काठमाडौं । नेपालमा डिजिटल अरेस्टको धन्धा फैलाउन खोज्ने दुई जना व्यक्तिहरू पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले फेक ईमेल र नेपालका प्रमुख सुरक्षा अधिकारीहरूका नाम र दर्जा दुरुपयोग गरी ठगी गर्ने काममा संलग्न रहेको आरोपमा सुनसरीका मनिष कुमार मेहता र इन्द्रजित यादवलाई पक्राउ गरेको हो ।
आरोपी मेहता र यादवले नेपाल प्रहरीको नाम र ईमेल ठेगाना दुरुपयोग गर्दै डिजिटल अरेस्टको डर देखाएर व्यक्तिहरूलाई रकम माग्ने गरेको ब्युरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
साइबर ठगीको यो नयाँ प्रवृत्तिको पत्ता लागेपछि पीडितको गुनासोका आधारमा अनुसन्धान सुरु गरिएको थियो ।
प्रहरीले पक्राउ गरेका आरोपीहरूलाई विद्युतीय माध्यम सम्बद्ध ठगीको आरोपमा गत माघ २० गते पक्राउ गरी अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान जारी राखेको छ ।