close

तपाईँकै फोनबाट यसरी सजिलै फेला पार्न सक्नु हुन्छ होटेल रुममा लुकाएर राखिएका क्यामेरा

टेकपाना टेकपाना

माघ २१, २०८१ १४:३१

तपाईँकै फोनबाट यसरी सजिलै फेला पार्न सक्नु हुन्छ होटेल रुममा लुकाएर राखिएका क्यामेरा

काठमाडौं । नयाँ ठाउँ घुम्नका लागि रमाइलो त हुन्छ नै, तर यसका साथै केही चुनौतीहरू पनि आउँछन् । आजकल होटेलका कोठाहरूमा गोप्य रूपमा क्यामेरा लुकाएर राखिएका हुन सक्ने डर पनि बढ्दै गएको छ । होटेलको कोठामा बस्न जाने व्यक्तिको गोपनीयता भङ्ग गर्दै होटेल वा त्यहाँका कुनै कर्मचारीले क्यामेरा राख्ने गरेको घटना पनि यदाकदा सुन्नमा आउँछन् । त्यसैले यात्राका क्रममा होटेलमा बस्दै हुनु हुन्छ भने सचेत हुन आवश्यक छ । 

हुन त यस्ता क्यामेरा पत्ता लगाउने विशेष डिभाइसहरू हुन्छन् । तर, ती डिभाइस सधैं तपाईंको साथमा नहुन सक्छन् । अथवा तपाईँलाई ती डिभाइस प्रयोग गर्ने तरिका थाहा नहुन सक्छ । अहिले त तपाईँले आफ्नै फोनलाई पनि त्यस्ता गोप्य क्यामेरा पत्ता लगाउने उपकरणको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । 

आज हामी तपाईँलाई आफ्नो मोबाइल फोन प्रयोग गरेर होटेलका कोठामा लुकाइएका गोप्य क्यामेरा कसरी पत्ता लगाउने भन्ने विषयमा जानकारी दिँदैछौँ । 

 

आफ्नो स्मार्टफोनको फ्ल्याशलाइट प्रयोग गरेर शङ्कास्पद ठाउँहरू जाँच गर्नुहोस्ः

गोप्य (हिडन) क्यामेरा पत्ता लगाउने सबैभन्दा सजिलो तरिका भनेको आफ्नो फोनको फ्ल्याशलाइट प्रयोग गर्नु हो । क्यामेराहरू जतिसुकै राम्ररी लुकाइएका भए पनि, तिनीहरूको लेन्सले प्रकाश प्रतिबिम्बित गर्छ । त्यसका लागि सबैभन्दा पहिला कोठाका बत्तीहरू निभाउनुहोस् । अनि आफ्नो स्मार्टफोनको फ्ल्याशलाइट क्यामेरा लुकाइएको हुन सक्ने सम्भावित ठाउँहरू जस्तैः हावा आउने ठाउँ, धुवाँ पत्ता लगाउने उपकरण, अलार्म घडी वा ऐनाहरूमा पार्नुहोस् । 

यसरी फ्ल्याशलाइटको सहायताले सानो चम्किलो प्रकाश वा लेन्स जस्तो सतह खोज्नुहोस् । यदि तपाईँले केही शङ्कास्पद चिज देख्नुभयो भने त्यस ठाउँलाई अझ नजिकबाट जाँच गर्नुहोस् । यसरी तपाईँ होटेलको कोठामा लुकाइएका गोप्य क्यामेरा फेला पार्न सक्नुहुन्छ । 

 

आफ्नो स्मार्टफोन क्यामेरा प्रयोग गरेर इन्फ्रारेड लाइटहरू पत्ता लगाउनुहोस्

धेरैजसो हिडन क्यामेराले इन्फ्रारेड लाइट उत्सर्जन गर्छन्, जुन मानिसको नाङ्गो आँखाले सहजै देख्न सक्दैन । तर स्मार्टफोन क्यामेराले भने त्यस्तो प्रकाश पहिचान गर्न सक्छ । इन्फ्रारेड लाइटको स्रोत फेला पार्न सबैभन्दा पहिला कोठाका बत्ती मधुरो पार्नुहोस् वा निभाउनुहोस् । 

त्यसपछि आफ्नो स्मार्टफोनको क्यामेरा एप खोल्नुहोस् (केही फोनहरूमा अगाडिको क्यामेरामा स्विच गर्नुपर्ने हुन सक्छ )। अनि क्यामेरा लुकाउन सकिने ठाउँहरूमा बिस्तारै क्यामेरा घुमाउनुहोस् । क्यामेरा स्क्रिनमा साना, चम्किरहेका थोप्लाहरू खोज्नुहोस् । इन्फ्रारेड लाइटहरूले लुकेको क्यामेराको उपस्थिति देखाउँछन् । यदि तपाईँले यस्तो सङ्केत देख्नुभयो भने उक्त ठाउँलाई राम्ररी जाँच गर्नुहोस् ।

