काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले नेपाल टेलिकमको ग्राहक सेवा गतिलो नभएको टिप्पणी गरेका छन् । मङ्गलबार कम्पनीको २१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले टेलिकमको आम्दानी बढाउन ग्राहक सेवामा विशेष ध्यान दिनुपर्ने बताए ।
टेलिकमले आफ्नो आम्दानी बढाउन सबैभन्दा पहिला ग्राहकको अनुभव सुधार गर्नुपर्ने भन्दै आगामी दिनमा ग्राहकका गुनासो सम्बोधन गर्नुपर्नेमा भण्डारीले जोड दिए । “ग्राहकहरूका के-के गुनासो छन् भन्ने ख्याल गरेर त्यसलाई समाधान गर्ने रणनीति बनाउनुपर्छ,” उनले भने । अध्यक्ष भण्डारीले टेलिकम अपरेटरको रूपमा परिचित नेपाल टेलिकम अब डिजिटल अपरेटर बन्नुपर्ने बताए ।
“आजको समयमा, पहिला हामी यसलाई टेलिकम अपरेटर भनेर चिन्थ्यौँ, तर प्रविधिको विकास र परिवर्तनले गर्दा अब यो डिजिटल अपरेटर बन्न गइरहेको छ,” उनले भने, “त्यो अवस्थामा हामीले सेवाको गुणस्तरमा मात्र नभएर ग्राहक अनुभवमा पनि ध्यान दिनुपर्छ ।”
उनले एनटीसीसँग सम्बन्धित एफटीटीएच (FTTH) सेवामा ग्राहकहरूको गुनासो आइरहेको बताए । उनले भने, “एनटीसीले आफ्नो दीर्घकालीन अस्तित्वका लागि ग्राहक सपोर्ट बेन्चमार्कमा ध्यान दिनुपर्ने हुन्छ ।” गुणस्तर सुधारका लागि नेटवर्क अप्टिमाइजेसनमा ध्यान दिनुपर्ने उनको भनाई थियो । “अहिले चलिरहेको नेटवर्कमा हामी बाटोमा कुरा गर्दा पनि धेरै ठाउँमा कलहरू काटिने, आवाज नबुझिने, फेरि कल गर्नुपर्ने जस्ता समस्याहरू छन्,” टेलिकमको कलको गुणस्तरबारे चर्चा गर्दै उनले भने, “यसका लागि बिजनेस टुलहरू, डाइनामिक स्पेक्ट्रम शेयरिङ, अटोमेटिक फ्रिक्वेन्सी प्लानिङ र ड्राइभ टेस्ट टुलहरू बढाउनुपर्छ ।” साथै नेटवर्क अप्टिमाइजेसनका लागि केपीआईलाई दैनिक अनुगमन गरी बेन्चमार्क सेट गर्नुपर्ने धारणा उनले राखे ।
अध्यक्ष भण्डारीले केही समयदेखि रोकिएको ‘सहजीकरण’ खुला गरिएको जानकारी समेत दिए । “केही कारणले गर्दा सहजीकरण रोकिएको थियो, यो हामीले खोली सक्यौँ," उनले भने, “यसले डिजिटल विस्तार, डिजिटल खाडल र डिजिटल नेपाल फ्रेमवर्कले लिएको नीतिहरूमा सहयोग पुर्याउनेछ । हामीले यसलाई विशेष परिस्थितिको रूपमा लिएर खोलेका छौँ ।” उनले सहजीकरण खोलिसकेपछि अब नेटवर्कमा गर्नुपर्ने विस्तार र क्षमता अभिवृद्धिका कामहरू तुरुन्तै सुरु गर्न आग्रह गरे ।
ग्राहक अनुभवको विषयमा कुरा गर्दै भण्डारीले भने, “हामीले ग्राहकको अनुभवको बारेमा कस्तो सर्वेक्षण गरिरहेका छौँ ? नेपाल टेलिकमबाट पाउने सेवाहरूको बारेमा ग्राहकको फिडब्याक के छ भनेर विस्तृत रूपमा अध्ययन गर्नुपर्छ र ग्राहकको अपेक्षा अनुसारको एक्सन प्लान बनाउन अनुरोध गर्छु ।”
