काठमाडौं। स्मार्टफोनको डिस्प्लेलाई जोगाउनका लागि वर्षौँदेखि स्क्रिन प्रोटेक्टरको प्रयोग हुँदै आएको छ । मानिसहरूले डिस्प्ले फुट्न र केरिनबाट जोगाउन यसको सहारा लिँदै आएका छन् ।
तर पछिल्लो समय प्रविधिको विकासका कारण यसको अनिवार्य प्रयोग गर्ने क्रम भने घट्दै गएको छ । आउनुहोस्, अब स्क्रिन प्रोटेक्टर किन आवश्यक पर्दैन, चर्चा गराैँ ।
एड्भान्स ग्लास प्रविधि
आधुनिक स्मार्टफोनहरूमा बलिया र टिकाउ ग्लासको प्रयोग गरिएको हुन्छ । जसमा गोरिल्ला ग्लास, सिरामिक शिल्ड वा अन्य प्रविधिका ग्लास राखिएका हुन्छन् । यसले गर्दा स्क्र्याच र अन्य बाहिरी असरबाट सुरक्षा प्रदान गर्छ । यदि तपाईँले प्रिमियम डिभाइस खरिद गर्दै हुनुहुन्छ भने यसको डिस्प्ले र ग्लास अझ बढी टिकाउ हुन्छ ।
यी सामग्रीहरू दैनिक रूपमा प्रयोग गर्दा हुन सक्ने जोखिमबाट जोगाउन सक्ने गरी डिजाइन गरिएका हुन्छन् । जस कारण यसलाई थप सुरक्षा दिनका लागि स्किन प्रोटेक्टर प्रयोग गरिरहन आवश्यक पर्दैन ।
मोबाइल झर्दा डिस्प्ले फुट्न सक्ने जोखिम न्यूनीकरण
पहिला मोबाइलमा टिकाउ किसिमको डिस्प्ले राख्नु पहिलो प्राथमिकताको विषय थिएन । त्यसैले कमसल डिस्प्ले जोगाउनका लागि मोबाइलमा स्क्रिन प्रोटेक्टरको प्रयोग गर्थे । जसले मोबाइल अकस्मात् खस्दा फुट्नबाट जोगाउँछ ।
कतिपय स्क्रिन प्रोटेक्टरको रूपमा पातलो प्लास्टिक लेयर राखिएको हुन्छ, जसले मोबाइल खस्दा डिस्प्लेमा असर पुग्नबाट नगण्य मात्रामा मात्रै जोगाउन सक्छ । तर पछिल्लो समय डिस्प्लेको बनावट गुणस्तर मजबुत भइसकेको छ । यतिसम्म कि तपाईँले 'मिलिट्री ग्रेड' मजबुती भएका मोडेल समेत भेट्न सक्नु हुन्छ ।
यदि गह्रौँ सामग्रीले मोबाइलमा दबाब नदिएमा यसमा स्क्र्याच आउन सक्ने सम्भावना कमै हुन्छ । तपाईँको गोजीमा रहने सिक्का वा चाबीहरूले मोबाइलको एड्भान्स ग्लासबाट बनेको स्क्रिनलाई कोर्न सक्दैनन् ।
डिस्प्ले स्पष्ट देखिने
स्क्रिन प्रोटेक्टरले तपाईँको स्मार्टफोनमा देखिने दृश्यमा बाधा पुर्याउन सक्छ । किनभने यस्ता प्रोटेक्टर मोबाइलको डिस्प्लेभन्दा कम गुणस्तरीय हुन्छन् । स्क्रिन प्रोटेक्टर राख्ने, निकाल्ने काम हुँदा स्क्र्याच झनै बढ्ने र राम्रो गुणस्तरका तस्विरहरू देखिन छाड्ने हुनसक्छ ।
उत्पादकहरूले दिने वारेन्टी र मर्मतको सुविधा
अहिले स्मार्टफोन कम्पनीहरूले राम्रो खालको वारेन्टी र सस्तोमा मर्मत गर्न सक्ने सुविधा ल्याएका हुन्छन् । एप्पलको एप्पलकेयर प्लस, सामसङको रिपेयर सेवाले स्क्रिन प्रोटेक्टरभन्दा पनि सुलभ र सस्तो मूल्यमा मोबाइलमा भएका ड्यामेज मर्मत गर्छन् ।
यद्यपि, स्क्रिन प्रोटेक्टरले मोबाइलमा थप एक तहको सुरक्षा प्रदान गर्ने कुरालाई नकार्न सकिँदैन । तर, पछिल्लो समयमा आएका स्मार्टफोनका लागि भने यो अनिवार्य आवश्यकताको विषय होइन ।
मोबाइलमा प्रयोग गरिएका एड्भान्स ग्लास र टिकाउ डिजाइनले दैनिक रूपमा मोबाइल प्रयोग गर्दा आउन सक्ने स्क्र्याचबाट जोगाउन सक्छ । मोबाइल झर्दा पनि डिस्प्ले चर्किन सक्ने जोखिमबाट जोगाउन र गुणस्तरीय डिस्प्लेको मजा लिनका लागि बरु गुणस्तरीय मोबाइल खरिद गर्न सक्नुहुन्छ ।