close

देशका मुख्य सहरहरूमा तुरुन्त फाइभजी सेवा सुरु गरौंः सञ्चार मन्त्री

टेकपाना टेकपाना

माघ २२, २०८१ १४:२५

देशका मुख्य सहरहरूमा तुरुन्त फाइभजी सेवा सुरु गरौंः सञ्चार मन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका प्रमुख सहरहरूमा फाइभजी सेवा तुरुन्तै सुरु गर्नुपर्ने बताएका छन् । मंगलबार नेपाल टेलिकमको २१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विश्वभर सिक्सजी प्रविधि अगाडि बढिरहेको अवस्थामा नेपालमा फाइभजी प्रविधिको तत्काल कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे ।

टेलिकमले फाइभजी नेटवर्क परीक्षण थालेको दुई वर्ष बितिसकेको छ । तर, व्यावसायिक रूपमा मोबाइल सेवाको यो पछिल्लो पुस्ता कहिलेदेखि सुरु हुन्छ भन्ने विषय अनिश्चित रहँदा मन्त्री गुरुङले तत्काल कार्यान्वयन गर्न आग्रह गरे । 

टेलिकमले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारी २०७९ माघदेखि काठमाडौंमा फाइभजीको आन्तरिक परीक्षण थालेको थियो । यो अवधिमा बबरमहल, सुन्धारा, पोखरा र वीरगन्जमा रहेका टेलिकमका कार्यालयमा फाइभजी उपकरणहरू जडान गरी आन्तरिक परीक्षण गरिएको छ । तर परीक्षणका उपलब्धिलाई लिएर स्वयं टेलिकम नै सन्तुष्ट छैन । 

एक वर्षकालका लागि परीक्षणको अनुमति पाएको टेलिकमले दुई वर्ष बित्दासम्म समेत फाइभजी नेटवर्कको गति र विश्वसनीयताका सन्दर्भमा मुख खोलेकाे छैन ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले २०७८ साउनमा सर्वसाधारणले समेत निःशुल्क चलाउन पाउने गरी फाइभजी परीक्षण गर्न नेपाल टेलिकमलाई २६०० मेगाहर्ज ब्याण्ड अन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी निःशुल्क उपलब्ध गराएको निर्णय गरेको थियो । कतिपयले भने नेपालमा फाइभजी तत्काल आवश्यक नरहेको बताउँदै आएका छन् ।

नेपाल टेलिकमले देशको दूरसञ्चार क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको भन्दै मन्त्री गुरुङले प्रशंसा गरे । कठिन भौगोलिक अवस्थाका बाबजुद पनि सेवा विस्तार गरी सर्वसुलभ बनाउनु कम्पनीको उपलब्धि भएको उनको भनाइ छ ।

मन्त्री गुरुङले नेपाललाई डिजिटल युगमा अगाडि बढाउन र कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन लगायतका क्षेत्रमा फड्को मार्न नेपाल टेलिकमले थप योगदान गर्नुपर्ने धारणा राखे । फोरजी सेवाको विस्तार र स्थानीय तहसम्म ब्रोडब्यान्ड सेवा पुर्‍याउने कार्यलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए । टेलिकम कम्पनीहरूको राजस्व डेटा सेवामा निर्भर हुनुपर्ने समय आएकोले सोही अनुसार अगाडि बढ्न उनले सुझाव दिए । 

 

पछिल्लो अध्यावधिक: माघ २२, २०८१ १४:४०