काठमाडौं । केही दशक पहिलाको अवस्थासँग तुलना गर्ने हो भने अहिले सञ्चार प्रक्रिया निकै सहज भएको छ । योसँगै सञ्चारका क्रममा आउने जोखिम बढेका छन् । ईमेल, सामाजिक सञ्जाल तथा स्मार्टफोन प्रयोगकर्ता साइबर हमलाबाट बच्न नसकेका खबर दिनहुँ आइरहन्छन् ।
यसैक्रममा चर्चित मेसेजिङ एप ह्वाट्सएपले गम्भीर प्रकृतिको साइबर हमला भोगेको पाइएको छ । ह्वाट्सएपमा कुनैपनि अन्तरक्रिया नगर्दा वा जेरो क्लिकबाट पनि साइबर हमला भइरहेको मेटाले पुष्टि गरेको छ ।
यस्तो स्पाइवेयर (जासुसी) ह्याकिङको शिकारमा पत्रकारदेखि विशिष्ट व्यक्तिहरू परेका छन् । उनीहरूमाथि हमला गर्ने ह्याकरको पहिचान नखुलेपनि ह्वाटस्एपले इजरायली जासुसी कम्पनी प्यारागन सोलुसन्सलाई यसको कारक मान्दै आफ्ना प्रयोगकर्ताहरूलाई लक्षित गर्ने सबै गतिविधिहरू तुरुन्तै बन्द गर्न अनुरोध गरेको छ ।
प्यारागनलाई मेटाले पत्र लेखेको र थप कानुनी उपचारसमेत खोजिएको बुझिएको छ । यद्यपि प्यारागनले भने यस विषयमा हालसम्म केही जवाफ दिएको छैन ।
समाचार एजेन्सी रोयटर्सलाई मेटाले दिएको जानकारी अनुसार दुई दर्जनभन्दा बढी देशका कम्तीमा ९० प्रयोगकर्ता यो आक्रमणको शिकार भएका छन् । कम्पनीले आफ्ना प्रयोगकर्ताहरूलाई गोप्य रूपमा कुराकानी गर्ने क्षमताको रक्षा गर्न प्रयास जारी राख्ने समेत बताएको छ ।
ह्वाट्सएपका प्रवक्ताका अनुसार, प्यारागनले पीडित ह्वाटस्एप प्रयोगकर्ताहरूलाई एउटा मालिसियस डकुमेन्ट पठाएको थियो, जसमा 'जेरो-क्लिक एक्सप्लोइट' समावेश थियो । यो एक प्रकारको मालवेयर हो, जसलाई लक्षित प्रयोगकर्ताबाट कुनै अन्तरक्रिया आवश्यक पर्दैन ।
यो मामिला कानुनी तथा अन्य उद्योगका निकायहरूका साथै इन्टरनेट अधिकार समूह सिटिजन ल्याबलाई पठाइएको ह्वाट्सएपले जनाएको छ ।
ह्वाट्सएप प्रयोगकर्तालाई निशाना बनाएको आरोप लागेको प्यारागन पहिलो इजरायली जासुसी निर्माता भने होइन । यसअघि ह्वाट्सएप एनएसओ ग्रुपसँग लामो समयदेखि विवादमा छ । एनएसओको पेगासस जासुसी सफ्टवेयरले २०१९ मा १४ सय ह्वाट्सएप प्रयोगकर्ताहरूलाई निशाना बनाएको आरोप छ ।