काठमाडौं । नेपालमा बसेर क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारत राजस्थान राज्यको जयपुर जिल्ला निवासी ३० वर्षीय विजयन्द्रकुमार सैनी, २२ वर्षीय मोनू सैनी र ३५ वर्षीय नन्दलाल सैनी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार उनीहरूलाई शिवराज नगरपालिका-१ स्थित एक होटलबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार उनीहरूले एमईएससी एप प्रयोग गरी बिटक्वाइन (यूएसडीटी) लगायतका क्रिप्टोकरेन्सी कारोबार गर्दै आएका थिए । पक्राउ परेका व्यक्तिहरूको साथबाट २४ थान मोबाइल, १ थान डेल ल्यापटप, ६ थान चार्जर र २ थान मल्टिप्लग बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक विश्वकर्माका अनुसार उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२, दफा २६२ (क) बमोजिम (अभौतिक मुद्राको प्रयोग गर्न नहुने) कसुरमा कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।