काठमाडौं । एलन मस्कले सिलिकन भ्यालीको कार्य संस्कृति (वर्क कल्चर) वासिङटन डीसीमा पनि भित्र्याएका छन् । अमेरिकी सरकारको कार्य कुशलता विभाग (डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी - डज) मा काम थालेको दुई हप्ता पनि नबित्दै मस्कले कार्यालयका लागि कर्मचारीले हप्तामा १२० घण्टा काम गर्नुपर्ने नयाँ नियम ल्याएका हुन् ।
मस्कले आइतबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै भनेका छन्, “डजले हप्तामा १२० घण्टा काम गरिरहेको छ । हाम्रा विपक्षीहरू ४० घण्टा काम गर्छन् । त्यसैले हामीले उनीहरूलाई सजिलै जितिरहेका छौँ ।” यसअघि उनले सप्ताहान्तमा पनि काम गर्ने विषयमा जोड दिएका थिए ।
यसअनुसार शनिबार र आइतबार सहित दैनिक १७ घण्टा ८ मिनेट काम गर्नुपर्ने भन्दै एक एक्स प्रयोगकर्ताले कमेन्ट गरेका छन् । “ब्युरोक्रेसीमा धेरैले सप्ताहान्तमा काम गर्दैनन् । त्यसैले विपक्षी टोलीले मैदान नै छोडे जस्तो हुन्छ,” उनले एक्समा लेखेका थिए । मस्क आफ्नो काममा अत्यधिक समर्पित हुन्छन् र कर्मचारीलाई पनि धेरै समय काम गर्न प्रेरित गर्ने व्यक्तिका रूपमा चिनिन्छन् ।
सन् २०२२ मा ट्वीटरलाई नियन्त्रण लिएपछि उनले कर्मचारीहरूलाई हप्तामा ८० घण्टा काम गर्नुपर्ने नियम बनाएका थिए ।
DOGE is working 120 hour a week. Our bureaucratic opponents optimistically work 40 hours a week. That is why they are losing so fast. https://t.co/dXtrL5rj1K
यद्यपि उनको यो कार्यशैली सरकारी क्षेत्रमा कत्तिको प्रभावकारी हुन्छ भन्ने प्रश्न भने कायमै छ । कार्यकुशलता विशेषज्ञ श्यानन कोपल्यान्डले बिजनेस इन्साइडरसँग मस्कको यो शैलीले ‘डज’लाई छिटो गतिमा अघि बढाउन मद्दत गर्ने बताएका छन् । कोपल्यान्डका अनुसार मस्कको यो भनाइले काम प्रतिको उनको समर्पण र ब्युरोक्रेसीको सुस्त गतिलाई दर्शाएको छ ।
तर, अर्का सीईओ रोइ गिनाटले मस्कको भनाइलाई शाब्दिक रूपमा लिन नहुने बताएका छन् । “धेरै समयसम्म टिमलाई दबाब दिँदा थकान र दिक्दारी बढ्छ । पर्याप्त आराम नपाउँदा मानिसले राम्रोसँग काम गर्न सक्दैन । यसले गर्दा गल्तीहरू बढ्छन्,” गिनाटले भनेका छन् । उनी थप्छन्, “मलाई लाग्छ एलनले कामको प्रयासलाई दर्साउन त्यस्तो ट्वीट गरेका हुन् । यो ‘डज’ को नयाँ नियम भन्ने चाहिँ होइन ।”
गिनाटले आफूले हप्तामा ८५ घण्टा काम गर्ने र कामको विचार प्रायः आफ्नो दिमागमा आइरहने बताए । “राम्रो कामको विचारहरू प्रायः आफ्ना छोराछोरीसँग हिँड्दा आउँछ,” उनले थपे ।