फोरजी सेवाको गुणस्तरमा अझै सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले भने, “हामीले ८०० मेगाहर्जमा फोरजी लन्च गरेका थियौँ र ह्यान्डसेट म्याचुरिटीको कारणले सुरुमा केही समस्या आएको थियो, तर अहिले सुधार हुँदै गएको छ । तैपनि, कुन क्षेत्रमा अझै काम गर्नुपर्छ भनेर विस्तृत रूपमा अध्ययन गरी एक्सन प्लान बनाउन जरुरी छ ।” उनले यसका लागि प्राधिकरणले आवश्यक सम्पूर्ण सहयोग गर्ने बचन दिए ।
अध्यक्ष भण्डारीले राजमार्गमा मोबाइल नेटवर्कको कभरेज बढाउनुपर्नेमा समेत जोड दिए । “हाइवेका धेरै ठाउँमा मोबाइलको कभरेज राम्रो छैन, जसले गर्दा दुर्घटना भएको बेला वा अन्य आपतकालीन अवस्थामा सम्पर्क गर्न समस्या हुन्छ,” उनले भने, “यसका लागि प्राधिकरणले आरटीडीएफको तर्फबाट केही कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।” उनले नेपाल सरकारको नीति तथा निर्देशन बमोजिम फोरजीको कभरेज देशभर विस्तार गर्नुपर्ने बताए ।
अध्यक्ष भण्डारीले ग्राहक रिपोर्टिङको विषयमा पनि स्पष्ट पारे । "पहिले हामीले सिम कार्ड बिक्रीको आधारमा ग्राहक रिपोर्टिङ गर्थ्यौँ, तर अहिले ९० दिनसम्म निरन्तर सेवा प्रयोग गर्ने ग्राहकहरूलाई एक्टिभ सब्सक्राइबर मानेर रिपोर्टिङ गर्ने गरेका छौँ,” उनले थपे ।
दूरसञ्चार उद्योगमा देखिएका समस्या, प्रविधिमा भएको परिवर्तन र अपरेटरको लागत घटाउने उपाय बारेमा पनि छलफल गर्नुपर्ने उनले बताए । स्पेक्ट्रम वितरणको विषयमा अदालतबाट निर्णय आइसकेकाले अब यसलाई अगाडि बढाउन सकिने अध्यक्ष भण्डारीको भनाइ छ ।
उनको भनाईमा फाइभजी सेवा सुरु गर्न नेपाल टेलिकमले तत्काल प्रक्रिया अघि बढाउनुपर्ने छ । “नेपाल टेलिकमले जति सक्दो चाँडो फाइभजी सेवा सुरु गर्नुपर्छ,” उनले भने, “यसका लागि आवश्यक २६०० मेगाहर्ज र ३५०० मेगाहर्ज ब्यान्डको स्पेक्ट्रम उपलब्ध गराउन प्राधिकरण तयार छ ।” उनले फाइभजी सेवा सुरु गर्दा सुरुमा काठमाडौँ, पोखरा, विराटनगर, बुटवल जस्ता सहरबाट सुरु गर्न सुझाव दिए । साथै, फाइभजीको लागि धेरै लगानी आवश्यक पर्ने भएकाले सुरुमा सहरहरूबाट सुरु गर्दा लगानी अनुसारको प्रतिफल प्राप्त गर्न सकिने उनको धारणा छ ।
अध्यक्ष भण्डारीले हाल भएको स्पेक्ट्रमको १५ प्रतिशत मात्र उपयोग भइरहेको बताए । उनले थप स्पेक्ट्रम आवश्यक परे प्राधिकरण उपलब्ध गराउन तयार रहेको बताए । स्पेक्ट्रम थप्दा क्यापेक्स र ओपेक्समा बचत हुने, ग्राहक अनुभवमा सुधार आउने, विदेशी मुद्रा सञ्चितिमा सहयोग पुग्ने, सेवा विस्तारमा सहयोग पुग्ने, संस्थाको नाफा बढ्ने र सरकारले पाउने करमा पनि वृद्धि हुने भण्डारीले सुनाए ।
टेलिकमलाई एफटीटीएचको विकल्पमा फिक्स्ड वायरलेस एक्सेस (एफडब्लूए) प्रविधि प्रयोग गर्न पनि उनले सुझाव दिए । यो प्रविधि प्रयोग गरेमा सडकमा तारहरू देखिने समस्या पनि कम हुने उनको भनाई थियो ।