 

क्यामेरा पत्ता लगाउने एप प्रयोग गर्नुहोस्

यी दुई तरिकाबाट पनि क्यामेरा पत्ता लागेन भने तपाईँका लागि अर्को विकल्प पनि छ । त्यसका लागि एन्ड्रोइड र आईओएस डिभाइसमा ‘क्यामेरा डिटेक्सन’ (Camera Detection) का लागि विभिन्न एपहरू उपलब्ध छन्, जसले लुकेका क्यामेराहरू पत्ता लगाउन मद्‍दत गर्छन् । यी एपहरूले फोनको क्यामेरा र सेन्सरहरू प्रयोग गरेर लुकेका डिभाइस पत्ता लगाउँछन् । 

तिनीहरूले इन्फ्रारेड लाइट, चुम्बकीय क्षेत्रहरू र असामान्य संकेतहरू खोजेर लुकेका क्यामेराहरू पत्ता लगाउन मद्‍दत गर्छन् । प्ले स्टोर वा एप स्टोरबाट कुनै एउटा क्यामेरा डिटेक्सन एप खोज्नुहोस् र डाउनलोड गर्नुहोस् । अनि निर्देशन पालना पालना गर्दै शङ्कास्पद वस्तु वा क्षेत्र जाँच गर्नुहोस् ।

शंकास्पद डिभाइसका लागि वाई-फाई नेटवर्क जाँच गर्नुहोस्

कतिपय लुकाइएका वायरलेस क्यामेराहरू फुटेज पठाउन वाई-फाई नेटवर्कमा कनेक्ट भएका हुन्छन् । आफ्नो होटेलको वाई-फाई नेटवर्क स्क्यान गरेर, तपाईँले अज्ञात डिभाइस पत्ता लगाउन सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् । 

  • आफ्नो फोनको वाई-फाई सेटिङ खोल्नुहोस् र कनेक्ट भएका डिभाइसको सूची हेर्नुहोस् ।

  • अपरिचित डिभाइसको नाम खोज्नुहोस् । विशेषगरी नम्बर, सिम्बोल वा ‘आईपी क्यामेरा’ वा ‘क्यामेरा’ जस्ता सामान्य नामहरूबाट सुरु हुने नाम खोज्नुपर्ने हुन्छ ।

  • त्यस्तै, तपाईँ कोठामा जडान भएका डिभाइसका लागि ब्लुटुथ पनि स्क्यान गर्न सक्नुहुन्छ ।

  • यदि तपाईँले कुनै शङ्कास्पद डिभाइस फेला पार्नुभयो भने होटेल व्यवस्थापन वा स्थानीय प्रहरीलाई खबर गर्नुहोस् ।

 

होटेलका कोठामा लुकेका क्यामेराहरू पत्ता लगाउन किन जरुरी छ ?

हिडन क्यामेराबाट हुने ब्ल्याकमेल र ठगीका घटना बढ्दै गएकाले होटेल कोठामा गोपनीयता सुनिश्चित गर्नु महत्त्वपूर्ण हुन्छ । हिडन क्यामेरा प्रायः घडी, धुवाँ पत्ता लगाउने डिभाइस, यूएसबी चार्जर वा सजावटका वस्तुहरूमा लुकाइएका हुन्छन् । यसले गर्दा तिनीहरूलाई आँखाले देख्न गाह्रो हुन्छ । 

यस्ता क्यामेराहरूले व्यक्तिगत गोपनीयताको उल्लङ्घन र रेकर्ड गरिएको फुटेजको दुरुपयोग हुनसक्छ । त्यसैले, सक्रियताका साथ यस्ता उपकरणहरू पत्ता लगाउन सिकीयो भने सम्भावित क्षतिबाट बच्न सकिन्छ । 

 

थप टिप्स:

  • घडी, यूएसबी चार्जर, धुवाँ पत्ता लगाउने डिभाइस र सजावटका वस्तुमा असामान्य प्वाल वा तारहरू खोज्नुहोस् । 

  • दुईतर्फी ऐना जाँच गर्न ‘औँला परीक्षण’ प्रयोग गर्नुहोस् । त्यसका लागि आफ्नो औँला ऐनामा राख्नुहोस्; यदि औँला र यसको प्रतिबिम्बको बीचमा कुनै खाली ठाउँ छैन भने, ऐना दुईतर्फी हुनसक्छ ।

  • यदि तपाईँ धेरै यात्रा गर्नुहुन्छ भने, हिडन क्यामेरा डिटेक्टर डिभाइस खरिद गर्न सक्नुहुन्छ । यसले आफ्नो गोपनीयता सुरक्षित राख्न र सम्भावित ठगीका घटनाबाट जोगाउन मद्‍दत गर्छ ।

  •  

पछिल्लो अध्यावधिक: माघ २१, २०८१ १४:३१