close

ललितपुरमा २ घर भाडामा लिएर अनलाइन जुवा खेलाउने धन्दा, ६ महिनामै ३ अर्ब बढीको अवैध कारोबार

टेकपाना टेकपाना

माघ २१, २०८१ १०:२५

ललितपुरमा २ घर भाडामा लिएर अनलाइन जुवा खेलाउने धन्दा, ६ महिनामै ३ अर्ब बढीको अवैध कारोबार

काठमाडौं । नेपालमा बसेर अवैध रूपमा अनलाइन सट्‍टेबाजी प्लेटफर्म सञ्चालन गरेको आरोपमा १० भारतीय र १४ नेपाली गरी २४ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अवैध सट्टेबाजी प्लेटफर्म सञ्चालन गरेको आरोपमा शनिबार २४ जनालाई सानेपा ललितपुरबाट नियन्त्रणमा लिएको हो । 

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार अवैध रूपमा अनलाइन सट्‍टेबाजी प्लेटफर्म सञ्जालन भइरहेको भन्ने सूचना प्राप्त भएको थियो । त्यही सूचनाको आधारमा शनिबार राति कार्यालयबाट प्रहरी टोली अवैध अनलाइन सट्‍टेबाजी प्लेटफर्म सञ्चालन भइरहेको घरमा पुगेको थियो । 

“सानेपाका दुई ओटा घर भाडामा लिएर भारतीय नागरिकले अनलाइन बेटिङ प्लेटफर्म सञ्चालन गरेको भन्ने सूचना आएको थियो,” प्रहरी उपरीक्षक आचार्यले भने, “हामी त्यस घरमा राति पुगेका थियौँ । त्यहीँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।”

प्रहरी उपरीक्षक आचार्यका अनुसार भारतमा बेटिङ साइट सञ्चालन गर्ने भारतीय नागरिकको नेपाल आउजाउ बाक्लै हुन्थ्यो । उनले नेपालको माहोल बुझेपछि यतै त्यस्तो प्लेटफर्म सञ्चालन गर्न सकिन्छ भन्ने बुझे र अन्य भारतीय नागरिक नेपाल झिकाए र सानेपामा दुई घर भाडामा लिए । 

घर भाडामा लिँदा उनीहरूले आफूहरू इम्पोर्ट-एक्सपोर्टको काम गर्ने बताएका थिए । त्यसका लागि उनीहरूले एउटा गरका लागि मासिक एक लाख ९० हजार भाडा दिने बताए । यता घरभेटीले पनि त्यसरी औपचारिक सम्झौता नै नगरी राखिदिए । 

यसरी छ महिनादेखि उनीहरूले नेपाल‍लाई जुवाको अखडाको रूपमा प्रयोग गर्दै आएका थिए । “नेपालीलाई सस्तोमा काममा राख्न सकिने भएकाले पनि उनीहरूले बढी नेपाली राखेको देखिन्छ,” प्रहरी उपरीक्षक आचार्यले भने, “त्यस बाहेक नेपालमा बसेर भारतमा जुवा खेलाउँदा नियमनमा पनि परिँदैन, ढुक्कले काम गर्न सकिन्छ भन्ने भ्रम रहेछ ।”

यसरी नेपालीहरूलाई काममा राखेर उनीहरू जुवा खेलाउन थाले । प्रहरी उपरीक्षक आचार्यका अनुसार यसमा प्रयोग भएका प्रायः सबै भारतीय बैंक अकाउन्ट छन् । उनीहरूबाट ५७ ओटा फोन, १३ ल्यापटप, ३४ ओटा भारतीय एटीएम कार्ड, ८८ ओटा नेपाली सिम, ११ ओटा चेकबुक बरामद भएका छन् । 

उनीहरूले अन्य केही भौतिक कारोबार गर्दा पनि भारतीय रकमबाटै गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । नेपालीहरूले रकम कसरी पाउँथे भन्ने खुलिसकेको छैन । यद्यपि भारतीय बैंक अकाउन्ट नै प्रयोग गरेकाले भारतमा नियमनमा परिँदैन र नेपालमा ढुक्कले अवैध धन्दा सञ्चालन गर्न सकिन्छ भन्ने मानसिकताले उनीहरूले यस्तो धन्दा नेपालमा सञ्चालन गरेको हुनसक्ने आचार्यले सुनाए । 

उनीहरूले छ महिनाको अवधिमा तीन अर्ब, चार करोड ७३ लाख रुपैयाँ बढीको कारोबार गरेको देखिएको छ । यसमा संलग्न अधिकांश नेपालीको घर प्युठान रहेको छ भने केही डोटी, दार्चुला र सुर्खेतका छन् । 

पक्राउ परेका २४ जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । प्रहरी उपरीक्षक आचार्यले पक्राउ परेका व्यक्तिहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद- ५ को दफा १२५ (जुवा खेल्न वा सट्‍टेबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा कारबाही हुने बताए ।

 

पछिल्लो अध्यावधिक: माघ २१, २०८१ १०:२५