प्राधिकरणले वार्षिक कार्यक्रममा समावेश गरेका विषयमा सहकार्य गर्न तयार रहेको उनले बताए । उनले प्रदेश कोशी, मधेस र बागमती प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने कामलाई छिटो सम्पन्न गर्नुपर्ने बताए । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर विस्तारका लागि आवश्यक सहयोग गर्न प्राधिकरण तयार रहेको उनको भनाइ छ । गण्डकी र लुम्बिनी प्रदेशमा केही कानुनी समस्याका कारण रोकिएको काम पनि सुरु गर्न प्राधिकरणले अध्ययन गरिरहेको उनले जानकारी दिए ।
अध्यक्ष भण्डारीले राजमार्ग र उच्च पहाडी क्षेत्रमा नेटवर्क विस्तारका लागि प्राधिकरणले टेलिकमलाई सहयोग गर्ने बताए । प्राधिकरणले उच्च हिमाली क्षेत्रमा पनि नेटवर्क विस्तारका लागि आरडीएफको रकम प्रयोग गरेर कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।
डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत डिजिटल फाउन्डेसनमा टेलिकमको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । उनले डिजिटल खाडल कम गर्न, सेवाको गुणस्तर बढाउन र ट्यारिफमा समानता ल्याउन यसले सहयोग पुग्ने बताए । टेलिकमलाई दीर्घकालसम्म टिकाउन कम्पनीले डेटा सेन्टरको विकास, भेन्डर रणनीतिमा परिवर्तन, पूर्वाधार लाइसेन्सको उपयोग, कर्मचारीको क्षमता विकास र व्यावसायिक गुप्तचर उपकरणमा लगानी गर्नुपर्ने उनको सुझाव छ ।
भेन्डर रणनीति परिवर्तन गर्दा प्रतिस्पर्धा बढ्ने र लागत कम गर्न सकिने उनले बताए । पूर्वाधार लाइसेन्स लिएमा पूर्वाधार शेयरिङ गर्न सकिने र दोहोरो लगानी कम गर्न सकिने उनको धारणा छ । हालैको बाढीपहिरोको घटनामा धेरै साइटहरू डाउन भएको र त्यसलाई रिस्टोर गर्न धेरै समय लागेकोले डिजास्टर रिकभरीको योजना बनाएर त्यसलाई छिटो कार्यान्वयन गर्नुपर्नेमा भण्डारीले जोड दिए । कर्मचारीको क्षमता विकास र सक्सेसन प्लानमा पनि कम्पनीले ध्यान दिनुपर्ने अवस्था छ ।
“नेपाल टेलिकम एउटा ठुलो संस्था हो, यो देशको लागि महत्वपूर्ण छ र यसको दिगोपन एकदमै आवश्यक छ,” उनले थपे । राजस्वको प्रवृत्ति हेर्दा टेलिकमको राजस्व आईएसपीतिर सर्दै गएको र वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढ्दै गएकाले राजस्वमा कमी आइरहेको छ । यसलाई कसरी पूर्ति गर्ने भन्ने बारेमा टेलिकमले सोच्नुपर्ने अध्यक्ष भण्डारीले औँल्याए । उनले विगतका वर्षहरूको वित्तीय विवरण हेर्दा टेलिकमले प्रतिस्पर्धामा पनि आफ्नो राजस्व बचाउन सफल भएको देखिएको बताए । तर यसलाई समयमै ध्यान नदिएमा भविष्यमा नाफा घट्न सक्ने चेतावनी पनि उन दिए ।
अध्यक्ष भण्डारीले हाल नेपाल टेलिकमले लाइसेन्स नवीकरणको लागि तिर्नुपर्ने शुल्क घटेकोले त्यसबाट बचेको पैसालाई नेटवर्कमा लगानी गर्न सुझाव दिए ।