छन् । 

फोन

फोन पर्मिसनले एपहरूलाई कल गर्ने तथा त्यसको व्यवस्थापन गर्ने र तपाईँको फोन नम्बर थाहा पाउने अनुमति दिन्छ । सोझो रूपमा फङ्सन कलसँग सम्बन्ध नभएका एपहरूलाई यस किसिमको अनुमति नदिनु होस् । जाली एपहरूले फोन पर्मिसनलाई दुरुपयोग गरी अनधिकृत कल गरिदिन सक्छन् । 

फोटो एन्ड भिडिओ

एपहरूले यो पर्मिसन मार्फत तपाईँको मिडिया लाइब्रेरीमा पहुँच पाउन र एडिट गर्ने अनुमति पाउँछन् । तपाईँका व्यक्तिगत फोटो तथा भिडिओ जथाभाबी रूपमा एपहरूले संकलन तथा दुरुपयोग गर्न सक्ने कुरा प्रति सजग रहनु होस् । 

एसएमएस

यो पर्मिसनले एपहरूलाई तपाईँको फोनबाट मेसेज पढ्ने, पठाउने र डिलिट गर्ने अनुमति दिन्छ । मेसेजिङ एप तथा ओटीपी अटो-फिलका लागि यो पर्मिसन उपयोगी हुने भए पनि यसको दुरुपयोगले तपाईँको सुरक्षा खतरामा पार्न सक्छ । 

एपहरूको पर्मिसन कसरी बन्द गर्ने ?

एप पर्मिसनले तपाईँको एन्ड्रोइड डिभाइसमा हरेका कुन जानकारी तथा फिचरमा एपहरूलाई पहुँच दिने वा नदिने भन्ने कुरा नियन्त्रण गर्ने सुविधा दिन्छ । यदि तपाईँले आफूलाई असहज लाग्ने गरी एपहरूलाई कुनै पर्मिसन दिनु भएको छ भने निम्न तरिकाबाट त्यसलाई बन्द गर्न सक्नु हुन्छ । 

निश्चित एपको पर्मिसन परिवर्तन गर्ने तरिका

यसका लागि आफ्नो एन्ड्रोइड डिभाइसको सेटिङ एप खोल्नु होस् र स्क्रोल डाउन गरी ‘Apps’  मा थिच्नु होस् । अब त्यहाँबाट आफूले पर्मिसन परिवर्तन गर्न चाहेको एप खोज्नु होस् । यदि उक्त एप भेट्नु भएन भने ‘See all apps’ मा जानु होस् र एप पत्ता लगाउनु होस् । 

त्यसमा थिचेर ‘Permissions’ मा दबाउनु भयो भने उक्त एपले प्राप्त गरेका पर्मिसनहरू देख्न सकिन्छ । यति गरिसकेपछि लोकेसन, क्यामेरा, कन्ट्याक्ट्स आदि जस्ता निश्चित पर्मिसनमा ट्याप गर्नुहोस् र आफूले चाहेको अप्सन रोज्नुहोस् । यसका लागि निम्न विकल्पहरू देख्न सक्नु हुनेछ ।

  • अलाउ (Allow): एपलाई पर्मिसन दिने ।

  • डन्ट अलाउ (Don’t allow):  एपलाई एक्सेस नदिने, चाहे प्रयोग गरिरहेको बेला नै किन नहोस् । 

  • आस्क एभ्री टाइम (Ask every time): प्रत्येक समय, एपलाई जब जब चाहिन्छ दिने वा नदिने कुराको तय गर्ने ।

  • अलाउ अन्ली ह्वाइल युजिङ द एप (Allow only while using the app): तपाईँको स्क्रिनमा उक्त एप एक्टिभ रहेको बेला मात्रै पर्मिसन दिने ।

  • अल द टाइम (All the time): यो लोकेसनका लागि मात्रै हो । यो विकल्प सहितको पर्मिसन दिँदा सम्बन्धित एपले प्रयोगमा नहुँदाको समयमा पनि तपाईँको लोकेसन थाहा पाउन सक्छ । 

Android permissions for Google Photos

प्रकारको आधारमा पर्मिसन परिवर्तन गर्नु होस् 

एक एक गरेर एप छान्दै पर्मिसन व्यवस्थापन गर्नुको साटो तपाईँले कुनै निश्चित पर्मिसन लिएका सम्पूर्ण एपहरूको सूची हेर्न पनि सक्नु हुन्छ । यसका लागि सुरुमा ‘Settings’ खोल्नुहोस् र ‘Security and Privacy’, अथवा ‘Privacy’ मा जानु होस् ।  

अब ‘Permissions Manager’ मा थिच्नु भयो भने कुन पर्मिसन कुन कुन एपले लिएका छन् भन्ने कुराको सूची नै देख्न सक्नु हुन्छ । यहाँबाट कुनै पनि पर्मिसनमा थिचेर उक्त पर्मिसन लिएका एपहरू फेला पार्न सकिन्छ । त्यसपछि त्यहाँ रहेको कुनै पनि एपमा ट्याप गरेर त्यसको एक्सेस परिवर्तन गर्न सक्नु हुन्छ । 

Android permissions.

एप पर्मिसनको व्यवस्थापन किन गर्ने ?

तपाईँको आफ्नो गोपनीयता र सुरक्षाका हिसाबले एपहरूको पर्मिसनमा नजर राख्नु जरुरी हुन्छ । अनावश्यक पर्मिसनले तपाईँको सहमति बिना नै तपाईँको व्यक्तिगत डेटा संकलन गरिन सक्छ । पर्मिसनलाई कम गर्दै लैजाँदा व्यवहारिक हिसाबले अरू पनि फाइदा हुन्छ, जस्तैः ब्याट्री लाइफ सुधार गर्नु र डिभाइसको पर्फर्मेन्स बढाउनु । 

एपहरूको पर्मिसन कस्टमाइज गरेर तपाईँ आफ्नो डेटामाथिको नियन्त्रण कायम राख्न सक्नु हुन्छ । सुरक्षा तथा तपाईँको डिभाइसको प्रभावकारिताका हिसाबले नियमित रूपमा पर्मिसनको समीक्षा गर्नु तथा हेरफेर गर्नु राम्रो बानी मानिन्छ । 

पछिल्लो अध्यावधिक: माघ १४, २०८१ १८:३३