काठमाडौं । सन् २०२४ मा एप्पलले फेरि एकपल्ट स्मार्टफोन बजारमा आफ्नो दबदबा कायम गर्यो । क्यानालिसको नयाँ तथ्याङ्क अनुसार, विश्वमा सबैभन्दा धेरै बिक्री हुने १० फोनको सूचीमा सात आईफोन मोडेल परेका छन् । यसमध्ये आईफोन १५ पहिलो स्थानमा छ ।
शीर्ष १० को सूचीमा एप्पलसँगै सामसङ पनि परेको छ । सामसङका ग्यालेक्सी ए१५, ए१५ फाइभजी र एस२४ अल्ट्राले यो सूचीमा स्थान बनाएका हुन् ।
आईफोन १५ ले २०२४ मा विश्वभर बिक्री भएका एक अर्ब २२ करोड स्मार्टफोनमध्ये लगभग तीन प्रतिशत हिस्सा ओगटेको छ । यसको मतलब एप्पलले गत वर्ष आफ्नो पुरानो पुस्ताको बेस आईफोनका तीन करोड ६६ लाख युनिट बिक्री गरेको अनुमान गरिएको छ । त्यस्तै, आईफोन १६ प्रो म्याक्स र १५ प्रो म्याक्स २०२४ मा दोस्रो र तेस्रो सबैभन्दा धेरै बिक्री हुने फोन थिए ।
सामसङ ग्यालेक्सी ए१५ चौथो स्थानमा आएर शीर्ष पाँचमा पर्न सफल भयो, त्यसपछि आईफोन १६ प्रो, आईफोन १५ प्रो र आईफोन १६ रहे । ग्यालेक्सी ए१५ फाइभजी आठौं स्थानमा आयो भने एस२४ अल्ट्रा नवौं स्थानमा ।
शीर्ष १० को अन्तिम स्थान तीन वर्ष पुरानो आईफोन १३ ले ओगटेको छ । यो मोडेलले कुल विश्वव्यापी स्मार्टफोन बिक्रीको १.५ प्रतिशत अर्थात् एक करोड ८३ लाख युनिट ओगटेको छ ।