close

नेपाली बजारमा सामसङ ग्यालेक्सी एस २५ सिरिजको प्रि-बुकिङ सुरु, ग्राहकलाई यस्ता अफर

टेकपाना टेकपाना

माघ १७, २०८१ १२:४

नेपाली बजारमा सामसङ ग्यालेक्सी एस २५ सिरिजको प्रि-बुकिङ सुरु, ग्राहकलाई यस्ता अफर

काठमाडौं । नेपाली बजारमा सामसङ ग्यालेक्सी एस २५ सिरिजको प्रि-बुकिङ सुरु भएको छ । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्व मिस नेपाल अश्मी श्रेष्ठ र सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले यो नयाँ सिरिज सार्वजनिक गरे ।

सामसङ नेपालका निर्देशक स्थापितले ग्यालेक्सी एस २५ सिरिजले नेपाली प्रयोगकर्ताको अनुभवमा नयाँ परिवर्तन ल्याउने दाबी गरे । "सामसङले गत वर्ष ग्यालेक्सी एआईमार्फत मोबाइल एआईको युगको सुरुवात गर्‍यो । अब हामी ग्यालेक्सी एस २५ सिरिजमार्फत अर्को अध्यायमा प्रवेश गर्दैछौँ, जसले तपाईंको फोनसँगको अन्तर्क्रिया र दुनियाँसँगको सम्बन्ध नै परिवर्तन गर्नेछ," उनले भने ।

नेपालमा ग्यालेक्सी एस २५ सिरिजको प्रि-बुकिङ आजदेखि १३ फेब्रुअरी २०२५ सम्म खुला रहनेछ । प्रि-अर्डर गर्ने ग्राहकहरूले फ्री मेमोरी अपग्रेड (१२/२५६ जीबीबाट १२/५१२ जीबी) पाउनेछन् । साथै, ग्यालेक्सी बड्स थ्री प्रो (वास्तविक मूल्य ३१ हजार ९९९) मात्र १४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । यस्तै, तीन हजार ३९९ रुपैयाँ पर्ने सिलिकन कभर १५ सय रुपैयाँमै किन्न सकिनेछ ।

नेपालमा ग्यालेक्सी एस २५ अल्ट्रा १२/५१२ जीबीको मूल्य एक लाख ९९ हजार ९९९ रुपैयाँ र १२/२५६ जीबीको मूल्य एक लाख ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो मोडेल टाइटानियम सिल्भर ब्लु, टाइटानियम ह्वाइटसिल्भर र टाइटानियम ब्ल्याक रङमा उपलब्ध छ ।

ग्यालेक्सी एस २५ प्लस १२/२५६ जीबीको मूल्य एक लाख ४१ हजार ९९९ रुपैयाँ तोकिएको छ, जुन नेभी र सिल्भर स्याडो रङमा पाइनेछ । ग्यालेक्सी एस २५ १२/५१२ जीबीको मूल्य एक लाख १४ हजार ९९९ रुपैयाँ र १२/२५६ जीबीको मूल्य एक लाख ४ हजार ९९९ रुपैयाँ हुनेछ । यो आईसी ब्लु र सिल्भर स्याडो रङमा उपलब्ध हुनेछ ।

एस २५ सिरिजका फोनमा क्वालकमको स्न्यापड्रागन ८ जेन थ्री चिपसेट प्रयोग गरिएको छ, जसले फोनको कार्यक्षमतामा सुधार ल्याउने दाबी गरिएको छ । सबै मोडेलमा १२ जीबी र्‍याम स्ट्यान्डर्ड राखिएको छ । ग्यालेक्सी एस २५ मा ६.२ इन्च र ग्यालेक्सी एस २५ प्लसमा ६.७ इन्चको डिस्प्ले छ, जसमा २६०० निट्स ब्राइटनेस र १२० हर्जको रिफ्रेस रेट दिइएको छ ।

फोटोग्राफीका लागि ग्यालेक्सी एस २५ सिरिजमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, अल्ट्रावाइड क्यामेरा र थ्रीएक्स टेलिफोटो क्यामेरासहित १२ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । वायरलेस चार्जिङका लागि ‘क्यूआई टु रेडी’ प्रविधि समावेश गरिएको छ, जसले क्यूआई२ चार्जरबाट १५ वाटसम्म चार्ज गर्न सक्ने बताइएको छ ।

सामसङले यी फोनमा सात पुस्तासम्म एन्ड्रोइड अपडेट र सात वर्षसम्म सुरक्षा अपडेट दिने घोषणा गरेको छ । ग्यालेक्सी एआई फिचरले भरिएको यी फोनमा गुगलको सर्कल टु सर्च र फोटो एडिटिङ टुल पनि समावेश छन् । एआई मोडेल सुधारसँगै स्न्यापड्रागन ८ जेन थ्री चिपसेटको कारण यी फिचरहरू अझ प्रभावकारी हुने दाबी गरिएको छ ।

फोटो एडिटिङका लागि जेनेरेटिभ फोटो टुल समावेश गरिएको छ, जसले अनावश्यक मान्छे वा वस्तुहरू हटाउन मद्दत गर्छ । साथै, भिडिओमा भएका अनावश्यक आवाज हटाउन वा कम गर्न अडिओ इरेजर टुल राखिएको छ, जसले हावा, भिड, संगीतजस्ता आवाजलाई कम गर्न सक्छ ।

सामसङ एज प्यानलमा ‘एआई सेलेक्ट’ टुल राखिएको छ, जसले स्क्रिनसटलाई क्रप, शेयर गर्न तथा भिडिओबाट गिफ बनाउन मद्दत गर्छ । ‘नाउ बार’ फिचरले खेलकुदको स्कोर तथा गुगल म्यापको नेभिगेसनजस्ता जानकारी प्रदान गर्ने बताइएको छ ।

फोनको एआई असिस्टेन्ट गुगल जेमिनाईमा आधारित छ, जसले प्राकृतिक भाषा प्रयोग गरेर आदेश बुझ्न सक्छ । यसले विभिन्न एप्समा एकैसाथ काम गर्ने सुविधा प्रदान गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: माघ १७, २०८१ १२:२३